सुरुङ्गाका प्रसाई निजी वनका देशकै नमूना किसान

0
1574

सुरेन्द्र भण्डारी / बिर्तामोड ।

आफ्नो चार विगाह क्षेत्रफल मध्ये अढाई विगाह क्षेत्रफलमा निजी वन लगाएर जिल्लाकै उदाहरणीय कृषकका रुपमा परिचित हुनुहुन्छ झापा कनकाई नगरपालिका– ६ निवासी शान्तिराज प्रसाई ।

२०७० सालमा पाथीभरा निजी वन वाटिका तत्कालीन जिल्ला वन कार्यालय झापामा दर्ता गर्दै उहाँले निजी वन लगाउन सुरु गर्नुभयो । चार विगाह क्षेत्रफलमा निजी वन लगाउने सोच बनाउनु भएका उहाँले पहिलो चरणमा अढाई विगाह क्षेत्रफलमा मात्रै निजी वन लगाउनुभयो । झण्डै १५ लाख रुपैयाँ लगानी गर्दै प्रसाईले धान खाने खेत मासेर विरुवा रोप्नुभयो । सुरुमा उहाँलाई धेरैले पागलको संज्ञा समेत दिनपछि परेनन् ।

तर, निरन्तरको मेहनत र लगनशीलताका कारण प्रसाई दम्पत्ती (शान्तिराज–कुशुम) लाई वन तथा वातावरण मन्त्रालयले देशकै उत्कृष्ट कृषकको रुपमा सम्मान गरेसंगै प्रसाई दम्पत्तीको चर्चा नगर, जिल्ला हुँदै देशभर फैलियो । निजी वनको व्यवस्थापन,संरक्षण, सम्वद्र्धन र व्यवस्थापनबाट वन पैदवार आपूर्ति तथा स्थानीय रोजगारीमा अभिवृद्धि एवम् जैविक विविधताको संरक्षणमा योगदान पु¥याएको भन्दै वन तथा भू – संरक्षण विभाग समेतले असार ३१ गते काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नगद ७५ हजार रुपैयाँ सहित पुरस्कृत गरेसंगै शान्तिराजले लगाएको निजी वन हेर्न आउनेको लर्काे नै लागेको छ ।

दुई वर्षअघि जिल्ला वन कार्यालय झापाबाट निजी वन प्रोत्साह पुरस्कार प्राप्त गर्नु भएका प्रसाईले भिन्न अवधारणाका साथ वनसंगै आयमुलक व्यवसाय समेत शुरु गरेकाले यतिका धेरै सफलता प्राप्त गरेको डिभिजन बन कार्यालय झापाका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्रसाई जीले खेतीयोग्य जमिन मासेर वन लगाउनु भएको छ । यो वन र वातावरणका लागि स्वगत योग्य कुरा हो । तर, यसबाट उहाँले पनि आयस्रोत धानको भन्दै राम्रो लिन सक्नु भएको छ ।’

प्रसाईले अहिले आफ्नो निजीवन भित्र जडिवुटीसहित कागती र फलफूल, खेती गर्नुभएको छ । उहाँले झण्डै एक हजार वोट कागती लगाउनु भएको छ भने वन क्षेत्र भित्र कोला खेती समेत गर्नु भएको छ । जसबाट वर्षेनि मनग्य आम्दानी लिने गरेको उहाँको भनाई छ । योसंगै उहाँले वेसार , अदुवा,तरकारी खेती पनि गर्दै आउनु भएको छ । स्थानीय वेरोजगार युवालाई समेत रोजगारी दिलाएर निजी वन भित्र उहाँले तीन सय लोकल कुखुरा समेत पाल्नु भएको छ ।

वन भित्रै कुखुरा पालन व्यवसाय गर्दा कुखुरापनि फष्टाउने र वनलाई समेत मल हुने भन्दै उहाँले लोकल कुखुरा पाल्नु भएको हो । वोइलर र गिरिराज प्रजातिका कुखुराका कारण स्थानीय जातका कुखुरा पाल्न छाडेको भन्दै यसको वजार समेत राम्रो भएकाले आफूले दुई वर्ष यता निरन्तर कुखुरा पाल्दै आएको बताउनुभयो । ‘आफूले लगाएको बनलाई घेरावेरा गर्दै कुखुरा छाडेको छु’– प्रसाईले भन्नुभयो –‘ थुनेर पालेको भन्दा खुल्ला छाडेर पालेका कुखुर छिटो फष्टाउँछन्, प्रतिकेजी ४५० रुपैयाँका दरले यहीँबाट कुखुरा बिक्री हुन्छ । एक सिजनमा झण्डै दुई अढाईलाखको कुखुरा मात्रै बिक्री गर्छु ।’

कुखुरा मात्र होइन प्रसाईले हाँस र गाई समेत पालन गर्नुभएको छ । जसबाट उहाँले मनग्य आम्दानी लिने गरेको बताइन्छ । केही समय अघिसम्म स्थानीय प्रजातिका बाख्रा पालन गर्दै आउनुभएका उहाँले अब लेयर्स प्रजातिको वाख्रा पालन गर्ने सोच बनाएको प्रसाईले बताउनुभयो । अढाई विगाह क्षेत्रफलमा वन लगाएपनि अझैं एक विगाह १० कठ्ठा क्षेत्रफल धान उत्पादन गर्ने उहाँको खेत छ ।

तर, धान खेतीमा उत्पादन भन्दा खर्च धेर हुने भन्दै यसबार्षबाट बचेको सबै खेतमा विरुवा लगाउने उहाँको सोच छ । उहाँ भन्नुहुन्छ –‘ विरुवा एक वर्ष लाएपछि सामान्य रेखदेख मै हुर्कन्छ । तर, धान खेती गर्दा वर्षेनि हेरचाह गर्नुपर्छ, दुःख उत्तिकै हुन्छ । धान खेती गरे एकवाली तर विरुवा रोपे अनेक वाली लगाउन सकिन्छ ।’

१५ लाख रुपैयाँ खर्च गर्दै मसला, टिक, खमारी, लटर, कदम,मलेसियन साल सहितका तीन हजार पाँच सय विरुवा उहाँले लगाउनुभएको छ । जसबाट १० वर्षपछि आफूले १५ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको प्रसाईले बताउनुभयो । उहाँले भन्नुभयो – काठबाट मात्रै अबको दश वर्षमा १५ करोड भन्दा बढी आम्दानी गर्छु, त्यसमा वन भित्र गरिएको अन्य वाली र पशुपालनको आम्दानी छुट्टै हुन्छ ।

पाँचवर्ष अघि आफूले सवै विरुवा किनेर लगाएको बताउँदै प्रसाईले भन्नुभयो – ‘अहिले भए डिभिजन वन कार्यालयले चाहिएजति विरुवा निःशुल्क दिन्छ । जमिन वाँझो राख्नु भन्दा विरुवा रोप्नुहोस् । त्यसले १० वर्षपछि अपेक्षा गरेको भन्दा धेरै आम्दानी दिन्छ । मैले सवै विरुवा किनेर रोपे र पनि मलाई पछुतो छैन ।’

हुन त पछिल्लो समय झापामा निजी वन लगाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ । झापामा झण्डै पाँच सयबटा निजी वन दर्ता भएका छन् । तर, प्रसाईले थोरै क्षेत्रफलमा निजीवन लगाएपनि भिन्न अवधारणाका साथ शुरु गरेको बनले छोटो समयमा धेरै आम्दानी दिन थालेपछि उहाँको सिको गर्ने किसानको संख्या समेत बढ्दो छ । प्रसाई निजी वन सञ्जाल झापाका उपाध्यक्ष समेत हुनुहुन्छ ।

राज्यबाट सहयोग नपाएको गुनासो

निजी वन लगाएर जिल्लाकै नाम राख्न सफल भएपनि आफूलाई राज्यको तर्फबाट कनै सहयोग नभएको उनको गुनासो छ । उनी भन्छन्– ‘मलाई न त जिल्ला ले हे¥यो न नगरले नै हे¥यो । वातावरण जोगाउन आफूले महत्वपूर्ण योगदान पु¥याएपनि सहयोग भने शुन्य छ ।’

स्थानीय सरकारका प्रतिनिधिलाई सहयोग मागेपनि अहिलेसम्म कुनै सहयोग पाएको छैन – प्रसाईले भने– ‘मलाई घेरावेराको आवश्यक छ, घेरावेरा हुने हो भने यहाँ कुखुरा, हाँस वाख्रा, वदेल पाल्न सकिन्छ । जसबाट म आफूले पनि आम्दानी लिन सक्ने अरुलाई पनि रोजगारी दिलाउन सक्थे ।’

कनकाई नगरपालिकासंग घाँस काट्ने मेसिन मागेपनि आफूलाई प्रदान नगरेको उनको भनाई छ । उनी भन्छिन् – मलाई अहिले घाँस काट्ने मेसिन आवश्यक छ, हाते ट्याक्टर आवश्यक छ, यदि त्यो सामग्री उपलव्ध हुने हो भने म यही वन भित्र अझ बढी आम्दानी लिन सक्ने थिएँ । हाते ट्याक्टर हुने हो भने यही वन भित्र तोरी फल्छ, दाह हुन्छ, अन्य वाली हुन्छ उनले भने – अव परम्परागत खेती भन्दा आधुनिक र व्यवसायिक खेती तर्फ हामी अग्रसर हुनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here