नेपाली पत्रकारितामा शुद्ध भाषाको प्रयोग र महत्व

0
1527

चिन्तामणि दाहाल,

पृष्ठभूमि :
भाषाको सही प्रयोगले मात्र सम्प्रेषणमा प्रभाव पार्छ । अशुद्ध शब्दको प्रयोगले अर्को अर्थ पनि लाग्न सक्ने भएकोले पत्रकारितामा मात्र होइन सबै क्षेत्रमा शुद्ध शब्दको प्रयोग जरुरी हुन्छ । त्यसमाथि पत्रकारितामा शुद्ध शब्दको प्रयोगको झन् बढी महत्व रहेको छ । महर्षि पतञ्जलीले दुई कुरामा जोड दिएका छन् । एक, शब्दको सम्यक ज्ञान र दुई, शब्दको सही प्रयोग ।

नेपाली पत्रकारिताले लामो समयदेखि भोग्दै आएको विकराल समस्या भनेको अधिकांश पत्रकारहरुले नेपाली भाषाका शब्दहरुलाई सही ढंगले प्रयोग गर्न नसक्नु हो । आजभन्दा ४० बर्ष अगाडि जुन समस्या थियो अहिले पनि त्यही छ । यसको कारण हो नेपाली भाषामा लेख्ने पत्रकारहरुले नेपाली भाषाको राम्रो अध्ययन गरेका छैनन् र गर्न अल्छी गर्छन् । पत्रकारलाई शब्दको सही प्रयोग गर्न भाषाको सही ज्ञान पनि आवश्यक छ । भाषाको सही र शुद्ध ज्ञानका लागि अध्ययन बाहेक अर्को विकल्प छैन ।

नेपाली भाषामा पत्रकारिता गर्ने सबै पत्रकारहरुले नेपाली भाषाको विशद अध्ययन गर्नु जरुरी हुन्छ । कुनै पनि भाषा आफ्नै बोलीले मात्र समृद्ध भएको हुँदैन । नेपाली भाषा पनि छैन । नेपाली भाषामा संस्कृत, फारसी, उर्दु, हिन्दी, मैथिली लगायत अन्य विविध जाति, जनजातिका भाषाको साथै अंग्रेजी भाषाको पनि प्रभाव परेको छ । त्यसैले भाषाको अध्ययन गर्दा झर्रो नेपाली हो वा तत्सम शब्द हो वा तत्भव शब्द हो भन्ने कुरा खुट्याउन सक्यो भने शब्दको सही अर्थ बुझिन्छ भने ज्ञान पनि प्राप्त हुन्छ ।

त्यसैगरी भाषा लेख्दा वाक्य गठनको महत्व छ । वाक्य गठनमा नाम, क्रियापद, विशेषण, विभक्ति आदिको ख्याल गर्नु जरुरी हुन्छ भने ह्रस्व, दीर्घको पनि महत्व हुन्छ । अर्थात् नेपाली व्याकरण र नेपाली शब्द कोषको पुस्तक हरेक पत्रकारको साथमा हुनुपर्छ ताकि उसलाई समस्या परेका बेला हेर्न सकोस् ।
एकजना भाषाका विद्वानको शब्द सापटी लिएर भन्छु । सही ढंगले भाषाको प्रयोग गर्ने प्रथम शर्त हो– ‘उपयुक्त शब्दलाई उपयुक्त स्थान । न घटी न बढी । भाषाको अध्ययन गर्दा गराउँदा सूत्र नरटाउनु, उदाहरण दिनु अहिलेको विश्वले यही भन्छ ।’

कसरी प्रयोग गर्ने ?

शब्दमा अद्भुत शक्ति हुन्छ । उदाहरणका लागि महात्मा गान्धीको एउटा वाक्य लिउँ । उनले भने– ‘आफ्नो मनबाट डर निकालिदेउ, संसारको कुनै शक्तिले तिमीलाई हराउन सक्तैन ।’

उनको यही वाक्य भारतका करोडौं भोकानाङ्गाहरुका लागि ब्रम्ह वाक्य भयो । उनीहरु ब्रिटिश शासनविरुद्ध सडकमा आए । भाषाशैलीले युक्त वाक्य प्रयोग ग¥यो भने त्यही भनाईबाट पुरस्कार पनि पाइन्छ भने गलत प्रयोगले भाषाकै कारण पिटाई पनि पाइन्छ ।

शुद्ध अशुद्धको कुरा : शुद्धि अशुद्धि

वेधशाला र वेदशाला, ज्योतिष र ज्योतिषी, माध्यमिक कि माद्यमिक, विद्यालय कि विध्यालय, धान्याचल र धान्याञ्चल, धुमपान कि धुम्रपान धुम्र भनेको ध्वाँसो, धुम भनेको धुँवा ।

जन्मोत्सव कि जन्मजयन्ती । सांसद सदस्य कि सांसद, भण्डारणस्थल कि भण्डार स्थल, पिपलमा जल चढायो भने शुभ हुन्छ भन्ने हिन्दुहरुमा प्रबल धारणा छ लेख्ने कि मान्यता वा विश्वास लेख्ने । यी शब्दहरु र यस्तै शब्दको प्रयोग सही ढंगले सही ठाउँमा गर्नुपर्छ र मात्र आफ्नो संप्रेषण प्रभावकारी हुन्छ ।

सत्य र तथ्यको कुरा :

सगरमाथा नेपालको उत्तरमा पर्छ भने चीनको दक्षिणमा पर्छ, दुबै सत्य हुन् । त्यस्तै नेपालको पूर्वी सीमाना मेची नदी हो भने भारतको पश्चिमी सीमाना मेची नदी हो । दुबै सत्य हुन् ।

स्थान विशेषले काम गरेको हो । तर, तथ्य एउटै हुन्छ त्यो हो सगरमाथा समुद्री सतहबाट ८ हजार ८ सय ४८ मिटर अग्लो छ भन्ने कुरा तथ्य हो । जहाँबाट हेरे पनि त्यही हो । त्यस्तै मेची नदी भारत नेपालको सीमान्त नदी हो भन्ने कुरा तथ्य हो ।

वाक्य गठन :

उहाँ धेरै असल मान्छे हुनुहुन्छ कि उनी असल मान्छे हुुनुहुन्छ । प्रहरी उपरीक्षक मैनालीका अनुसार भारतीय चोरहरुले झापाको सीमान्त क्षेत्रमा धेरै दुःख दिइरहेका छन् । कि धेरै दुःख दिइरहेको बताउनुभयो ।

लामो वाक्यभन्दा छोटा–छोटा वाक्य राम्रा मानिन्छन् । नेपाली भाषामा लीड लाइन सकेसम्म २० देखि २५ शब्दको भए राम्रो हो । तर, कुनै नाम बुझाउने कुरा लेख्दा त्यसको पूरा नाम र छोटो नाम पनि लेख्नुपर्नेमा बढी शब्द पनि हुन सक्छन् ।

ह्रस्व दीर्घका कुरा :

तिर र तीर, तिर एउटामा अर्को शब्दसँग जोडिन्छ जस्तो पर्तिर, वर्तिर, मास्तिर, खोला किनारलाई भनिने तीर हो । अर्को तिर्नु । ऋण तिर्नु । अर्कोतिर संस्कृत शब्द हो काणको तीर, फूल र फुल, नसा र नशा–नसा भनेको रगत बग्ने नसा । मात लाग्नुको नशा हुन्छ । पट्टी, पट्टि ।

ब्यान्डेज भनेको पट्टी हो, माथिपट्टि जानु भनेको ह्रस्व हुन्छ । यस कि यश, यश भनेको किर्ति । विनोदको यश अमेरिकासम्म फैलिएको छ । मादकपदार्थ, विष र लागूपदाथर्, सेवन हुँदैन । यहाँ खाएर शब्द राख्नुपर्छ । सेवन सकारात्मक कुराका लागि हो । विष पनि सेवन हुन्छ र ?

दाबीको प्रयोग :

आरोप र दाबी छुट्याउन सक्नुपर्छ । सुपारीको बोटको छहारी हुँदैन । मरेका मान्छेलाई समवेदना दिइँदैन । आत्माको चीर शान्तिको कामना गरिन्छ वा श्रद्धाञ्जली (लि) दिइन्छ ।

तर, २०६३ साल वैशाख ११ गते राजा ज्ञानेन्द्रको घोषणमा ‘जनआन्दोलनमा जीवन गुमाएकाप्रति समवेदना र घाइते उवम् आहत भएका सबैप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मुलुक दिगो शान्ति, प्रगति, पूर्ण प्रजातन्त्र र राष्ट्रिय एकतातर्फ अभिमुख हुने विश्वास प्रकट गर्दछौंं । भीडन्त लगभग बराबरीका बीचमा हुन्छ । साइकल र ट्रकको भीडन्त हुँदैन ।

लाभान्वितको कुरा :

केचना भद्रपुर सडक बनिसकेपछि यस क्षेत्रका लाखौ जनसंख्या लाभान्वित हुन्छन् । जनसंख्या होइन जनता लाभान्वित लेख्नुपर्छ । जनसँग संख्या जोडिएपछि त्यो निर्जीव हुन्छ । औचित्य हुन्छ औचित्यता हुँदैन, आतिथ्य हुन्छ आतिथ्यता हुँदैन, मनुष्यत्व हुन्छ मनुष्यत्वता हुँदैन गौरव, रौरव, सौरभ, शैशव, वैभव लेखिसकेपछि ता जोड्नु हुँदैन । गौरवता आदि ।

ड र ढ का गन्थन :

गाडी कि गाढी, गाडिएको कि गाढिएको । गाडा कि गाढा, बडी कि बढी, बड्ता कि बढ्ता, बडिआमा कि बढीआमा, सशस्त्र र शहस्त्र, शहस्र, शाकाहारी कि शाहाकारी, बेरोजगार र बेरोजगारी

सर्बनामको प्रयोग :

सधैंभरी नामलाई काँधमा हालेर हिंड्ने सर्बनामको प्रयोग पनि सही गर्नुपर्छ । माओवादीले भोलि नेपाल बन्दको आह्वान गरेको छ । उनीहरुका अनुसार प्रहरीले मुठभेडका नाममा सर्लाहीका इञ्चार्ज कुमार पौडेलको हत्या गरेकोले त्यसको विरोधमा बन्दको आयोजना गरिएको हो ।

माओवादी भनेपछि त्यसपछि आउने सर्बनामको प्रयोग गर्दा उसले भन्नुपर्छ । उनीहरुले भन्न मिल्दैन । समूहबाचक रुपमा एकबचनमा माओवादी शब्दको प्रयोग भएको छ । उनले टाउकाबाट टोपी झिके र त्यसमा पानी छर्के । यहाँ त्यसमा भनी प्रयोग गरिएको सर्बनामले कसलाई भनेको प्रष्ट भएन । टाउकोलाई हो कि टोपीलाई ।

अनुकरणात्मक शब्द

कुक्रुक्क परेको, थुचुक्क बसेको, खुत्रुक्क लडेको, भुक्क उठेको, गजधम्म बसेको, ढसमस्स बसेको, प्वाक्क हान्यो, फुत्त भाग्यो, लुत्त हिंडयो, धुमधुम्ती बसेको शब्द प्रयोग गर्दा सजिव चित्रण हुन्छ । यस्ता अनुकरणात्मक शब्द प्रयोग गरी वाक्य बनाउनु प्रभावकारी हुन्छ । आज यत्ति नै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here