लक्ष्मी उप्रेती / झापा।
अधिकार सम्पन्न स्थानीय तह गठन भएको तीन वर्ष पुग्दासम्म झापाका केही स्थानीय सरकार भाडाका घरमा बस्न बाध्य छन् ।
हल्दीवारी र कचनकवल गाउँपालिका भाडाका घरबाट सञ्चालन भइरहेका छन् । साघुँरा कोठाबाट कार्यालयको दैनिक काम सम्पादन गर्दा ज्यादै समस्या भएको स्थानीय सरकार प्रमुखहरु बताउँछन् । स्थानीय स्तरमा प्रशासनिक भवन नभएका कारण बस्न बनाएका घरका कोठाबाट काम चलाउनु परेको हो । कार्यालय सञ्चालनका लागि हुनुपर्ने पूर्वाधार नभएका, उपयुक्त भवन अभावका कारण सेवाप्रवाहमा समेत समस्या भएको कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलम बताउँछन् ।
स्थानीयले आफ्नै बसोबास र पारिवारिक प्रयोजनका लागि बनाएका घर भाडामा लिएर साँघुरा कोठाबाट सेवा प्रदान गर्दा दैनिक सेवाप्रवाहमा स्थानीय सरकारलाई ज्यादै समस्या भएको अध्यक्ष आलमको भनाइ छ ।
अझ विषयगत शाखाहरु अलग–अलग भवनबाट सञ्चालन गर्नु पर्दा त झन् बढी समस्या हुने गरेको अध्यक्ष आलम बताउछन् । ‘शुरुमा सिहंदरवारको अधिकार अब गाउँ–गाउँमा भनियो’ –अध्यक्ष आलमले भने –‘स्थानीय तहको संरचना अनुसार स्वास्थ्य, शिक्षा, कृषि सहकारीलगायतका विषयका शाखाहरु गाउँपालिकामा आए तर, पर्याप्त स्रोत साधन अभावका कारण तथा सवै सेवा एउटै भवनबाट दिन नसक्दा सेवाग्राहीलाई समेत समस्या परेको छ ।’
सवै शाखाहरु एउटै भवनका कोठाबाट व्यवस्थित गर्न नसक्दा सेवाग्राहीलाई समस्या परेको हो । गाउँपालिकाको वोर्ड बैठक बस्दा अध्यक्ष आलमको कोठामा कुर्सी थप्नुपर्छ । अहिलेसम्म हरेक बैठक अध्यक्षकै कोठामा हुने गरेको छ । बैठक बस्ने बेलामा वडा सदस्य, गाउँपालिका सदस्यहरु, अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत सवै मिलीजुली बसेर बैठक सम्पन्न गर्ने गरेका छन् ।
साविकको वनियानी, पथरिया, वालुवाडी, केचना, पाठामारी र घेरावारी मिलेर बनेको कचनकवल गाउँपालिका शुरुदेखि नै भाडाकोे घरमा बस्दै आएको छ । गाउँपालिकाले कार्यालय सञ्चालनका लागि तीन ठाउँमा भवन भाडामा लिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलबहादुर थापा मगरका अनुसार साँघुरा कोठा भएको भवन भएपनि मासिक झण्डै ७० हजार रुपैयाँ गाउँपालिकाले घरभाडा वापत बुझाउनुपर्छ । ‘भाडामा लिएका घरका कोठामा जनप्रतिनिधि र कर्मचारी नै अटाउन हम्मेहम्मे पर्छ’ –अध्यक्ष आलमले भने –‘त्यसैमा सेवाग्राही थपिँदा त झन् समस्या ।’
तर यस्तो कष्ट झेल्दै पनि गाउँपालिकाले सेवाग्राहीलाई दिने सुविधामा कुनै कमी आउन नदिएको अध्यक्ष आलमको दावी छ । गाउँपालिका भवन निर्माणका लागि गाउँपालिकाको ७ नम्बर वडामा स्थानीय एक व्यक्तिले १५ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएको भएपनि हालसम्म भवन बन्न सकेको छैन् । अब यसै आर्थिक वर्ष भित्र गाउँपालिकाको सुविधा सम्पन्न भवन बन्ने योजना छ । कार्यालय बनाउनका लागि टेण्डर प्रक्रिया अघि बढाइने र यसका लागि गाउँपालिकाले २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष आलमले बताए ।
भवन बनाउनका लागि १ नम्बर प्रदेशसँग समेत रकम माग गरिएको उनको भनाइ छ । उक्त गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय पनि भाडाको घरबाट सञ्चालित छ । कूल सात वटा वडा रहेको कचनकवल गाउँपालिकाको १, २, ४, ५, ६ र ७ का वडा कार्यालयहरु साबिकका गाविस भवनबाट सञ्चालित छन् । गाउँपालिका भाडामा सञ्चालनमा रहेको वडा नम्बर ३ को वडा कार्यालय समेत बनाउने तयारी भएको छ ।
हल्दीबारीको हालत पनि उस्तै
साविकका हल्दीबारी, गोलधाप र जलथल मिलेर बनेको हल्दीबारी गाउँपालिकाको दुरावस्था पनि कचनकवलको भन्दा कम छैन । गाउँपालिका अध्यक्ष रवीन्द्रकुमार लिङ्देन पारिवारिक प्रयोजनका लागि बनाएका घरका कोठा भाडामा लिएर जसोतसो सेवाप्रवाह गर्नु परेको बताउँछन् ।
यस्तो अवस्थामा सेवा प्रवाह गर्न असहज भएको तथा सेवाग्राहीले पनि सहजरुपमा सेवा लिन नपाएको उनले बताए । उनी भन्छन् –‘सुविधा सम्पन्न भवन बनाउने तयारीमा छांै, निर्माण हँुदैछ तर यो वर्खाले पो रोक्यो ।’ संरचना वेगरका भवनमा बसेर काम गर्न ज्यादै समस्या हुने उनले सुनाए । स्थानीयहरुले कार्यालय भवनका लागि डेढ कठ्ठा जग्गा उपलब्ध गराएपछि एक वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी धमाधम भवन निर्माण भइरहेको छ तर बर्खाका कारण रोकिएको अध्यक्ष लिङ्देनले बताए ।
गाउँपालिकाले भवन निर्माणका लागि ५ नम्बर वडामा रहेको धनुष पोखरीमा ५ करोड रुपैयाँमा टेन्डर प्रक्रिया शुरु गरेको भएपनि ३ करोड ९० लाख रुपैयाँको लागतमा टेन्डर प्रक्रिया अघि बढी काम शुरु भएको छ ।
५ वटा वडा रहेको हल्दीवारीको १, २ र ४ वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन भइरहेका छन् भने ३ र ५ भाडाका घरबाट सञ्चालित छन् । अहिले हरेक वडाले राजश्व संकलन गर्नेदेखि योजना सञ्चालनसम्मको काम गर्ने गरेको छ । तर त्यही अनुसारको सेवाप्रवाह गर्न सक्ने पूर्वाधार भएका भवन नहुँदा काम गर्न समस्या छ ।
‘शुरुमा गाउँपालिकालाई व्यवस्थापन गर्न ज्यादै समस्या थियो’ –अध्यक्ष लिङ्देनले भने –‘जग्गाको व्यवस्थापन थिएन अहिले भयो, स्थानको टुङ्गो लाग्यो भवन निर्माणको काम शुरु भएको छ ।’ जिल्ला समन्वय समिति झापाले वडा नम्बर –३ को कार्यालय बनाउनका लागि ४० लाख रुपैयाँ दिएको छ । तर पहिला गाउँपालिकाको भवन बनाएर मात्र वडा कार्यालयको भवन बनाउने गाउँपालिकाको योजना रहेको गाउँपालिका अध्यक्ष लिङ्देनले बताए ।





























