बिर्तामोड ।
सरकारी पक्षले प्रतिबन्धित नेक्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ताको चर्चा गरे हालसम्म कुनै पहल नगरेको खुलासा भएको छ ।
सरकारी पक्षका विभिन्न नेताले चन्द नेतृत्वका नेताहरुसँंग भेटेर पार्टीमा महासचिव र मन्त्रीको प्रस्ताव गरेको विषय बाहिरिए पनि विप्लव माओवादीले त्यसलाई अफवाह भएको टिप्पणी गरेको छ । वार्ताको नाटक रचेर वर्तमान सरकारले नेताहरुलाई इन्काउन्टरको दाउ हेरेको उनीहरुको भनाइ छ ।
विप्लव माओवादीका एक नेताले भने–वार्ताप्रति हामीभन्दा बढी सरकार जिम्मेवार हुनु पर्ने हो । सरकार जिम्मेवार भएर वार्ताको पहल गर्नुको सट्टा मन्त्री र विभिन्न पदको लोभमा आउँछन् कि भन्नु मुर्खता मात्र हो ।
आफूहरुले पद र पैसाका लागि राजनीतिक ऐजेन्डा नउठाएको विप्लव माओवादीको तर्क छ । जनतामा आतङ्कको छाँया थोपरेको सरकारले निर्दोष जनतामाथि गोली हान्ने काम गरिरहेको बताइएको छ । वार्ता भन्दै झुक्याउने र गोली प्रहार गर्ने दाउमा ओली सरकार रहेको विप्लव माओवादीको ठहर छ ।
अहिलेकै अवस्थामा वार्ता हुन नसक्ने भन्दै आफ्ना कार्यकर्तालाई बिनासर्त छाड्नुपर्ने विप्लव माओवादीको तर्क छ ।
आफूहरुले राजनीतिक मुद्दा उठान गरिरहे पनि विभिन्न झुठा मुद्दा लगाएर ठेगान लगाउने सपना नदेख्न विप्लव माओवादीले चेतावनी दिएको छ । विप्लवले अहिले नै सशस्त्र युद्ध कार्यदिशा पारित नगरेको भन्दै विप्लव नेताले सशस्त्र दमनको निसशस्त्र प्रतिरोध चाँहि हुन नसक्ने चेतावनी दिएका छन् ।
सरकारले गत फागुन अन्तिम साता चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि देशभर ‘सर्च एन्ड अरेस्ट’ अपरेशन जारी राखेको प्रहरीले हालसम्म ६ सय ९० जनाभन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको नेकपा माओवादीले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले औपचारिक वार्तामा बस्नुअघि आफूहरुमाथि लागेको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका सबै नेता–कार्यकर्ताको निःशर्त रिहाइ र आफूहरुलाई राजनीतिक पार्टीकै व्यवहार गर्दै कार्यक्रमहरु गर्न दिनु पर्ने माग अघि सारेको छ । वार्ताको लागि हालसम्म पत्रसमेत नपठाएको सरकारले मिडियामा भने अनेक नाटक देखाएको ती नेताको भनाइ छ ।
पछिल्लो समय कैलालीको धनगढीमा आफैंले बोकेको विस्फोटक पदार्थ पड्किँदा चन्द समूहका कार्यकर्ताको मृत्यु भएसँंगै विप्लव माओवादीका ९ जना कार्यकर्ताको मृत्यु भइसकेको छ । प्रहरीको कारबाहीमा परेर तीन र आफैंले बोकेको विष्फोटक पदार्थ विष्फोट हँुदा ६ जना गरी ९ जनाको मृत्यु भइसकेको जनाइएको छ । प्रहरी तर्फ भने एक जना प्रहरी जवानको मृत्यु भएको छ । आफूहरुले माफिया विरुद्धको कारबाही अभियान चलाए पनि प्रहरी विरुद्ध भने हरियार नउठाएको उसले स्पष्ट पारेको छ ।
यसैबीच प्रहरीले प्रदेश–१ का भोजपुर, खोटाङ, सोलुखुम्बू लगायतका जिल्लामा विप्लव माओवादीको गतिविधि बढी रहेको जनाएको छ । सरकारले विप्लवप्रति आस्था राख्नेहरुलाई पनि धमाधम पक्राउ गर्दै झुठा मुद्दा लगाएर सिध्याउने खेल खेले पनि त्यो सपना पूरा नहुने विप्लव माओवादीले जनाएको छ ।
प्रधानमन्त्रीको गृह जिल्लामा विप्लव माओवादी प्रतिको जनआस्था बढ्दै गएको र यसले वर्तमान सत्ताधारी दललाई ठूलो धक्का लागेको जनाइएको छ । आफूहरुले सरकारको रणनीति हेरेर जनतालाई जागरुक गर्ने काम गरिरहेको भन्दै यस्तै अवस्था रहे जनता छिट्टै सडकमा उत्रिने ती नेताले चेतावनी दिए ।

























