लाइसेन्सको ट्रायल परीक्षामा झापाका सीडीओ नै फेल

0
1126

बिर्तामोड।

सवारी चालक अनुमति पत्रका लागि दिइने परीक्षामा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल अनुत्तीर्ण भएका छन् ।

यातायात व्यवस्था कार्यालय १ नम्वर प्रदेश मेचीबाट बी वर्ग (कार,जीप, डेलिभरी भेन)को सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि परीक्षामा सहभागी भएका प्रजिअ दाहाल अनुत्तीर्ण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए । उनले भने – ‘प्रजिअ साबले लिखित परीक्षा पास गरेपनि ट्रायल पास गर्न सक्नु भएन, उहाँ ‘एट’मा नै फेल हुनुभयो ।’

आफैं गाडी चलाएर ट्रायल सेन्टर पुगेका प्रजिअ दाहाललाई फेल भएपनि ठूलावडा सेटिङमा पास भइहाल्छन् नि भन्ने परीक्षामा सहभागी धेरैले अड्कल काटेका थिए । तर, सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लिइने ट्रायलमा उनी फेल भएपछि उनको प्रवेश पत्र ट्राफिक प्रहरीले च्यातेका थिए । यसले ठूलावडा सेटिङमा पास भइहाल्छन् भन्ने सबैको अडकल गलत सावित भयो ।

प्रजिअ दाहालले ट्रायलमा अनुत्तीर्ण भएपनि १५ दिनपछि पुनः ट्रायल परीक्षामा सहभागी हुने बताएका छन् । उनले भने – ‘प्रमुख जिल्ला अधिकारीलाई कसले, कसरी फेल बनाउँदा रहेछन् भन्ने धेरै थिए, मैले एट नै कटाउन सकिँन । यहाँ फेल भएका मानिसले लाइसेन्स पाउँछन् भन्ने धेरैको गुनासो आएपछि मै परीक्षार्थी बनेर आएको हुँ, फेल भएँ फेरि परीक्षा दिन आउँछु’– प्रजिअ दहालले भने ।

पछिल्लो समय सवारी चालक अनुमति पत्रको परीक्षामा अनियमितता हुने गरेको र सेटिङमा लाइसेन्स वितरण गर्ने गरेको देशभर नै गुनासो आइरहने भएकाले मैले पनि सुटुक्कै लाइसेन्सका लागि फारम भरेर परीक्षा दिन यहाँ आएको हुँ –प्रजिअ दाहालले भने –‘परीक्षा परीक्षा जस्तै हुनु पर्छ, झापामा ट्रायल दिँदा कुनै समस्या नआओस् भनेर म यहाँ आएको हुँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here