बम विस्फोट गराइयो, आगजनी प्रयास : भद्रपुर र दमकको एनसेल टावरमा आक्रमण

0
875

पार्थ मण्डल/झापा ।

निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलको २ स्थानको टावरमा अज्ञात समूहले आगजनी प्रयास गरेको छ।

मंगलबार राति अज्ञात समूहले झापाको भद्रपुर र दमकस्थित एनसेलका दुईवटाटावरमा आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार भद्रपुर नगरपालिका–३ स्थित गोले चोक र दमक नगरपालिका–१ मामा चोक रहेको एनसेलको टावरमा आजगजीको प्रयास गरिएको हो।

भद्रपुरको टावर बाहिर आगो लगाउने प्रयास भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए। अहिले भद्रपुरका सम्पूर्ण मोबाइल फोन टावरमा प्रहरी परिचालन गरिएको उनले बताए। ‘दमकको मामा चोकमा रहेको टावर बाहिर सानो बम पड्काएको आवाज आएको थियो’, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘त्यसपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकका डिएसपीसहितको प्रहरी परिचालन गरेका थियौ, तर टावर वरिपरि कुनै क्षति भएको देखिएन।’

‘जिल्लाको एनसेल टावरमा आक्रमणको प्रयास भएपछि जिल्लाभरि प्रहरी परिचालन गरेका छौ, उनले भने, ‘अहिले सम्म कुनै क्षति भएको छैन, क्षति हुन नदिन प्रत्येक टावरमा प्रहरी खटाइसकेका छौ।’ यता एनसेल कम्पनी बिर्तामोडका इन्जिनियर वीरेन्द्र झाका अनुसार जिल्लाको टावरमध्ये भद्रपुर र दमकमा आक्रमणको प्रयास भएको हो।

आक्रमणकारीले टावरमा क्षति पुर्‍याउने प्रयास गरे पनि केही नभएको उनले बताए। अहिले जिल्लाको सम्पूर्ण टावर सुचारु रहेको उनको भनाई छ। नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले यसअघि पटक पटक एनसेल कम्पनीले राज्यको कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका थिए। अहिले झापामा भएको आक्रमणको प्रयास पनि नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here