भन्सारबिनै ट्रक भित्र्याइएको प्रकरण कर्मचारी र सशस्त्रमाथि छानविन

0
533

भद्रपुर।

भन्सार बिनै नेपाल भित्र्याइएको भुइँकटहर (अनारश) लोड गरिएको ट्रक स्थानीयले नियन्त्रणमा लिएको समाचार बाहिरिएपछि ड्युटीमा खटिएका सशस्त्र प्रहरी र भन्सार कर्मचारीमाथि छानविन शुरु भएको बताइएको छ ।

भद्रपुर भन्सार कार्यालय अगाडि सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सई अमर विक नेतृत्वको सशस्त्र प्रहरी टोली र भन्सारका सहायक कर्मचारीद्वय कृष्णप्रसाद निरौला र रामबहादुर थापा मङ्गलवार बेलुका ८ बजे ड्युटीमा खटिएका थिए ।
सोही समयमा भारतको गलगलिया नाकाबाट मेची पुल हुँदै नेपाल भित्रिएको ना ५ ख ७३०७ नम्बरको ट्रकमा लोड गरिएको भुइँकटहर भद्रपुर भन्सार अगाडिबाट सोझै बसपार्कतर्फ लान लागेको अवस्थामा स्थानीय युवाहरुले ट्रक नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरलाई बुझाएका थिए ।

यस बिषयमा पूर्वाञ्चल दैनिकमा समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले ड्युटीमा रहेका सई अमर बिकसहितको टोलीमाथि छानविन शुरु गरेको बताइएको छ ।

ड्युटीमा खटिएका बेला भन्सारबिना ट्रक भित्रिएको बिषयलाई लिएर उनीहरुमाथि छानविन थालिएको हो । गणका डिएसपी तोर्णबिक्रम शाहले सई विकसहितको टोलीमाथि छानविनसहितको अनुसन्धान शुरु गरेको हो ।

त्यस्तै गणका एसपी रेशमकुमार थाक्सूले पनि ड्युटीमा खटिएका कर्मचारी माथि अनुसन्धान भइरहेको बताए । ‘भन्सार नजिकै यस्तो घटना भएकाले यस बिषयमा डिएसपीलाई घटनाको यथार्थ बुझ्न जिम्मेबारी दिइसकेका छौं’– उनले भने । त्यसैगरी भन्सारका कर्मचारीद्वय निरौला र थापामाथि पनि छानविन हुने भन्सार कार्यालयका निमित्त प्रमुख शक्ति जोशी राईले जानकारी दिए ।

‘भन्सार कार्यालय भद्रपुरका प्रमुख विभागको कामले काठमाडौं गएको हुँदा आउने बित्तिकै घटनाको बिषयमा छानविन हुन्छ’– उनले भने– ‘कारबाही गर्ने अधिकार कार्यालय प्रमुखको मात्र रहेकोले यस बिषयमा उहाँलाई जानकारी गराउने छांै’ । नियन्त्रणमा लिएको ट्रकमा रहेको भुइँकटहर जेआर फ्रुट्स भद्रपुरले बिर्तामोडको प्रिन्स फ्रुट सेन्टरलाई बिक्री गरेको बिलमा उल्लेख रहेको जनाइएको छ । बिषादी परीक्षण बिनै सो ट्रक भारतको गलगलिया नाका हुँदै भद्रपुर भित्र्याइएको थियो ।

धरौटीमा छुटे चालक

भुइँकटहर लोड गरिएको ट्रकसहित चालक अर्जुनधारा –५ बस्ने डिल्लीराम भट्टराईलाई वडा प्रहरी कार्यालय भद्रपुरले बुधवार दिउँसो आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाएको थियो ।

ट्रकमा लोड गरिएको ४ हजार २ सय वटा भुइँकटहरलाई ४२ हजार र ट्रकलाई ४ लाख गरी जम्मा ४ लाख ४२ हजार मूल्याङ्कन तोकेर भन्सार बुझाएको प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । सोही बमोजिम भन्सार कार्यालयले चालक भट्टराईलाई ५० हजार धरौटी राखेर रिहा गरेको भन्सारका नायव सुब्बा रेवती गिरीले जानकारी दिए ।

नासु गिरीले भने –भुइँकटहर ४२ हजार ३ सय रुपैयाँमा लिलाम गरेको र सामान बराबरको ४२ हजार ३ सय समेत चालकबाट धरौटी लियौं । यसअघि पनि भन्सार अगाडि खटिएका कर्मचारीले भन्सार नतिराई सरसामान पठाउने गरेको थाहा पाएपछि प्रहरीले कर्मचारीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरी स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here