पूर्णबहादुर कटुवाल,
कुनै व्यक्ति, वस्तु वा विषयसँग सम्बन्धित जानकारी, तथ्य वा विवरण, विचार आदि सूचना हुन् भने सञ्चार भनेको सूचना लिने र पठाउने माध्यम हो । हरेक सामाजिक गतिविधि र कार्यका लागि सूचना महत्वपूर्ण हुन्छ । कुनै पनि व्यक्ति वा संस्थाको कार्यक्षमता र कार्यदक्षता वृद्धि गर्ने महत्वपूर्ण साधन सूचना हो ।
पर्याप्त सूचनाको माध्यमले मात्र कुनै पनि क्षेत्रमा ठोस कार्य सञ्चालन गर्न सकिन्छ । सूचना बिना कुनै पनि कार्य अगाडि बढाउन सकिँदैन । योजना निर्माण, कार्यान्वयन, अनुगमन र मूल्यांकन जस्ता कामको मुख्य आधार नै सूचना हो । कुनै एक व्यक्ति वा समूहबाट अर्को व्यक्ति वा समूहमा सूचना, विचार वा धारणा प्रसार गर्ने कलालाई अव शिक्षासँग जोडिनु अत्यन्त आवश्यक छ ।
शैक्षिक क्षेत्रमा प्रयोग हुने सूचना तथा सञ्चारका कार्यलाई सूचना तथा सञ्चारलाई शिक्षाका रुपमा ग्रहण गर्दै शैक्षिक गतिविधिलाई अगाडि बढाउन समयको आवश्यकता सावित भइसकेको छ । शिक्षामा सूचना तथा सञ्चारको महत्वपूर्ण भूमिका रहन्छ । शिक्षा दिने र लिने कार्यमा सिकाउने र सिक्ने गरिन्छ । यसमा शिक्षकले विद्यार्थीलाई दिइने जानकारी वा सूचना वा कूनै प्रकारको सरसल्लाह र विषयवस्तु सन्देश हुन् । त्यसैले सञ्चारको माध्यममा प्रभावकारिताको आवश्यकता पर्छ । दृश्य माध्यम अन्तर्गत शब्द, नक्सा, पोष्टर, श्रव्य माध्यम अन्तरगत रेडियो मौखिक शब्द, टेलिफोन श्रव्य दृश्य अन्तर्गत भिडियो, सिनेमा, वृत्तचित्र र मुद्रा हाउभाउ अन्तर्गत इसारा, मुस्कान, हाउभाउ, कटाक्ष आदिल सूचना तथा सञ्चारका माध्यम हुन जुन माध्यमलाई शिक्षण सिकाइमा प्रयोग गर्न सकिन्छ ।
विचार विनीमय भएर मात्र सञ्चार नहुन सक्छ । सञ्चार हुनका लागि दोहोरो, वास्तविक सञ्चार र पूर्ण सञ्चार भएको हुनुपर्छ । सञ्चारमा सूचना वा जानकारीको प्रतिक्रिया दिने वा पृष्ठपोषण समेत दिने कार्य हुनुपर्छ । पठाएको सन्देश बुझेन भने पनि त्यहाँ प्रभावकारी सञ्चार हुँदैन सूचना पाटीमा सूचना टाँस गर्दैमा, पत्राचार गर्दैमा त्यहाँ सञ्चार भयो भन्न सकिन्न । सञ्चार पद्धतिमा सञ्चार पठाउने र सञ्चार ग्रहण गरी प्रतिक्रिया व्यक्त हुनपर्छ । त्यसैले शिक्षामा आवश्यक पर्ने विभिन्न प्रकारका सूचनाहरु सही सञ्चारमाध्यमबाट प्राप्त गर्ने प्रक्रियालाई सूचना तथा सञ्चार शिक्षा भनिन्छ ।
विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको विकास र आधुनिकीकरण प्रमुख पक्ष हो । सूचना तथा सञ्चार शिक्षामा यस सम्बन्धी विषयवस्तुको जानकारीको साथै तिनको समुचित प्रयोग हुन आवश्यक छ । सूचना तथा सञ्चार सम्बन्धी पाठ्यक्रम पाठ्यपुस्तक राखेर त्यस सम्बन्धी शिक्षा दिने कार्य एउटा तरिका हुनसक्छ भने सूचना तथा सञ्चार प्रविधिको उपयोगका माध्यमबाट गर्न सकिने अन्य विभिन्न विषयका जानकारी लिने तरिका प्रविधि सम्बन्धी जनाकारी पनि सूचना तथा सञ्चारका शिक्षाका रुपमा पर्दछन् ।
सूचना तथा सञ्चार शिक्षाको क्षेत्रमा प्रयोग हुने विभिन्न उपकरण मध्ये कम्प्युटर नवीनतम् र सबैभन्दा प्रभावकारी साधन सावित भएको छ । सूचना तथा सञ्चार प्रविधिले पुस्तक, पत्रपत्रिका, रेडियो, टेलिभिजन, टेलिफोन, कम्प्युटर, इमेल, इन्टरनेट जस्ता श्रव्यदृश्यका सामग्रीहरुलाई बढी महत्व दिन्छन् । सूचनाको संकलन, विश्लेषण, सञ्चय, प्रसारण, प्रयोग र यसका लागि प्रयोग हने विद्युतीय उपकरणको प्रयोगको सम्बन्धी अध्ययनलाई सूचना प्रविधि भन्ने गरिन्छ । सूचना तथा सञ्चार प्रविधि, कम्प्युटर प्रविधि र सूचना तथा सञ्चारका अन्य प्रविधिहरुको समष्टीगत रुप हो । सूचना तथा सञ्चार प्रविधिमा कम्प्युटरको सहायताले गरिने सूचनाको पहुँच, संकलन संगठन र आदान–प्रदान गर्ने प्रक्रिया समावेश हुन्छ ।
यसबाट विश्वभरका विभिन्न ज्ञानमूलक सूचनाहरु प्राप्त गर्न, आदानप्रदान गर्न सकिन्छ । कम्प्युटर र इन्टरनेटको सहायताले सभा सम्मेलन सञ्चालन गर्न थालिएको छ । यस्तै कक्षाकोठामा विकल्पकारुपमा यसलाई प्रयोग गर्न थालिएको छ । अहिले सूचना प्रविधि इ–कमर्स, इ–गभर्नन्यान्स, इ–लाइव्रेरी, इ–इजुकेशन, इ–बुक आदिको व्यापकरुपमा प्रयोग हुन थालेको छ । त्यसैले हाम्रो शैक्षिक प्रक्रियामा सूचना तथा सञ्चार शिक्षाको महत्वपूर्ण स्थान सावित भइसकेको छ ।
सूचना र सञ्चारको माध्यमले संसारमा घटेका घटना क्षणभरमै विश्वमा फैलिन्छन् । संसारको कुनै पनि कुनामा भएको नयाँ खोज, अनुसन्धान, नयाँ सिद्धान्त, दृष्टिकोण र दर्शनको प्रभाव विश्वभरी पर्ने गरेको छ । यसको विकासले विश्वलाई साँघुर्याउँदै लगेर एउटा भूमण्डलीय गाउँका रुपमा विकास गरेको छ सूचना तथा सञ्चारले । विश्व दिनहुँ परिवर्तनशील बन्दै गएको छ । पलपलमा नयाँ–नयाँ विचार, प्रविधि र सिद्धान्तको जन्म र विकास भइरहेको छ । यसरी परिवर्तनशील विश्वमा समयसँगै आउने परिवर्तनलाई जुन व्यक्ति, समाज र देशले आत्मसात गर्न सक्छ र समयसँगै चल्दछ, उसले मात्र प्रतिष्पर्धामा सफलता हाँसिल गर्छ । आजको युग विज्ञान र प्रविधिको युग हो । एक्काइसौं शताब्दीको आगमनसँगै मानव सभ्यता सूचना तथा सञ्चारको प्रवाहको युगमा प्रवेश गरिसकेको छ । सूचना तथा सञ्चार प्रविधिले विधि र प्रविधि आदानप्रदान गर्ने, जम्मा र सञ्चय गर्ने, उत्पादन र प्रयोग गर्ने र ज्ञान तथा सूचनाको प्रवाह गर्ने कार्यमा महत्पूर्ण भूमिका खेलेको छ ।
विश्वमै आज सूचना तथा सञ्चार प्रविधि शिक्षाको विस्तार गर्ने साधनका रुपमा प्रमाणित भइसकेको छ । सूचना तथा सञ्चार शिक्षाले विद्यालयमा प्रशासनिक कार्यमा सूचना प्रवाह गर्ने सामग्रीका रुपमा, विभिन्न विषय पढाउने माध्यम वा सामग्रीको रुपमा र पाठ्यक्रममा समाविष्ट छुट्टै विषयका रुपमा मद्दत पुर्याउँदै आएको छ । त्यसैले यसले विद्यार्थीको सिकाईलाई रुचीपूर्ण, समस्या समाधानमुखी, सक्रिय र अन्तरक्रियात्मक बनाउन, आधुनिक विश्वस्तरीय सूचना तथा सञ्चारको प्रविधिको सञ्जालमा सहभागी, प्रविधिको प्रयोग गरेर शैक्षिक उपलब्धिमा सुधार गर्ने, कक्षाकोठाभित्रको परम्परागत संरचना र पठनपाठन ढाँचामा परिवर्तन ल्याई आधुनिक शिक्षण प्रविधिको प्रयोग गर्ने, कक्षाकोठाहरुमा अनुसन्धान, मल्टिमिडिया, अनलाइन पाठ्याक्रम, डिजिटल पुस्तकालय र दूर कोर्षहरु सञ्चालन गर्ने, सूचना प्रविधिलाई ग्रामीण स्तरसम्म विस्तार गरी रोजगारीको अवसर प्रदान गर्ने आर्थिक अवसरको वृद्धि गर्ने ज्ञानमा आधारित समुदाय र उद्योगधन्दाको विकास गर्ने जस्ता कार्यमा सूचना तथा सञ्चारको भूमिका महत्पूूर्ण हुन्छ ।
शिक्षण सिकाईमा सूचना तथा सञ्चारलाई मुख्यरुपमा प्रयोग गराइनु अब समयको आवश्यकता मात्र होइन अनिवार्य शर्त भइसकेको छ । सिकाइको आधुनिक युगमा एउटा असल शिक्षकले प्रभावकारी सञ्चारको भूमिका निर्वाह गर्न सक्नुपर्छ । शिक्षण शिक्षक विद्यार्थी, प्रधानाध्यापक र शिक्षक शिक्षक र सुपपरिवेक्षकबीचको सञ्चार अत्यन्त महत्पूर्ण हुन्छ । यदि पठनपाठन कार्य सञ्चालन गर्दा विषयवस्तु अनुकूलको शिक्षण विधि र शैक्षिक सामग्रीको चयन हुन सकेन भने शिक्षकले दिन खोजेको कुरा विद्यार्थीसम्म राम्ररी पुग्न सक्दैन । त्यस्तै शिक्षकलाई शैक्षणिक कार्यमा प्रभावकारिता ल्याउन जुनसुकै प्रकारको तालिम सञ्चालन गरे पनि उसले प्रभावकारी सञ्चार प्रक्रिया अवलम्वन गरे मात्र अपेक्षित उद्देश्य पूरा हुन सक्छ ।
परम्परागत शिक्षण विधिको सट्टामा नवीनतम् प्रवर्तनात्मक विधिहरुको प्रयोग, सिकारुहरुको सिकाइलाई सहजीकरण गरी मनोरञ्जनात्मक वातावरणमा सहज र सुलभ सिकाइ गर्न, सिकाइलाई अर्थपूर्णरुपमा उपयोग गरी गुणस्तरीय जीवन यापनमा टेवा पुर्याउन शिक्षण सिकाइ क्रियाकलापको उपयोग अपरिहार्य छ । तथापि आर्थिक तथा भौतिक पूर्वाधारको दृष्टिकोणले पछि परेको हाम्रो जस्तो विकासशील देशमा सबै विद्यालय तथा कक्षा कोठाहरुमा आइसीटीको सहज पहुँच पुर्याउन कठिनाई भइरहेको छ ।
खासगरी पाठ्यक्रमहरुमा सूचना प्रविधि सम्बन्धी विषयवस्तुहरुको संयोजनमा एकरुपता नहुनु, सूचना प्रविधि सम्बन्धी दक्ष मानवीय स्रोतको कमी हुन, आइसीटी युक्त वातावरण सिर्जना गर्नको लागि पूर्वाधारको विकास हुन नसक्नु, हाम्रा चुनौति हुन् । सरकारको महत्पूर्ण दायित्व हो । हामीसामु देखिएका चुनौतिको सामना गर्न आइसीटिको प्रयोगवाट हुने फाइदा र यसको उपदेयताका वारेमा नीतिगत तहदेखि कार्यान्वयनगर्ने र प्रयोग कर्ता सम्म पहुँच पुर्याउन सम्बन्धित सरोकारवालाको तदारुकता भए हरेक कुरा सम्भव छन् ।