वीपी स्मृति दिवसमा सुवर्ण शम्शेरको सम्झना

0
704

चिन्तामणि दाहाल,

प्रारम्भ :
साप्ताहिक आलेख तयार पार्नु थियो । दिउँसो नेपालको प्रजातान्त्रिक आन्दोलनका जननायक वीपी कोइरालाको ३७औं स्मृति दिवसको समाचार सम्पादन गरियो । बेलुकी आएर ल्यापटप खोलेपछि अनायासै कांंग्रेसकै वीपी सरहका अर्का नेता सुवर्ण शम्शेरको स्मरण भयो । सुवर्णको स्मरणसँगै केही दिनअघि उनको स्मृतिमा प्रकाशित विशेषांक पल्टाएँ । अनि आफ्नो विश्लेषण र मूल्यांकनका आधारमा उनलाई लेख्न बसें ।

६७ बर्षसम्म बाँचेर वि.सं.२०३४ सालमा कलकत्तामा निधन भएका सुवर्णको जन्म वि.सं.१९६७ सालमा काठमाडौंमा भयो । हिरण्य शम्शेरका छोराका रुपमा जन्मेका उनले २३ बर्षको उमेरमा अंग्रेजी साहित्यमा एम.ए. गरेका थिए ।
राणा शासनकै एक अंग भएका सुवर्ण सि क्लासमा दर्ज भएर प्रधानमन्त्रीको रोलक्रमबाट हटाइएपछि उनमा राणा परिवारविरुद्ध लाग्ने आधार तयार भयो । त्यसमा पनि पढेलेखेका राणा भएकोले उनले निरंकुशताविरुद्ध प्रजातन्त्रको लडाईं शुरु गरे । प्रजातन्त्र कांग्रेसको कोषाध्यक्ष भएका सुवर्ण वीपीसँगको भेटपछि अखिल भारतीय नेपाली कांग्रेससँग एकता गरेर नेपाली कांग्रेसको संस्थापक भए र आजीवन कांग्रेस भएरै देहत्याग गरे ।

वीपीका एंगेल्स सुवर्ण :

जसरी कार्ल माक्र्ससँग एंगेल्सको नाम जोडिन्छ त्यसैगरी वीपीसँग सुवर्णको नाम जोडिन्छ । नेपाली कांग्रेसको २००७ सालको सशस्त्र क्रान्ति सफल बनाउन आवश्यक रकमको व्यवस्था आफ्नै सम्पत्तिबाट सुवर्णले गरे । आप्mनो श्रीसम्पत्तिबाट पार्टीको सञ्चालन गर्नु कम उदारता थिएन सुवर्णको । प्रथम आम निर्वाचन सम्पन्न भएर २०१६ सालमा उपप्रधान तथा अर्थमन्त्री भएपछि समाजवादी विचारका पक्षपाती सुवर्णले आफ्ना नाममा रहेको १२ हजार विगाह जमिन राज्यलाई बुझाएको अर्को उदारवादी कदम हो ।

२०१२ सालको कांग्रेसको वीरगञ्ज महाधिवेशनमा वीपीले प्रस्तुत गरेको समाजवादी सिद्धान्तलाई सभापतिमा विजयी भएर लागू गर्ने र अघि बढाउने काम सुवर्णले नै गरे । २०१७ सालको राजा महेन्द्रको कु (षडयन्त्र) बाट प्रजातन्त्रको हत्या भएर प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपीलाई जेलमा हालेपछि प्रवासमा बसेर सुवर्णकै नेतृत्वमा कांग्रेसले सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको थियो भने वीपीलाई जेलबाट छुटाउन अन्तर्राष्ट्रिय दबाव सिर्जना गर्ने काम पनि सुवर्णकै थियो ।

वीपीको पूर्णता सुवर्ण शम्शेरलाई जोडेपछि मात्र हुन्छ । २०१५ सालको आम निर्वाचन सुवर्णकै अध्यक्षताको मन्त्रिमण्डलले सफलतापूर्वक गराएको थियो । निर्वाचनपछि कांग्रेसले दुईतिहाई सिट ल्याएर जिते पनि सरकार गठन गर्न राजा महेन्द्रले बोलाउन आलटाल गरेपछि वीपीले सुवर्णलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । किनकि राजा महेन्द्र वीपीलाई प्रधानमन्त्री बनाउन चाहँदैनथे । तर, सुवर्णले नमानेपछि बाध्य भएर राजाले वीपीलाई निर्वाचनको सबै परिणाम आएको डेढ महिनापछि मात्र सरकार गठन गर्ने निम्तो दिए ।

अहिलेभन्दा धेर लाग्न सक्छ कतिलाई पंक्तिकारले भन्न सक्तैन । तर, सुवर्ण नेपाली कांग्रेसमा नभएको भए २००७ सालमै प्रजातान्त्रिक क्रान्ति सफल हुनेमा शंका गर्न सकिन्छ । प्रजातन्त्र ल्याउनमा उनका भान्जा थिरबम मल्लको बलिदान दिलाउनमा सुवर्णकै प्रेरणा हो । उनी आफूमात्र लागेनन् उनका सगी सम्बन्धी पनि क्रान्तिमा होमिए । यी सबैको खोजी गरेर कांग्रेसमा योगदान दिने अरु पनि थुप्रैको इतिहास लेख्न बाँकी छ ।

२००४ सालमा पदम शमसेर प्रधानमन्त्री र श्री ३ रहेका बेला सुवर्णलाई उनले सल्लाहकार बनाएका थिए । त्यसबेला नै सुवर्णले पदम शम्शेरलाई देशमा प्रजातन्त्र घोषणा गर्न सल्लाह दिएका थिए । तर, उनको सल्लाह पमद शमसेरले मान्न सकेनन् । फलस्वरुप अरु राणाको दबाबमा कारवाहीमा पर्ने भएपछि सुवर्णले देश छोडर भारतको कलकत्तामा बस्न थालेका थिए । त्यहींबाट सुवर्ण शम्शेर प्रजातन्त्रका लागि राजनीतिक दल नै खोलेर अघि बढेको इतिहासले सुवर्णमा निरंकुशताविरुद्धको भावना प्रबल थियो भन्ने प्रमाणित हुन्छ ।

आप्mनै परिवारकाविरुद्ध लाग्न सक्ने जर्नेल साहब भइसकेका प्रशस्त सम्पत्तिका धनी सुवर्णको प्रजातन्त्र प्रतिको समर्पण र योगदानले वीपीलाई प्रजातन्त्रका लागि सशस्त्र क्रान्ति गर्न सहज भएको थियो । कांग्रेसमा अरु पनि नेता थिए । तर, अगुवा भनेका वीपी, सुवर्ण, गणेशमान र कृष्णप्रसाद भट्टराई नै थिए । मातृका पनि थिए । तर, उनी मासवेस्ड नेता थिएनन् । गिरीजा त्यो समयमा कार्यकर्ता मात्र थिए । नेता भइसकेका थिएनन् ।

र, अन्त्यमा, जसले जनता हाँक्छ त्यसमा त्याग र तपस्या दुबै हुनुपर्छ । सुवर्णमा त्याग पनि थियो तपस्या पनि थियो । बिस्तारै बोल्ने, मसिनो स्वरमा बोल्ने तर चाहिने कुरा मात्र बोल्ने स्वभावका नेता सुवर्णका धेरै बेकुराहरु छन् लेख्नु पर्ने । तर, यो छोटो आलेखमा इतिहासमा कम लेखिएका, कम पढिएका र राणा नै त हुन् भनी आक्षेप पनि लाइएका तर यी सबै अवस्था भन्दा उच्च आसनमा राख्न उपयुक्त पात्र भनौं राजनेतको गुण भएका सुवर्ण शमसेरबाट हामीले धेरै सिक्न सक्छौं र सिक्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here