झापामा चिया क्षेत्र बचाऔं अभियान

0
551

पार्थ मण्डल / भद्रपुर।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले चिया क्षेत्र बचाऔँ अभियानलाई सफल बनाउन सरकारसँग अन्य विकल्प नरहेको बताएका छन् ।

झापा तथा इलामको अवलोकन भ्रमणका लागि आएका कृषि तथा पशुपंक्षी विकास मन्त्री खनालसँग टे«ड युनियन, साना किसान र चिया उद्योगीहरूले सोमबार भद्रपुरमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

चिया क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने विषयमा कुनै विमति छैन भन्दै मन्त्री खनालले सरकार यस विषयमा लागी परेको बताए । ‘पूर्वबाटै बढी निर्यात हुने कृषिजन्य वस्तुमध्ये चिया पनि पर्छ – मन्त्री खनालले भने– ‘देशभरबाटै १५ अर्व बराबरको वस्तु निर्यात हुन्छ, त्यसमध्ये पूर्वबाट मात्रै झन्डै १३ अर्व कृषिजन्य वस्तु निर्यात हुने गरेको छ ।’

मजदुर, उद्योग र बजारीकरण गरी चियाको तीन क्षेत्रमा देखिएका समस्याको विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले भने– ‘चिया क्षेत्रलाई जोगाउन सरकारले छ्टिटै योजना बनाएर समस्याको समाधान गर्नेछ ।’ अहिले चिया खेतीका लागि मल अभाव भएको गुनासो आइरहेको छ, यसको समाधान गर्न आफू लागी परेको बताउँदै उनले भने –‘१५ हजार क्विन्टल मल चिया क्षेत्रलाई पठाउने सकिए यसको पनि समाधान गर्न सकिन्छ ।’

अहिले पूर्वमा कृषिजन्य क्षेत्रका पुराना संरचना धरासायी भइसकेको अवस्था छ । वि.सं. २०१३ सालदेखि १६ सालसम्म बनेका त्यस्ता कृषिजन्य क्षेत्रका संरचना पुनः सञ्चालनमा ल्याउन सरकार लागीपरेको बताउँदै उनले भने– ‘केही संरचना प्रदेश सरकार र केही संरचना केन्द्रीय सरकारले सञ्चालन गर्नेछ ।’

मजदुर, साना किसान र उद्योगीले बुझाए ज्ञापन

बहुफाइदाकारी कृषिजन्य उत्पादन चिया खेती, व्यवसाय र चिया क्षेत्रको एकीकृत र दिगो विकासका लागि सरकारी, निजी र सम्बद्ध सबै क्षेत्रबाट समन्वयात्मक प्रयत्न गरी चियालाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा समावेश गरेर अघि बढ्न ढिलाइ भइसकेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै चिया मजदुर, साना किसान र उद्योगीले संयुक्त रूपमा कृषि तथा पशुपंक्षी विकास मन्त्री खनाललाई दुई बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

चिया क्षेत्र बचाऔँ अभियान झापाका सचिव पर्वत डाँगीले सो ज्ञापनपत्र मन्त्री खनाललाई बुझाएका थिए । २०७५ असोज ९ गते रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णय बमोजिम सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा गठित चिया क्षेत्र अध्ययन उच्चस्तरीय कार्यदलले पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गरियोस् र चिया क्षेत्रको समस्या पहिचान गरी दीर्घकालीन र दिगो व्यवस्थापनका लागि चिया क्षेत्र सरोकारवाला र विज्ञ सम्मिलित उच्चस्तरीय चिया कार्यदल गठन गरियोस् भन्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा सहकारी संस्थानको तर्फबाट हर्क तामाङ, साना किसानका तर्फबाट पूर्ण कार्की, मजदुर ट्रेड युनियनका तर्फबाट सन्तकुमार राई, चिया उद्योगीका तर्फबाट छत्रप्रसाद गिरी, उदय चापागाईँ लगायतले चिया क्षेत्रको समस्याका बारेमा आ–आफ्नो धारणा मन्त्री खनाल समक्ष राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here