राहत सामग्रीमा अनियमितता गरेको भन्दै उजुरी

0
578

ओखलढुङ्गा,

जिल्ला समन्वय समिति ओखलढुङ्गाविरुद्ध प्रदेशसभा सदस्य मोहनकुमार खड्काले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको छ ।

प्रदेश नं १ का अर्थ समितिका सभापतिसमेत रहनुभएका प्रदेशसभा सदस्य खड्काले ओखलढुङ्गा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठविरुद्ध राहत सामग्रीमा अनियमितता गरेको भन्दै उजुरी दिनुभएको हो । सांसद खड्का नेकपा ओखलढुङ्गाका अध्यक्ष पनि हुनुहुन्छ ।

भूकम्पपीडितलाई वितरण गरेर बाँकी रहेको करोडौँ मूल्यको राहत सामग्री जिससले मनपरी ढङ्गले वितरण गरेर दुरुपयोग गरेकाले छानबिन गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको खड्काले बताउनुभयो । जिसस प्रमुख श्रेष्ठले आफू आबद्ध दल नेपाली काङ्ग्रेसले जितेका स्थानीय तह र निकटका व्यक्तिलाई मात्रै करोडौँको राहत सामग्री आफूखुशी वितरण गरेको भन्दै छानबिनका लागि उजुरी गरेको नेकपा ओखलढुङ्गाले जनाएको छ ।

उजुरीमा जिल्लाको विभिन्न ठाँउमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढङ्गले बाँडिएको विषयमा छानबिन गरी दोषीउपर कारवाहीको माग गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय परिसरमा भण्डारण गरिएको हजारौँ थान जाली र करीब ४० टनभन्दा बढी जाली बुन्न बाँकी तार अपारदर्शी ढङगले समितिले बाँडेको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

यस विषयमा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठले यो विषय ठूलो भएकाले छोटोमा भनेर नसकिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here