मनसुनी वर्षा सक्रिय हुन नसक्दा बाली प्रभावित

0
1103

धनगढी। 

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा यस वर्ष अहिलेसम्म मनसुन सक्रिय हुन नसक्दा धानबाली प्रभावित भएको छ ।

मनसुन सक्रिय हुन नसक्दा देखिएको सुक्खा मौसमले धानबाली प्रभावित हुन थालेपछि वर्षाको पर्खाइमा आकाशतिर हेर्दैमा दिन बित्ने गरेको किसानले बताएका छन् । भर्खरै रोपाइँ सकेका किसान पनि पर्याप्त पानी नभएर रोपाइँ गरिएको खेतमा चिरा पर्न थालेको धनगढी उपमहानगर–१३ का बलराम चौधरीले बताउनुभयो ।

“साउन महीनाको दोस्रो हप्तासम्म पनि कैलालीमा राम्रो वर्षा हुन नसकेर बालीमा विभिन्न रोगको समस्या देखिने हो कि भन्ने चिन्ता लागेको छ”, चौधरीले भन्नुभयो, “पहिलेपहिले इन्द्रदेव भगवान्सँग वर्षा माग्न भ्यागुताको बिहे गर्ने प्रचलन थारु समुदायमा थियो अहिले त्यो पनि हराउन थालेको छ ।” दुई हप्ताअघि पनि देशका अन्य भेगमा ठूलो मनसुनी वर्षा हुँदा कैलाली कञ्चनपुरमा पर्याप्त वर्षा हुन सकेको थिएन ।

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयले यस वर्ष आजसम्म कैलाली र कञ्चनपुरमा मनसुनी वर्षा सक्रिय हुन नसकेको जनाएको छ ।

“यसपालीको वर्षायाममा गएको असार २६ गते सबैभन्दा बढी ८१ दशमलव नौ मिलिमिटर वर्षाको मापन गरिएको थियो”, कार्यालयका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले भन्नुभयो, “त्यसयता ठूलो वर्षा हुन सकेको छैन ।”पश्चिमी वायुको प्रभावका कारण जिल्लामा मनसुन सक्रिय हुन नसकेको बताइएको छ । नेपालमा जुन १० देखि सेप्टेम्बर २३ गतेसम्म मनसुनी वर्षा हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here