विद्यालय मर्ज र समाधान

१६ श्रावण २०७६, बिहीबार मा प्रकाशित

झापाको हल्दीबारीका केही सामुदायिक विद्यालय एकीकृत हुने भएका छन् । विद्यार्थी संख्या प्रत्येक वर्ष घट्दै जाँदा त्यहाँका पाँचवटा आधारभूत विद्यालयहरु नजिकका अर्को विद्यालयमा विलय हुने र दुईवटा मावि त्यही कारणले आधारभूत अर्थात् कक्षा आठसम्म मात्र सञ्चालन हुने भएका हुन् । यस्ता समस्या बोकेका विद्यालय देशमा धेरै होलान् जसका कारण तिनलाई निरन्तर गर्न नसकिएला । विद्यार्थी किन घट्दै छन् त्यसको जवाफ र उपचार खोज्नुभन्दा बन्द गर्न सहज हुने कारणले पनि होला समायोजन, एकीकृत वा चल्तीको झापामा ‘मर्ज’ गर्न थालिएको हो ।

कुनै दिन जनसंख्या वृद्धिदर आजको अनुपातमा बढी थियो । त्यस्तै निजी विद्यालयहरु थिएनन् र विद्यार्थीको भार तिनै सामुदायिक विद्यालयहरुले बोक्ने गरेका थिए । आज परिस्थिति फरक छ, निजी विद्यालयहरु ग्रामीण क्षेत्रसम्म खुलेका छन्, सन्तान नियोजित छन्, अभिभावक जागरुक सचेत र कर्तव्याकर्तव्यको हेक्का राख्न सक्ने भएका छन् । त्यसैगरी मानसिकता बजार, शहर हुँदै राजधानीमुखी बन्दै गएको छ । जसकारण ग्रामीण क्षेत्र रित्ता हुन थालेका छ, रहेका जनशक्ति महिला, प्रौढ र वृद्धावस्थाका मात्र छन् ।

यतिबेला नेपालीको विश्वास सरकार र सरकारद्वारा व्यवस्थित र सञ्चालित संघ–संस्था वा संगठन प्रति टुट्दै गएको छ । त्यहीकारण निजी अर्थात् संस्थागत तर्फको रुची जनमानसमा बढ्दै छ र आशा र विश्वास पनि देखिएको छ । त्यहीकारण आधा पेट खाएर पनि सन्तानलाई गुणस्तरीय शिक्षा दिन अभिभावकहरु तयार छन् । यी यस्ता मसिना तर महत्वपूर्ण कारण हुन् जसले ग्रामीण क्षेत्र रित्तिँदै छन् । त्यहीकारण हुनसक्छ हल्दीबारी गाउँपालिकाभित्रका केही सामुदायिक विद्यालयलाई गाउँपालिकाले मर्ज गर्न लागेको ।

पञ्चायतकालमा बालबालिकालाई सहज होस् भन्ने उद्देश्यले गाउँमै विद्यालय खोलिए । पठन–पाठन पनि निर्विकल्प, गुणस्तरीय र प्रतिष्पर्धी थियो । तर, पछिल्लो समय ‘आफ्ना’ र ‘आफू अनुकूल’ का लाई रोजगार दिने नाममा शिक्षाको गुणस्तर खस्कँदै गएको टिप्पणी भइरहेको सन्दर्भले पनि ‘पाँत त्यसै हल्लिएन’ भन्ने ठाउँ प्रशस्त छन् । यस्तोमा शिक्षालाई व्यवसायमुखी, व्यवहारिक र जीवनउपयोगी बनाउन जरुरी छ । त्यसकै माध्यमबाट मात्र सामुदायिक विद्यालयको गिर्दो ‘साख’लाई रोक्न र त्यसप्रति समुदायको भरोसा कायम गर्न सकिन्छ । त्यसकारण पनि स्थानीय सरकार अभिभावक भएको सन्दर्भमा समस्याको पहिचान गरी समाधानका लागि निस्वार्थ र निष्प्रह ढंगले अघि बढ्नु पर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here