वृद्धाश्रममा अनन्त सहकारीको सभा

0
592

बिर्तामोड।

सहकारी संस्थाहरुले आफ्नो बार्षिक साधारणसभा, सम्मेलन, गोष्ठी, अधिवेशन, सेमीनार लगायतका कार्यक्रम ठूला तारे होटलहरुमा बढो तामझामका साथ गर्छन् । तर, झापाको एक सहकारीले भने स्थापनाकालदेखि नै आफ्नो बार्षिक साधारणसभा तथा अधिवेशन र सम्मेलन वृद्धाश्रममा गर्दै आएको छ ।

झापाको बिर्तामोड–४ मा रहेको अनन्त बचत तथा ऋण सहकारी संस्थाले स्थापनाकालदेखि नै आफ्नो बार्षिक साधारणसभा, अधिवेशन तथा सम्मेलन वृद्धाश्रममा गर्दै आएको हो । बिर्तामोड–४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा संस्थाले स्थापनाकालदेखि नै आफ्नो बार्षिक साधारणसभा, अधिवेशन तथा सम्मेलन गर्दै आएको अनन्त बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोकुलप्रसाद अधिकारीले बताए ।

२०७२ सालमा स्थापना भएको सहकारी संस्थाले वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई एकदिन भए पनि खुशी राख्न तथा परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रमलाई शेयर सदस्य माझ परिचित गराएर वृद्धवद्धाहरुका लागी सहयोग जुटाउने उद्देश्यले संस्थाले स्थापनाकालदेखि नै आफ्नो बार्षिक साधारणसभा, अधिवेशन तथा सम्मेलन वृद्धाश्रममा गर्दै आएको उनले बताए ।

होटलहरुमा साधारणसभा गर्दा हुने खर्च वृद्धवृद्धाहरुको सेवाका लागि उपयोग गर्दा पुण्य प्राप्त हुने भएकाले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्य गरेको उनले बताए ।

यसैबीच संस्थाको चौथो बार्षिक साधारणसभा, दोश्रो अधिवेशन तथा पाँचौ सम्मेलन शनिबार सम्पन्न भएको छ । बिर्तामोड–४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा संस्थाको चौथो बार्षिक साधारणसभा, दोश्रो अधिवेशन तथा पाँचौ सम्मेलन भएको हो । कार्यक्रममा वृद्धाश्रममा रहेका २७ जना वृद्धवृद्धा र पाँच जना कर्मचारीलाई खाजा खुवाउनुका साथै नगद समेत प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष गोकुलप्रसाद अधिकारीको अध्यक्षता तथा बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी सचिव रविना संग्रौलाले स्वागत गरेकी थिइन् । कार्यक्रममा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल, राष्ट्रिय सहकारी बंैककी प्रवन्धक मुना घिमिरे, परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डा. रुपक खनाल, मातृभाग्य रेखा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालले संस्थाले गरेको कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रममा शेयर सदस्यका छोराछोरी मध्ये एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने समिर पराजुली, तुलसी बस्नेत, स्वेच्छा बुढाथोकी, निकेश श्रेष्ठ, वरिष्ठ शेयर सदस्य इश्वरीप्रसाद तिम्सिना, बयोवृद्ध बचतकर्ता राधिकादेवी थपलिया, उत्कृष्ट बचतकर्ता राकेश कुण्डु, रामेश्वर सोनी, असल ऋणी दुर्गादेवी कार्की, रोशन घिमिरेलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक होमप्रकाश अधिकारीले लेखा समितिको प्रतिवेदन, ऋण उपसमिति संयोजक रामप्रसाद दहालले ऋण उपसमितिको प्रतिवेदन र शिक्षा उपसमिति संयोजक केशवप्रसाद अधिकारीले शिक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदन अनुसार संस्थाको शेयर सदस्य आठ सय ६६ जना, कूल चुक्ता शेयर पूँजी ६३ लाख, आठ हजार नौ सय रुपैयाँ, कूल बचत एक करोड ३० लाख ३७ हजार सात सय ३८ रुपैयाँ ६५ पैसा, कूल ऋण लगानी एक करोड ६७ लाख ८३ हजार तीन सय ६६ रुपैयाँ ७१ पैसा रहेको छ ।

यसैबीच संस्थाको चौथो बार्षिक साधारणसभा, दोश्रो अधिवेशन तथा पाँचौ सम्मेलनले पुनः गोकुलप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष रविना संग्रौला थपलिया, सचिव नेत्रप्रसाद सापकोटा, सहसचिव केशवप्रसाद अधिकारी, कोषाध्यक्ष जयनारायण यादव रहेका छन् । त्यस्तै सदस्यहरुमा लीलाबहादुर बुढाथोकी, मालादेवी सापकोटा, रामप्रसाद दाहाल, डिकुरा न्यौपाने, सजना बुढाथोकी, यामबहादुर दाहाल रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा होमप्रकाश अधिकारी रहेका छन् भने सदस्यहरुमा पवित्रा बस्नेत र नवराज बराल रहेका छन् ।

त्यसैगरी इश्वरीप्रसाद तिम्सिना सल्लाहकार समिति संयोजक रहेका छन् भने सदस्यहरुमा वीरेन्द्र बुढाथोकी र प्रेम प्रसाई रहेका छन् । कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव नेत्रप्रसाद सापकोटाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here