जंगली जनावरको आतंक

0
1199

गोबिन्द पौडेल / इलाम।

मेहनत गरेर लगाएको बालीनाली र पशुपंछीहरु जंगली जनावरले नाश गरिदिने भएपछि इलामे किसानहरु चिन्तित भएका छन् ।

पछिल्लो समयमा पाक्न लागेको मकै जंगली जनावर बँदेलले रातारात सखाप पार्न थालेपछि किसानहरुमा चिन्तित बनेका हुन् । बिगत चार–पाँच बर्षयता रातको समयमा हुलका हुल आउने जंगली जनावर बँदेलले किसानले लगाएको मकै, आलु, इस्कुस जस्ता बालीनालीहरु नष्ट गर्न थालेपछि किसानहरुमा पीडित बन्न थालेका छन् ।

मंगलवार राति मात्रै एकहुल बँदेलले रोङ –६ रम्भ्याङ्गका किसान गोपीकृष्ण भण्डारीको मकैको बारी नष्ट गरेको छ । इलामको रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिकाका किसानहरुले बिगत आठ दश बर्षदेखि बँदेलको आतंक सामना गरिरहेका छन् । बँदेल मात्र हैन बालीनालीमा काला, दुम्सी, मृगको राज त छँदैछ ।

पालेका पशुहरुमा चितुवा र श्यालको आक्रमणले पनि किसानहरुलाइ हैरान बनाएको छ । केही दिन अघिमात्रै रोङ –६ का किसान ढकाल प्रधान र बुद्ध प्रधानको बाख्रा र खसी खोरबाट नै चितुवाले खाइदिएको थियो ।

यसरी कृषि र पशुपालनबाट नै भबिष्य बनाउने अठोट गरेका किसानहरु जंगली जनावरको बिगबिगीले निराश बनेका छन् । जसको कारण युवाहरु बिदेश पलायन हुने गरेको र खाद्यान्न र तरकारीमा परनिर्भर हुनु परेको किसानहरुको भनाइ छ ।

पछिल्लो समय सरकारले आफूसँग भएका घरेलु हतियारहरु सार्वजनिक सूचना प्रकाशन गरी बुझाउन निर्देशन दिएपछि जंगली जनावरहरुको शिकार घटेको छ । जसका कारण जंगली जनावरको संख्यामा बृद्धि हुँदा जनावरको बिगबिगी र आतंक बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here