सीमा व्यवस्थित गर

0
637

नमच्चिने पीङको सय झड्का– यो उखान जहिल्यै सान्दर्भिक छ । हाम्रा पुर्खाहरुले व्यवहारको आधारमा यस्ता उखान बनाए जो अलग–अलग विषय र अवस्थामा जहिल्यै प्रमाणित हुने गरेका छन् । आज पनि हामी जीवन र जगतका सम्पूर्ण विषयमा अभ्यास नै गरिरहेका छौं । इतिहासदेखि आज पर्यन्त जति परिवर्तन भए ती सबैलाई अभ्यास कै रुपमा लिएका छौं । यसबीचमा भएका राजनीतिक परिवर्तन र त्यसले लिएको बाटो पनि अभ्यास कै रुपमा चलेको छ ।

आफूमा भरपर्ने जीवन पद्धति नबनेसम्म स्वतन्त्र र स्वाधीन हुन सकिँदैन । हामी भने प्रत्येक वर्ष, प्रत्येक दिन र क्षण परनिर्भरताको भारी थप्दैछौं । भएको कृषि वस्तुको आत्मनिर्भरता पनि विदेशी चमक–दमकले ओझेलमा परेपछि आफ्नो भन्ने हामीसँग केही छैन । यस्तोमा राष्ट्रको समृद्धिका लागि भन्दै सरकारले निर्माण गरेको नीति तथा नियम कानून समेत स्वयम्का लागि प्रत्युत्पादक बन्ने गरेको छ । अर्थतन्त्रको सवलताले राष्ट्रको समृद्धि हुने भएकाले त्यसतर्फ राज्य सञ्चालक उन्मुख छन् तर त्यसको प्रभाव, असर वा परिणामका बारेमा कुनै अध्ययन वा विश्लेषण भएको छैन ।

उहिल्यै भीमसेन थापाले स्थापना गरेको भन्सारले आयातित वस्तुमा कर लगाउँछ । यसरी संकलित कर राज्यको ढिकुटीमा जम्मा हुन्छ । त्यही कोष विकास निर्माण लगायत जनताको जीवन परिवर्तन र सुधारका लागि खर्च गरिन्छ । त्यही कार्यालय सीमानाकामा स्थापित छन्, जसलाई व्यवस्थित गर्न प्रहरीहरु कार्यरत छन् । आयातित वस्तुको गुणस्तर, मात्रा र वैधताको परीक्षण गर्न प्रविधिको प्रयोग गर्नुपर्छ । त्यस्तो प्रविधि विविध उपभोग्य वस्तुका लागि फरक–फरक हुन्छन् । त्यसको सुप्रबन्ध, सुप्रयोग र सुसञ्चालनले सम्बद्ध कार्यालयको क्षमता र औचित्य बढाउँछ ।

पूर्वी नेपालको सीमामा रहेको मेची भन्सार कार्यालयले राष्ट्रको आम्दानीमा विशेष भूमिका निर्वाह गर्छ । त्यसको सेवा विस्तारका लागि एक्स–रे मेसिन पनि जोडियो । तर, सञ्चालन भएको केही समयपछि बिग्रिएको मेसिन महिनौं बित्दा पनि बनिएको छैन । एकीकृत सुरक्षा चेकजाँच प्रणालीका नाममा जडान गरिएको अत्याधुनिक मेसिन नबनिँदा चेकजाँच आँखाले गर्नुपर्ने बाध्यता छ । यात्रुहरुले ल्याएका सामानहरु समेत सोही मेसिन भएर जाँचिने हुँदा सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रणाली दुरुस्त बनाउनुपर्छ । त्यसका लागि क्षमता अभिवृद्धि गर्दै प्रविधिको विकाससँगै आत्मनिर्भरताका लागि राज्यले अग्रसरता देखाउनु पर्दछ । अन्यथा पिङ मच्चिँदैन मात्र झड्का हान्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here