अर्जुनधारामा जल चढाउनेको निःशुल्क उपचार

0
902

बिर्तामोड।

श्रावणी पर्वको अवसर पारेर पूर्वको पशुपतिनाथका नामले परिचित अर्जुनधारा जलेश्वर धाममा हजारौं भक्तजनले सोमबार जलार्पण गरेका छन् ।

हरेक वर्ष धाममा श्रावणी पर्वको अवसरमा जल चढाउन भारतको सिक्किम, दार्जीलिङ, कालेङ्पोङ लगायत नेपालका विभिन्न ठाउँवाट भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।

जलार्पण गर्न आउने भक्तजनको स्वास्थ्यलाई ध्यानमा राखेर अञ्जलि हस्पिटल प्रालिले विशेषज्ञ डाक्टरहरुद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको थियो । अञ्जलि हस्पिटलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरिएको कार्यक्रममा अस्पतालका अध्यक्ष कुलप्रसाद खरेल, सञ्चालक समिति सदस्य भानु शिवाकोटी, सदस्य खगेन्द्र खरेलको आतिथ्य रहेको थियो । मन्दिरमा निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रमलाई आगामी हप्तामा पनि निरन्तरता दिइने सञ्चालक सदस्य शिवाकोटीले बताए । शिविरमा चार सयभन्दा बढीले स्वास्थ्य सेवा लिएको बताइएको छ ।

त्यसैगरी एक्सल डेभलपमेन्ट बैंक विर्तामोडले जल चढाउन आउने महिलाहरुको सौभाग्यका सामान, चुरा, पोते, धागो लगायत विभिन्न श्रृङ्गारका सामानहरु वितरण गर्नुका साथै निःशुल्क बैंक खाता खोल्ने व्यवस्था मिलाएको थियो ।
त्यस अवसरमा इलाम–झापा मैत्री संघ वुद्धशान्ति शाखाले सर्वत पानी वितरण गरेको थियो भने मारवाडी सेवा समिति विर्तामोडले चिया, पानी निःशुल्क वितरण गरेको थियो ।धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले श्रावणीपर्वको महिमाको बारेमा र भगवान शिवको महत्वका विषयमा प्रवचन दिएका थिए ।

धाममा शिव मन्दिर, विष्णु मन्दिर र अन्य मन्दिरमा पूजाआजा गर्नेको जहिल्यै भीडभाड भइरहन्छ । खासगरी महाशिवरात्री, बालाचतुर्दशी, कृष्णजन्माष्टमी, माघे सङ्क्रान्ति आदि अनेक पर्वमा अत्यन्त घुइँचो हुन्छ । जाँड–रक्सी र धुम्रपान निषेधित अर्जुनधारा धाम क्षेत्र परिसर भित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरीको बीचमा अर्जुनले गाईलाई पानी खुवाई रहेको मूर्ति स्थापना गरिएको छ । सात कुने उक्त पोखरीको दक्षिणतर्फ पञ्च धातुबाट निर्मित ५ वटा धाराहरू छन् जसबाट निरन्तर चिसो पानी बगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका रङ्गीविरङ्गी माछाहरू छन् ।

२०५५ सालको हुलाक टिकटमा समेत चित्रांकित अर्जुनधारा क्षेत्रमा प्रत्येक वर्ष लाखौं स्वदेशी तथा भारतीय तीर्थ यात्रीहरूले भ्रमण गर्ने गरेका छन् । यहाँ शिव, गणेश, नाग, हनुमान र सरस्वती आदि देवीदेवताका मूर्तिहरूका अतिरिक्त विवाह, कर्मकाण्ड, यज्ञकक्ष, किरियापुत्र कक्ष, धर्मिक कार्यक्रम वाचन तथा श्रोता कक्ष आदिको स्थापना गरिएको छ ।

यो धाम पूर्वीय दर्शनमा आधारित एवम् संस्कृत शिक्षाबाट प्रभावित रहेको छ । यस स्थानमा संस्कृत मावि र वेदविद्यापीठ समेत स्थापना गरिएको छ । कालिका स्थानको गार्गी विद्यापीठ भने गुरुकुल शिक्षा पद्धतिमा आधारित छ । अर्जुनधारा परिसरभित्र सञ्चालित वेद विद्यापीठमा व्राम्हण लगायत सम्पूर्ण जातजातिका विद्यार्थीहरुलाई समेत पढाउने गरिएको छ ।

अर्जुनधारामा प्रत्येक वर्ष बालाचतुर्दशी र श्रावण महिनाभर मेला लाग्ने गर्दछ । त्यस अवसरहरूमा देश भित्रका र भारतबाट समेत भक्तजनहरूआउने गर्छन् ।

महाभारतकालमा पाण्डवहरू लुकेर यिनै स्थानमा गुप्तवास भंग गर्न विराट राजाका नौ लाख गाईहरू हरण गरी लगेको तथा कौरवहरूले गाई हरण गरेको स्थान गौ हरण तथा यसको अपभ्रंश भई गोरूवा हँुदै गरूवा भएको बताइन्छ । जुन स्थान हाल इलाम जिल्लाको दानाबारीमा पर्दछ ।

हरण गरेर लगेका गाईहरु कौरव पक्षले गौहटी (हाल आसाम राज्यको गुहाटी) पु¥याएका थिए र पाण्डव पक्षका वीर योद्धा बृहन्नला (नपुंसक) को रूपमा लुकेर बसेका अर्जुनले लुटिएका गाईहरू कौरवहरूसँग युद्ध गरी फिर्ता ल्याउँदा अत्यन्त तिर्खाएकाले जलदेवता भगवान शिवको आराधना गरी जमिनमा पर्जन्य अस्त्र (पानी निकाल्ने यन्त्र,वाणको माध्यम) ले पानी निकाली गौमातालाई खुवाएको स्थानका रूपमा यस स्थानलाई लिइन्छ ।

यहाँ निरन्तर धाराको रूपमा पानी बगिरहेको हुनाले यसलाई अर्जुनधाराधाम भनिएको हो भन्ने किंवदन्ती छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here