तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सन् २०१५ मा गरेको सम्झौता अनुसार काँकरभिट्टा र भारतको पानी ट्याकीलाई जोड्ने नयाँ पुलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । एशियाली विकास बैंक (एडीवी) को आर्थिक सहयोगमा निर्माण भइरहेको सो पुलको एउटा मात्र पिलर गाड्न बाँकी रहेको छ । मेची नदीमाथि अहिले चालू रहेको पुल साँघुरो र जीर्ण भएको छ भने आवागमनमा असुविधा समेत हुन थालेको छ । बढ्दो आवागमन, सवारी चाप, पुलको जीर्ण अवस्था समेतलाई मध्यनजर गर्दै अहिले भारततर्फ छ लेनको सडक निर्माण सम्पन्न भइसकेको छ । सार्क राष्ट्रसम्म पहुँच विस्तार गरिने निर्माणाधीन मेचीपुलको सम्पन्नताले देशको आर्थिक अवस्थामा समेत उल्लेख्य प्रगति हुने अपेक्षा गरिएको छ ।
सीमा नाका पानी ट्यांकीदेखि शिलगढीसम्मको सडक खण्ड आवागमनका दृष्टिले अत्यन्त सहज भएको छ । सडकको स्तरोन्नतिले समय जोगाएको छ भने दुई देशबीचको आयात–निर्यात सहज हुँदा व्यापार प्रवद्र्धनमा समेत मद्दत पुगेको छ । अब नेपाली सीमाना काँकरभिट्टातर्फको सडक विस्तार गर्न सरकारको ध्यान जानुपर्छ । त्यसो त नयाँ निर्माण भइरहेको पुललाई जोड्न नयाँ सडक निर्माणको प्रक्रियाको एउटा चरण पूरा भइसकेको छ । नेपाली भूमिमा बसेका त्रिचालीस परिवारलाई नेपाल सरकारले मुआब्जा वितरण गरेको छ । ती मध्ये नम्बरी जग्गामा बसोबास गरेका चार परिवारलाई मुआब्जावापत एक करोड सत्र लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
भारततर्फको सडक, पुल–पुलेसाहरुको स्तरोन्नति भएपछि विभिन्न कारणले त्यसतर्फ जानेहरुको समयको बचत मात्र भएको छैन, सुविधा र आर्थिक लाभ पनि हुन थालेको छ । भारतीय पक्षको युद्धस्तरको र प्रविधियुक्त निर्माण कार्यले थोरै समयमा निर्माण सम्पन्न भएपछि अब नेपाल सरकारलाई पनि दवाव परेको छ । दुई वर्षको अवधि सडक स्तरोन्नतिसँग मेची पुल निर्माण सम्पन्न गर्न लागेको भारतीय पक्षको जस्तो क्षमता, सिप, निरन्तरता हाम्रो तर्फबाट हुनेमा विश्वास गर्ने ठाउँ भने छैन । किनकि हाम्रा अनुभवहरुले निर्धारित समयसीमाभित्र योजना सम्पन्न भएको उदाहरण नै छैन । हाम्रा नेतृत्ववर्गको अक्षमताले विकास, निर्माण तथा सम्भारका कामहरु प्रभावित भइरहेका छन् ।
मुख्य सडक, पुल जस्ता अत्यावश्यकीय सेवा निर्विध्न प्रवाह गर्न सक्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो । तर, नेपाल सरकारका तर्फबाट स्तरोन्नति, निर्माण तथा पूर्वाधारका बारेमा तयारी नै भएको छैन । मेचीको डिलमा रहेका केही परिवारलाई मुआब्जा दिनु बाहेक केही गरिएको छैन । विगतका योजनाहरु नै समय थप्दै, लागत बढाउँदै र आलटाल मै अलपत्र रहेका बेला नयाँ काम द्रुत गतिमा हुनेमा विश्वास गर्ने अवस्था छैन । निर्माणाधीन मेची पुल अबको छ महिनामा आवागमन लायक बनाउने भारतीय पक्षको लक्ष्य अनुरुप नेपालतर्फको सडक पनि त्यही अनुरुपको बनिनुपर्छ । त्यसोभए भारत लगायत अन्य छिमेकी मुलुकसँगै हाम्रो व्यापारिक सम्बन्ध बलियो हुन्छ । पर्यटकहरुको आवागमन बढ्छ र देशको आर्थिक क्षमता पनि समृद्ध हुन्छ । त्यसतर्फ स्थानीयसँगै केन्द्रीय सरकारले गहिरो चासो देखाउनु पर्दछ ।




























