रतुवाको च्यानल भकित्यो, खोला तर्न शुल्क

0
1117

आत्माराम राजवंशी/ गौरीगञ्ज ।

गौरीगञ्ज गाउँपालिका र मोरङ्गको रतुवामाई नगरपालिकाको सीमा भएर बग्ने रतुवा खोलाले धार परिवर्तन गर्दा समस्या भएको छ । पुल एकातिर र खोला अर्कोतिर भएपछि खोलालाई पुलतर्फ फर्काउन हुलाकी राजमार्ग आयोजना इटहरीले खनेको च्यानल खोलाले भत्काई पूर्ववत अवस्थामा पुर्याएको छ भने खोला अहिले पुलको पूर्वतिरबाट बगिरहेको छ ।

खोला च्यानलाइज गरेर पुल सञ्चालन गर्ने उद्देश्यले खनिएको च्यानल खोलाले भत्काएपछि त्यसमा गरिएको खर्च असारे बजेट सक्ने मेलो मात्र भएको कतिपयले टिप्पणी गरेका छन् । उक्त च्यानल खन्ने काम भने जेठको पहिलो सातादेखि शुरु गरिएको थियो । गौरीगञ्ज गाउँपालिका वार्ड नं. –५ का स्थानीय फूलचन्द्र सिंहले खोलामा च्यानल खनेर अझ जनतालाई दुःख दिएको बताए । उनले भने– ‘एउटै खोला तीन पटक तर्नु पर्ने अवस्था भएको छ ।’

रतुवा खोलालाई दुवै तर्फबाट पुलदेखि उत्तर र पुलदेखि दक्षिणतर्फ गरी ३ ÷३ किलोमिटर परबाट ढुंगाको जाली लगाई तटबन्धन नगरी पुल सञ्चालन गर्ने प्रयास गर्नु रकम सिध्याउने र कुम्ल्याउने मेलो मात्र भएको स्थानीय हजमलाल माझीले आरोप लगाए । ‘हामी खोलाको छेउमा बसेका छौं, हामीलाई थाहा छ कति दुःख छ भनेर –उनले थपे– ‘यो पुल बन्यो भने दक्षिण क्षेत्रका जनता र क्षेत्र अघि बढ्छ भनेर उत्तरतिरका नेताहरुमा डर छ, त्यसैले उनीहरुले यो पुल निर्माण नहोस् भन्ने चाहेका छन् ।’

हुलाकी राजमार्ग आयोजना इटहरीले खोलामा च्यानल खनी खोला पुलमुनिबाट जान्छ जाँदैन भनेर परीक्षणका निम्ति च्यानल खनेको आयोजनाका इञ्जिनियर नन्दकुमार गुप्ताले बताए । उनका अनुसार हुलाकी राजमार्ग इटहरीले इन्धन खर्च र कामदारलाई पारिश्रमिक दिएर च्यानल खनी यसवर्ष परीक्षण मात्र गरेको बताए ।

च्यानल खन्न आयोजनाले २० लाख रुपैयाँ वजेट छुट्याएको हल्ला मात्र भएको बताइए पनि कति खर्च भयो आफूलाई थाहा नभएको उनले बताए । रतुवा खोलाको पुल तीन वर्षअघि निर्माण कार्य सम्पन्न भएपनि सुचारु नभएपछि वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न स्थानीयवासी बाध्य भएका छन् । वर्षाको समयमा उनीहरुले सास्ती खेप्दै आएका छन् । अहिले पुल तर्न होइन हेर्नका लागि बनाएको जस्तो अवस्थामा रहेको छ ।

आर्थिक वर्ष २०६४÷०६५ सालमा भ्याटसहित १० करोड ३२ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता अनुसार कालिका ओएसीस जेभीले पुल बनाएको थियो । यसैबीच गौरीगञ्ज गाउँपालिकाले यो वर्ष गाउँपालिका भित्रका खोलाहरुको डुंगा ठेक्का नलगाएको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताएका छन् ।

खोला तर्न डुंगा (नाउ) चलाउनेले महँगो शुल्क लिएको व्यापक गुनासो आएपछि यसवर्ष गाउँपालिकाले डुंगा ठेक्का नलगाएको हो । तर डुंगा चलाउनेले साविककै दररेटमा खोला तर्ने यात्रीबाट रकम असुलिरहेको छ । खोला तर्न डुंगाबाट भाडा स्वरुप मोटरसाइकल ५० रुपैयाँ, साइकल २० रुपैयाँ र मान्छेलाई १० रुपैयाँ रतुवा खोलामा लिइरहेको बताइएको छ ।
तर, डुंगा चालकले भने खोला तरेवापत मोटरसाइकललाई २०, साइकललाई १० र मान्छेलाई ५ रुपैयाँ लिन ुपर्ने प्रशासकीय अधिकृत शाक्य बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here