झापा।
एशियाली विकास बैंकको सहयोगमा निर्माणाधीन मेची खोलाको पुलको पिलर गाड्ने काम अन्तिम चरणमा पुगेको छ । १६ वटा पिलर मध्ये १५ वटा पिलर गाडिसकेको र एउटा मात्रै पिलर गाड्न बाँकी रहेको बताइएको छ ।
नेपाल र भारतलाई जोड्ने काँकडभिट्टास्थित मेची नदीको पुल निर्माणका लागि एशियाली विकास बैंकको आर्थिक सहयोगमा भारतले पुलको निर्माण गरिरहेको छ ।
एक सय ६० करोड भारतीय रुपैयाँको लागतमा पुल निर्माणका लागि भारतसँंग सहमति भएको थियो । जस अनुरुप सन् २०१७ बाट पुल निर्माणको काम शुरु भएको हो । सन् २०२० सम्ममा पुल माथिबाटै सवारीसाधान आवतजावत गराउने लक्ष्य राखिएको छ । सोही लक्ष्य अनुरुप अहिले निर्माणको काम धमाधम भइरहेको छ । नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला सन् २०१५ मा पुल निर्माणका विषयमा भारतसरकारसँंग सम्झौता भएको थियो ।
मेची पुल बनाउन शुरु गर्नु अघि नै भारतले आफ्नो भूमिमा सडकको स्तरवृद्धि लगायतका काम सम्पन्न गरिसकेको छ । नेपालतर्फ भने अहिलेसम्म कुनै तयारी गरिएको छैन । त्यसैले मेची पुलको निर्माणसँगै नेपालले पनि आफ्नो क्षेत्रमा सडक मार्गको स्तर बढाउनु पर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । व्यवसायी केशराज पाण्डेले भने – ‘पूर्वी नाका काँकरभिट्टा र भारतको पानीट्यांकी जोड्ने मेची नदीमा भारतले नयाँ पुल बनाई दिएपछि झन् भारत तथा अन्य छिमेकी मुलुकसँगको व्यापार वृद्धि हुन्छ ।’
पुल निर्माण पश्चात सडक मार्गमार्फत हुने व्यापारको मात्रा निकै फस्टाएर जाने नेपाली अधिकारीहरु बताउँछन् । नेपाल र भारतबीचको व्यापार प्रवद्र्धन मात्र नभएर अन्य छिमेकी देशहरुसँगको व्यापार पनि वृद्धि हुने प्रशस्त सम्भावना रहेको व्यवसायीहरुको भनाइ छ । साँघुरो तथा जीर्ण भएको पुरानो मेची पुलमा मालवाहक सवारी साधनको आवागमन निकै असहज हुने गरेको छ ।
नेपालतर्फ नेपाल भारत जोड्ने नयाँ मेची पुलको खम्बा र सडक बन्नु पर्ने स्थानमा बसोबास गरिरहेका स्थानीयबासीलाई सरकारले मुआब्जा वितरण गरेको छ । मुआब्जा पाएपछि स्थानीयबासीले जग्गा खाली गरेका छन् । स्थानीयले जग्गा खाली गरेसँगै नेपालतर्फ पुल बनाउने कामले पनि निरन्तरता पाएको छ ।
भारततर्फ पुलका खम्बा बनिसक्दा पनि नेपालतर्फ मुआब्जाको समस्या थियो । तर त्यहाँ बसोबास गर्ने ४३ घर परिवारलाई मुआब्जा वितरण गरेपछि जग्गा खाली भएर पुल निर्माणको कामले गति लिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले जानकारी दिए । घर टहरा मात्र भएका ३९ घर परिवारलाई २ करोड २० लाख रुपैयाँ मुआब्जा उपलब्ध गराइएको उनले बताए । बाँकी ४ घर परिवारलाई जग्गाको लालपुर्जा भएका कारण १ करोड १७ लाख रुपैयाँ मुआब्जा उपलब्ध गराइएको थियो ।
मेची नदीमा निर्माणाधीन पुल ६ लेनको भएको र पुल निर्माणसँंगै सार्क राष्ट्र जोड्ने राजमार्ग बनिन् जरुरी रहेको सरोकारवालाले बताएका छन् ।





























