विनोद सापकोटा / मधुमल्ला।
आफ्नै साथीले घरवाट लिएर गएका मोरङ्ग मिक्लाजुङ्गका अनिष कार्कीको मृत्यु प्रकरणमा आशंका गर्ने आधार फेला परेको स्थानीयबासीले बताएका छन् ।
साउन ५ गते आफ्नै साथीले राति १० बजे घरवाट उठाएर लगेका अनिषको ४ दिन पछि रहस्यमय ढंगले मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । स्थानीय बक्राह र नुनसरी खोलाको दोभान नजिक उनको शव खोलाले बगाएको अवस्थामा फेला परेको थियो ।
शङ्का गर्ने आधार
एक साताअघि अर्थात साउन ५ गते घरबाट अनिषलाई उनकै साथीहरुले लिएर गएका थिए । बुधबार दिउँसो २ बजे स्थानीय बक्राह र नुनसरी खोलाको बगरमा कार्कीको शव निर्वस्त्र अवस्थामा फेला परेको थियो । शव फेला परेको स्थान वरपर मानव वस्ती छैन । वेपत्ता भएको ४ दिनपछि खोला किनारमा शव फेला पर्नु र सँंगै गएका साथी बेखबर हुनुले घटना नियोजित भएको हुन सक्ने स्थानीयले आशंका गरेका हुन् ।
अनिष वेपत्ता भएको दिनदेखि पूर्वमा भारी वर्षा भएको थियो । ठूला तथा साना खहरे खोलामा अघिल्ला वर्षको भन्दा वढी बाढी आएको स्थानीय बताउँछन् । खोलाको बाढीले नै बगाएर उनको मृत्यु भएको हो भने चार–चार दिनसम्म अनिषको शव एकै ठाँउमा कसरी फेला प¥यो ? स्थानीयले यो विषयलाई पनि मुख्य आधार बनाएका छन् ।

निर्वस्त्र शव
अनिषको शव निर्वस्त्र भेटिएको थियो । उनले लगाएको पैन्ट र टीसर्टको टाँक बाढीले कसरी खोल्यो ? स्थानीयले भने अनिषको भित्री पोशाक खोई ? खोलाको बाढीले अनिषलाई बगाएको थियो भने उनले लगाएको पेन्ट, टीसर्ट र भित्री लुगा नहुनु कर्तव्य ज्यानको अर्को आधार भएको स्थानीले दावी गरेका छन् । अनिषको शरीरका विभिन्न भागमा चोट देखिएको छ । बाढीले बगाएको शवमा चोट देखिनु स्वभाविक नै हो तर, शव किन गन्हाएन स्थानीयले भने ।
स्थानीयका अनुसार अनिषलाई वन्धक बनाएर हत्या गरी खोलामा फालिएको हुन सक्छ । आइतवार वेपत्ता भएका अनिषको ४ दिन पछि शव फेला पर्दा किन सडेन ? अनिषकी आमा समीक्षा भण्डारी कार्कीले भनिन् –बुधबार शव फेला पर्दा अलिकति पनि गन्ध आएको छैन । शरीरको पछिल्लो भाग, कान, तिघ्रामा गम्भीर चोट छ ।
मिक्लाजुङ –९ मधुमल्ला चौकमा अनिष मावलमा बस्दै आएका थिए । गएको फागुनमा बिवाह गरेपछि उनीहरु मधुमल्लामा डेरा बस्दै आएका थिए । आमाले दोस्रो विवाह गरेपछि सानै उमेरमा मेरो संरक्षणमा अनिष थियो । अनिषकी आमा र समीक्षा दिदी बहिनी हुन् । आमाले दोस्रो विवाह गरेपछि समीक्षाले उनलाई छोरो बनाएर पालेकी थिइन् ।
अनिषले आफ्नो हातमा ‘मिस यु आमा’ लेखेका थिए । एक वर्ष अघि हातमा ट्याटु खोप्दा समीक्षाले किन ट्याटु खोपेको भनी सोधेकी थिइन् । समीक्षाले भनिन् –तपाईको लागि मामु भनेर जवाफ दिएको थियो उसले । त्यो बेलाको आमाछोराको संवाद सम्झिँदै भक्कानिँदै समीक्षाले भनिन् –मेरो बावुलाई किन मारियो ? ‘सत्य बाहिर नआए जुनसुकै निर्णय मलाई अमान्य हुन्छ । उनले भनिन् –‘मैले न्याय पाउनु पर्छ ।’
अनिषकी श्रीमती रञ्जिलाका अनुसार अनिषका साथी सन्दीप नेपाली र विशाल ऋषिदेवले राति १० बजे उनलाई लगेका थिए । उनीहरु सानैदेखिका मिल्ने साथी हुन् । भोलिपल्ट विहानसम्म पनि अनिष घर नआएपछि मैले सन्दीपलाई अनिष खोई भनेर सोध्दा काठमाडांै गयो भन्ने जवाफ दिए । रञ्जिलाले भनिन् –मैले पत्याउनै सकिँन र आत्तिँए । सन्दीपले केनिस परियारसँंग अनिष काठमाण्डौ गएको भने लगत्तै केनिससँंग रञ्जिलाको वाटोमा भेट भएको थियो । आपूm काठमाडां्रै नगएको बताएपछि रञ्जिला थप तनावमा परिन् ।
चार दिन पछि खोलामा माछा मार्नेले स्थानीय नुनसरी खोलामा शव देखेपछि गाँउमा खैलावैला भएको थियो । स्थानीयले भने –शरीरमा कहीँ कतै बालुवा र माटो समेत लागेको छैन । उनीहरुले भने – खोलाले बगाएको भए कहीँ कतै हिलो, माटो हातका नङ्ग, मुख, कान, आँखामा त पस्छ नि ? अनिषको मृत्यु प्रकरण सामान्य नदेखिए पछि प्रहरीले अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार केही शंकास्पद संकेत भएकाले अनुसन्धान शुरु भएको छ ।
सन्दीप पक्राउ
सन्दीप नेपालीलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ भने अनिषलाई लिएर जाने अर्का विशाल फरार छन् । शंकास्पद मृत्यु भएका कार्कीको शवको पोष्टमार्टम समेत मोरङ्गको मंगलवारेस्थित मंगलवारे अस्पतालले गर्न नमानेपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
मंगलवारे अस्पतालकोे शव पोष्र्टमाटम गर्ने डाक्टर एलिजा तन्डुकारले कसैको दवाव र प्रभावका कारण मंगलवारे अस्पतालले पोष्टमार्टम नगरेको आरोप गलत भएको बताइन् । उनले भनिन् – विशेषज्ञ डाक्टर नभएकोले धरान रेफर गरेको हो ।
यता जिल्ल्ला प्रहरी कार्यालय मोरङ्गले भने शवको परीक्षण लगायत अन्य अनुसन्धानका पाटा बाँकी नै रहेकाले भवितव्य वा हत्याको अनुमानका भरमा बोल्न नसकिने जनाएको छ । मोरङ्ग प्र्रहरीले अनिष मृत्यु प्रकरणमा अनुसन्धानका हरेक बाटोमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाएको छ ।





























