मेचीनगर।
झापाको मेचीनगर नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ का लागि एक अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रस्तावित बजेटमा नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २५ करोड १९ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजस्व वाँडफाँडको १७ करोड ९७ लाख, १ नम्बर प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ८९ लाख २३ हजार, १ नम्बर प्रदेश सरकारबाट प्राप्त हुने राजश्व वाँडफाँडको २ करोड १९ लाख ९७ हजार रहेको छ ।
त्यस्तै मालपोत रजिष्ट्रेशनबाट ३ करोड, आन्तरिक आय, १० करोड ५८ लाख ४० हजार, सामाजिक सुरक्षा अनुदान ४० करोड, समपूरक अनुदान ३ करोड, विशेष अनुदान २ करोड, नेपाल सरकारबाट हस्तान्तरित कार्यक्रमको सशर्त अनुदान ३२ करोड २३ लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने अनुदान ५५ लाख रहेको छ ।
त्यसैगरी सामी परियोजना सञ्चालनका लागि अनुदान १६ लाख, जिल्ला समन्वय समिति झापाबाट क्रमागत योजनामा अनुदान २८ लाख ५० हजार तथा अघिल्लो वर्षबाट ल्याएको ४ करोड ८२ लाख ५० हजार गरी कूल १ अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँको बजेट नगरपालिकाले सार्वजनिक गरेको हो ।
नगरपालिकाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख विमल आचार्यले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट प्रस्तुत गरेका थिए । उपप्रमुख मीना पोखरेल उप्रेतीले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् । नगरपालिकाको चौथो नगरसभा २०७६ असार १० गते प्रारम्भ भएर असार २४ मा सम्पन्न भएको पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले जानकारी गराए । नगरपालिकाको पहिलो, दोस्रो, तेस्रो नगरसभाले नगरपालिकाको क्षेत्रको विकासका लागि महत्वपूर्ण नीति तथा कार्यक्रम अघि बढाएको छ ।
मेचीनगरमा कुनै विषयमा कसैले विद्यावारिधि गरे त्यस्ता शोधकर्तालाई प्रतिव्यक्ति १ लाख रुपैयाँ प्रदान गरिने, मेचीनगरका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थीहरुलाई जेहेन्दार र विपन्नताका आधारमा २० प्रतिशत तथा सामुदायिक क्याम्पसहरुमा उच्च शिक्षा अध्ययनरत् विद्यार्थीहरुलाई १० प्रतिशत विद्यार्थी संख्याको आधारमा छात्रवृत्ति उपलब्ध गराइने बताइएको छ ।































