संघीयता कार्यान्वयन गर्न टोलको जग बलियो बनाउनुपर्नेमा जोड

0
637

बिर्तामोड।

सरकारको तल्लो इकाइको रुपमा रहेको टोल विकास संस्था मार्फत आफ्ना टोललाई कसरी समृद्ध बनाउने भन्ने विषयको बहस र अभियान शुरु भएको छ ।

तर, टोल विकास संस्थाको विधान तथा स्थायित्वबारे नै द्विविधा उत्पन्न भएको बिर्तामोड–३ स्थित समृद्धि टोल विकास संस्थाका पदाधिकारीले बताएका छन् । नगरपालिकाबाट दिएको विधानको खाकाभन्दा केही परिवर्तन नगरी विधान तयार गर्नुपर्ने भन्ने विषय जबरजस्ती थोपरिएको जस्तो भएको र टोलको सम्पत्ति समेत असुरक्षित हुने उनीहरुले गुनासो पोखेका छन् ।

यद्यपि उनीहरुले साझा बुझाइ निर्माण गर्दै वडा र नगरपालिकासँग निरन्तर समन्वय, सहकार्य गर्दै अघि बढ्ने बताएका छन् । आज सोमबार बिर्तामोडमा भएको छलफलमा सहभागी उक्त टोलका प्रतिनिधिले साझा  बुझाई निर्माण गरी टोलका समस्या पहिचान गर्ने, प्राथमिकताका आधारमा समस्यालाई समाधान गर्ने, टोलका विकृति, विसंगति नियन्त्रणमा अग्रसर हुने बताएका छन् ।

त्यस्तै आपसी एकता, सद्भाव कायम राख्दै टोलका समस्या संवादका माध्यमबाट हल गर्दै जाने उनीहरुले बताएका छन् । टोललाई व्यवस्थित योजनासहितको दिगो विकासमा अगाडि बढाउँदै नमूना र समृद्ध बनाउने प्रतिबद्धता समेत उनीहरुले व्यक्त गरेका छन् ।

टोलको विकासमा बालबालिका, महिला, ज्येष्ठ नागरिक, युवा, सबै वर्ग, जाति, धर्म, लिङ्ग सम्प्रदायका नागरिकलाई समावेशी सिद्धान्तका आधारमा समावेश गराउने समेत उनीहरुले बताएका छन् । टोलबासीका  चेतना स्तर वृद्धि गर्न विज्ञहरुको सहजीकरणमा विभिन्न कार्य गर्ने समेत उनीहरुले बताए । समृद्धि टोलका अध्यक्ष लीलाप्रसाद पाण्डे, सल्लाहकार संयोजक तथा अग्रज मानव अधिकारकर्मी विष्णुप्रसाद खरेलले टोलले भोगेका समस्या र समाधानका विकल्पबारे विस्तृत रुपमा धारणा राखेका थिए ।

त्यस्तै कृष्णप्रसाद निरौला, खगेन्द्र ओली, दुर्गा सिलवाल, प्रकाश भट्टराई, प्रदिप पौडेल, विष्णुप्रसाद दुलाल, तिलक पौडेल, कृष्णप्रसाद संग्रौला, गंगाप्रसाद आचार्य लगायतले समेत संघीयता कार्यान्वयनका लागि सरकारको तल्लो निकाय टोल विकास संस्थाको जगलाई बलियो बनाउनुपर्नेमा जोड दिए । छलफलको संयोजन संवाद समूहले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here