बेरुजु भत्ता ३२ जनप्रतिनिधिले फिर्ता गरे

0
715

गौरीगञ्ज।

गौरीगञ्ज गाउँपालिकाका ३२ जना जनप्रतिनिधिहरुले बैठक भत्ता र ऊर्जा समिति बैठक भत्ताको नाममा लिएको रकम फिर्ता गरेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा उनीहरुले बैठक भत्ता स्वरुप लिएको रकम मध्ये ९ लाख ३ हजार ४ सय रुपैयाँ बेरुजु भएको थियो । गाउँपालिकाको कार्यपालिका बैठकबाट गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले बैठक भत्ता लिने निर्णय गरेका थिए ।

तर प्रदेश सभाले गाउँपालिकाको जनप्रतिनिधिहरुको भत्ता र अन्य सेवासुविधा सम्बन्धि व्यवस्थाको निर्णयमा गाउँपालिकाले तोकेकोभन्दा कम तोकेर आएपछि उनीहरुको भत्ता रकम बेरुजु देखिएको थियो । उनीहरुले कार्यपालिका बैठक, वडा समिति बैठक र ऊर्जा समिति बैठक वापत लिएको रकम बेरुजु देखिएको हो ।

गाउँपालिकाको वार्ड नं. –१ का अध्यक्ष कार्तिकलाल राजवंशी, २ का अध्यक्ष अघनु राजवंशी, ३ का अध्यक्ष मखना महतो, ४ का अध्यक्ष कुलप्रसाद गिरी, ५ का अध्यक्ष विजयसिंह गनगाँई, ६ का अध्यक्ष बद्रीनारायण यादव, कार्यपालिका सदस्य रीता तामाङ, सरिता सेर्पा, लीलादेवी गनगाँई, राधा अधिकारी, भीमप्रसाद राजवंशी, जेठा मुर्मूलगायत वडा सदस्यसहित ३२ जनाको नाममा बेरुजु देखिएको थियो । गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित जम्मा ३४ जना जनप्रतिनिधि छन् तर गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दीपिन्द्र थापाको नाममा बेरुजु रकम देखिएको छैन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार शाक्यले कार्यपालिका बैठकबाट निर्णय गरिसके पछि प्रदेश सभाले जनप्रतिनिधिहरुको भत्ता र अन्य सेवा सुविधाबारे निर्णय गरेका कारण यस्तो समस्या आएको बताए । आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सभाबाट उनीहरुको सेवा सुविधा तोकेर आएको छ त्यसैले अब त्यस्तो समस्या आउँदैन अधिकृत शाक्यले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here