मेचीनगर।
झापाको मेचीनगरमा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले मानव बेचबिखनका लागि बनेको कानून प्रभावकारी रुपमा कार्यान्वयन भएको बताएका छन् ।
उनीहरुले सजाय कमजोर भएकै कारण धेरै मुद्दा कमजोर बन्ने गरेको र पीडकले उन्मुक्ति पाउने गरेको विचार राखे ।
लामो समयदेखि मानव तथा चेलीबेटी बेचबिखन विरुद्घ काम गर्दै आएको गैर सरकारी संस्था माइती नेपालले आयोजना गरेको मानव बेचबेखिन ओसारपसार विरुद्घ कानून कार्यान्वयन निकाय र सरोकारवालाहरु सँगको एकदिने अन्तरक्रियाका सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकारको हैसियतले प्रदेश र संघीय सरकारसँग आवश्यक छलफल गरी आगामी दिनको योजना बनाउने बताइन् । उनले ठोस् कानून बनाएर कार्यान्वयनमा जाने हो भने यस्ता घटना क्रमशः कमी हुने विश्वास व्यक्त गरिन् ।
अब हरेकले यहाँ व्यक्तिको होइन विधिको शासन पालना गर्नु पर्ने भन्दै उपप्रमुख उप्रेतीले भनिन् –हरेक महिलाले आरक्षण होइन प्रतिस्पर्धा गर्नु पर्छ । देश संघीयतामा प्रवेश गरिसकेको भन्दै उनले अब यो मुलुकका तीनवटै सरकारले यसका लागि ठोस् कानून निर्माण गरी कार्यान्वयनतर्फ लाग्नु पर्ने बताइन् । झापा जिल्लाका महान्यायाधिवक्ता केशवप्रसाद पन्तले चेलीबेटी तथा मानव बेचबिखन जस्ता आपराधिक घटनामा पीडितले समयमै नबोल्ने गरेका कारण पीडकले उन्मुक्ति पाउने गरेको विचार राखेका थिए । उनले विगत वर्षमा यस प्रकृतिका ३० वटा मुद्दा दर्ता भएको बताए ।
यस्ता घटनामा कमी ल्याउन चेतनामूलक कार्यक्रम नै अघि सार्नु पर्ने र उनीहरुलाई चेतना, शिक्षा, रोजगारलगायतको अवसर सिर्जना गर्नु पर्ने उनको भनाइ थियो । अब हरेक स्थानीय तहमा जनप्रतिनिधिहरुको उपस्थिति भइसकेकाले हरेक टोल–टोल गाउँ गाउँमा जनप्रतिनिधिहरु चेतनामूलक कार्यक्रम लिएर पुग्नु पर्नेमा उनको जोड थियो । स्थानीय सरकार आफैं सार्वभौम भएकाले अब भाषणमात्र नभएर काम लाग्नु पर्ने उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले सरकार शान्ति सुरक्षा, अमनचयन कायम गर्न र अपराध नियन्त्रण गर्न सक्रिय रहेको बताए । उनले श्रमशोषण, यौनजन्य क्रियाकलाप तथा मानवअंग प्रत्यारोपणका लागि मानव बेचबेखिन हुने गरेको सहायक प्रजिअ पौडेलको भनाइ थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्कीले आपारधिक गतिविधि रोक्न नेपाल प्रहरीको पूर्ण साथ सहयोग रहने बताए ।
माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले संस्थाको विगत वर्तमान भावी योजनाहरुलगायतका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन माइती नेपालका कर्मचारी हेमन्ता बुढाथोकीले गरेकी थिइन् ।






























