उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–७ स्थित म्यारिगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षकले १४ वर्षीय बालिकालाई बन्धक बनाएर आठ दिनदेखि बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले उदयपुरको म्यारिगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका २८ वर्षीय शिक्षक राकेशकुमार कानोडियालाई पक्राउ गरेको हो ।
कानोडियाले उदयपुरकै १४ वर्षीय बालिकालाई पोखराको होटलमा लगेर बन्धक बनाएर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार १४ वर्षीया छात्रालाई शिक्षकले उदयपुरदेखि कास्की पोखरा महानगरपालिका–६ लेकसाइड डिहिगोपाटनस्थित द कन्ट्री यार्ड होटलमा बन्धक बनाई करणी गरेको आरोप छ ।
प्रहरीको अनुसार होटलको एक कोठामा शिक्षकले बालिकाले प्रयोग गरेको मोबाइलसमेत नियन्त्रणमा लिएर अभिभावकसँग सम्पर्कसमेत गर्न नदिई बन्धक बनाएका थिए ।
मोरङ विराटनगरमा स्थायी घर भएका र हाल उदयपुर चौदण्डीगढी नगरपालिका–७ मा बस्दै आएका आरोपित शिक्षक उदयपुरकै म्यारिगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक हुन् ।
बन्धक बनाई राखिएकी बालिकालाई प्रहरीले उद्धार गरेर अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकालाई विगत आठ दिनदेखि होटलको कोठामा राखेर कानोडियाले जबर्जस्ती करणी गर्दै आएका थिए । कानोडियालाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको कास्की प्रहरीले जनाएको छ ।



























