दमक।
झापामा पहिलोपटक एकीकृत सेवाग्राही वडापत्र लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले एकीकृत सेवाग्राही वडापत्र लागू गरेको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले साधारण कामहरुमा समेत सेवाग्राहीले झण्झट व्यहोर्नु परेकाले त्यसको अन्त्य र विचौलिया हावी भएर पैसा असुल गर्ने कार्यलाई निरुत्साहित गर्न एक बर्ष लगाएर यस प्रकारको वडापत्र तयार पारिएको बताए । सबैसँग छलफल र सुझाव लिएर नै यो काम गरिएकाले यसलाई लागू गर्नु सबैको दायित्व भएको उनले बताए ।
स्थानीय तह सहित २१ वटा कार्यालयमा सेवाग्राही जाँदा त्यहाँबाट पाइने सेवाको बारेमा जानकारीसहित सम्बन्धित कामका लागि के–के आवश्यक पर्छ भन्ने जानकारी उक्त वडापत्रमा रहेको छ । सम्बन्धित कार्यालयबाट प्रमाणित गरेर राखिएको निवेदनका ढाँचाहरु समेत त्यही भएकाले सेवाग्राहीले बाहिर बिचौलियामार्फत निवेदन लेखाउनु पर्ने अवस्थाको अन्त्य हुने अपेक्षा रहेको दाहालले बताए ।
जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, नगरपालिका, गाउँपालिका, वडा कार्यालय, वन डिभिजन, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका कार्यालयहरुमा आवश्यक पर्ने सम्बन्धित कामको निवेदनको ढाँचा नै वडापत्रमा समावेश भएको र त्यो फोटोकपी गरेर भरेर आएमा सेवाग्राहीले सेवा पाउने दाहालले बताए ।
१३ महिना लगाएर ३ सय पृष्ठ लामो एकीकृत वडापत्र तयार पारिएको र यो सेवाग्राही तथा सम्बन्धित कार्यालयका लागि एउटा सेवा चुस्त पाउने र दिने प्रमुख आधार बनेको दाहालको दाबी रहेको छ । तत्काल नगरपालिका, गाउँपालिका सहित जिल्लाभर रहेका १ सय ३१ वटा वडामा यसलाइ पठाइने बताइएको छ ।
शुरुवातमा सर्वसाधारण वडा कार्यालय जाने भएकाले यसलाई वडा कार्यालयमा राखिने त्यहाँबाट सिफारिस लिनेक्रम देखि नै जुन कार्यालयमा जाने हो त्यो कार्यालयमा सम्बन्धित कामका लागि आवश्यक कागजपत्र के–के चाहिने त्यो हेर्न र निवेदनको ढाँचा समेत फोटोकपी गरेर लैजान सक्ने ब्यवस्था मिलाइने दाहाल बताउँछन् ।
जिल्ला प्रशासन कार्यालयसहित, नगरपालिका, गाउँपालिका र सम्बन्धित कार्यालयहरुले आफ्नो वेभसाइडमा पनि यसलाई राख्ने कार्यालय प्रमुखहरुको बैठकमा छलफल भएर निर्णय भएको पनि दाहालले बताए । हामी मोवाइल एप्स बनाएर पनि यसलाई हाल्ने तयारीमा रहेका छौं – दाहालले भने ।
सार्वजनिक सेवा वडापत्र सेवाप्रदायक निकायले आफूले प्रदान गर्ने सेवाको प्रकृति, मापदण्ड,प्रक्रिया र गुनासो सुनुवाई संयन्त्रका बारेमा सेवाग्राहीलाई खुलस्त र स्पष्ट सूचना तथा जानकारी दिन सार्वजनिक रुपमा राखिएको एक लिखत मानिन्छ । यसलाई थप ब्यवस्थित गर्नका लागि जिल्ला प्रशासन कार्यालयले उल्लेख भएका काम गर्दा आवश्यक निवेदन तथा त्यसको ढाँचा पनि समावेश गरेको पाइन्छ ।






























