आदर्श स्खलित हुँदैछ

९ श्रावण २०७६, बिहीबार मा प्रकाशित

औषधिको खोजसँगै नयाँ रोग देखिनु सामान्य जस्तै भएको छ । विज्ञान र प्रविधिले कुनै दिन असाध्य भनेका रोगहरुको उपचारमा खोज गर्न सिकाएपछि साध्य बनिए पनि । तर, एउटा रोग साध्य हुने बित्तिकै अर्को असाध्य जन्मिने गरेको छ । त्यसैगरी अपराध र अपराधका तरिकाहरु पनि एकपछि अर्को नयाँ–नयाँ स्वरुपमा प्रकट हुन थालेका छन् । अपराधका यस्ता घटनाहरुले हामी कुन दिशातर्फ जाँदैछौं भन्ने मात्र देखाएको छैन प्रत्येक मानिसमा हुर्कदै गरेको तामसी स्वभाव र दानवीय चरित्र पनि प्रकट गरिरहेको छ ।

झापा देशकै सचेत र जागरुक जिल्लाका रुपमा कहलिएको छ । त्यहीकारण हो कि इतिहासदेखि नै हरेक परिवर्तनहरुमा प्रभावपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको छ । प्रत्येक सकारात्मक परिवर्तनमा सहायक रहेको झापामा अपराधका घटना पनि त्यत्तिकै बढ्दै जानु भने दुःखद् अवस्था हो । मंगलबार प्रहरीले एउटा अनौठो अपराध र त्यससँग जोडिएका पात्रहरुलाई सार्वजनिक ग¥यो । प्राविधिक भाषामा ‘हनी ट्रयाप’ भनिएको अपराधमा मानिसभित्रको कमजोरीलाई माध्यम बनाएर आर्थिक लाभ लिन खोजियो । जब दिनुपर्नेको क्षमताभन्दा बाहिरको भयो तब कुरा प्रहरीसम्म पुग्यो । प्रहरीले बिधि, प्रविधि र तदारुकता अपनाएर दोषीलाई पक्राउ ग¥यो ।

देश र विदेशका व्यक्तिहरु सम्मिलित आपराधिक समूह पक्राउ परेपछि एउटा अनौठो अपराधको शिकार हुनबाट पीडित जोगिए मात्र होइन अरुहरुलाई पनि सचेत गरायो । आखिर पैसालाई सबैथोक मान्ने मानसिकताले अन्ततः आप्mनै हानी गर्छ भन्ने सन्देश पनि दिएको छ प्रकट भएको यो घटनाले । बिर्तामोड, इलाम, भारत खोरीबारीका चारजना यो संगठित अपराधका नायक समातिएका उनीहरुमाथि थप अनुसन्धान भएपछि थप रहस्य र घटनाहरु पनि सार्वजनिक हुने नै छन् ।
आखिर मानिस किन यति निष्ठुरी, अविवेकी र मर्यादाहीन भइरहेको छ ? मानिस मात्र होइन सम्पूर्ण जीवजन्तुहरुलाई प्रेम गर्नुपर्छ भन्ने आदर्शबाट सञ्चालित हाम्रो समाज किन यति क्रुर भइरहेको छ– समाजका अगुवाहरुले, सरकार र त्यसमा जोडिएकाहरुले खोज्न लाग्नु पर्ने भएको छ । पैसालाई सुख भोगको एकमात्र साधन ठान्ने कारणले हाम्रो समाज विखण्डनतर्फ उन्मुख भएको छ । सामाजिक सद्भाव, सहिष्णुता, हार्दिकता र परोपकारी भावना थला परेको छ ।

सदाचारिता, नैतिकता, आदर्श, निष्ठा र सेवाको भावना पलायन भएको छ । बिर्तामोडको यो घटनाले प्रमाणित गरेको छ । त्यसैले पनि यस्तो विकृति मानसिकतालाई बदल्न सदाचारी शिक्षा र चेतना प्रवाह गर्न अब ढिला गर्नु हुँदैन । अपराध भयो भन्दा पनि अपराध मानसिकता कसरी आयो त्यसको निदानमा लाग्न अत्यावश्यक भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here