पाँच विद्यालय मर्ज, दुई घटुवा

0
1350

सुरेन्द्र भण्डारी / बिर्तामोड।

विद्यार्थी संख्या कम भएको भन्दै हल्दीबारी गाउँपालिकाले जिल्लामै पहिलो पटक पाँचवटा आधारभूत विद्यालयलाई समायोजन (मर्ज) गर्ने भएको छ भने दुईवटा माविलाई स्तर कटौती गर्दै आधारभूतमा झार्ने निर्णय गरेको छ ।

गाउँपालिकाको वडा नम्वर – ३ मा रहेको रामेश्वर आधारभूत विद्यालय, सोही वडाको जनता आधारभूत विद्यालय, वडा नम्वर – ५ मा रहेको शान्ति आधारभूत विद्यालय, वडा नम्वर –२ कै राष्ट्रिय एकता आधारभूत विद्यालय (१– ५) र धनुषा आधारभूत विद्यालय (१– ८) लाई हल्दीबारी माविमा समायोजन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष डम्वर गिरीले जानकारी दिए ।

त्यस्तै सरस्वती मावि हल्दिवारी – १ र पञ्चायत मावि हल्दिवारी – ३ मा समेत विद्यार्थी संख्या न्यून भएको भन्दै स्तर कटौती गर्दै आधारभूत(१–८)मा झार्ने निर्णय गरेको उपाध्यक्ष गिरीले बताए । हल्दीबारी मावि नमूना विद्यालय रहेको र अन्य विद्यालयमा विद्यार्थी संख्या ज्यादै न्यून भएपछि यस्तो निर्णय गरिएको उपाध्यक्ष गिरीले बताए । उनले भने– ‘कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षकको संख्या बढी जस्तो देखिन्छ । त्यस्ता विद्यालयलाई मर्ज गर्न लागिएको हो ।’

विद्यालय मर्र्ज गरेर मात्र हुँदैन –गिरीले भने – ‘त्यसको व्यवस्थापनका लागि हामीले विद्यार्थी बोक्न स्कूल बसको पनि व्यवस्था गरेका छौं ।’

विद्यालय मर्ज गरेसँंगै शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ– गिरीले भने –‘पञ्चायतकालमा टोलैपिच्छे विद्यालय खोल्ने परिपाटी थियो । विद्यालय खोलेर मात्र हुँदैन, विद्यार्थी संख्या नभएपछि पटक – पटक विद्यार्थी संख्या बढाउन विद्यालयलाई सुझाव दिएको तर बिद्यार्थी संख्या ज्यादै न्यून भएपछि विद्यालय मर्ज प्रक्रिया शुरु गरिएको हो ।’

सामुदायिक विद्यालयको हाराहारीमा अहिले निजी विद्यालय पनि खुलेका छन् – उपाध्यक्ष गिरीले भने –‘ अबको शिक्षा प्रविधिमैत्री हुनुपर्छ, जुन विद्यालयले प्रविधि मैत्री र गुणस्तरीय शिक्षामा जोड दिन्छन् त्यही विद्यालय विद्यार्थीको रोजाइमा पर्छ ।’

विद्यालय मर्ज गर्नुअघि शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखसहितको टोलीले विद्यालयको अनुगमन गरेको बताइएको छ । अनुगमनका क्रममा रामेश्वर आधारभूत विद्यालय हल्दीवारी – ३ मा शिक्षक कर्मचारीको संख्या ७ र विद्यार्थी संख्या १४ जना मात्रै भेटियो – उपाध्यक्ष गिरीले भने–यो विद्यालयलाई धेरै पटक विद्यार्थी संख्या बढाउन भनेका थियांै, विद्यालयले २३ जना विद्यार्थी छन् भनेको थियो अनुगमन गर्दा १४ जनामात्रै भेटिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here