भद्रपुर। 
जनप्रतिनिधिहरु सरकारी सेवासुविधा भोगी भएको आरोप लागिरहेको बेला कचनकवल गाउँपालिकाका वडा अध्यक्षले सवारीसाधनको सुविधा नलिने घोषणा गरेका छन् ।
विशेषगरी स्थानीय तहका जनप्रतिनिधिहरु अहिले गाडी तथा मोटरसाइकल मोहमा लिप्त छन् । सोही सुविधा अन्तरगत कचनकवल गाउँपालिकाले वितरण गरेको मोटरसाइकल ६ नम्बर वडा कार्यालयका वडा अध्यक्ष कुलबहादुर कार्कीले नलिने घोषणा गरेका हुन् ।
गाउँपालिकाले एउटा स्कार्पियो गाडी अध्यक्षलाई, उपाध्यक्षलाई स्कुटर, प्रशासकीय अधिकृत र गाउँपालिकाका अन्य कर्मचारी र ६ जना वडा अध्यक्षलाई मोटरसाइकल वितरण गरेको छ । वडा अध्यक्ष कार्कीबाहेक अन्य सबै जनप्रतिनिधि र कर्मचारी सरकारी साधन प्रयोग गर्दै आइरहेका छन् । सरकारी गाडी नचढ्ने उनी गाउँपालिकामै एक्लो वडा अध्यक्ष हुन् ।
वडाका नागरिकलाई समृद्ध नबनाई पालिकाको रकमबाट मोटर खरिद गरेर नचढ्ने प्रतिवद्धता जनाएका कार्की वडा कार्यालय जान निजी मोटरसाइकल प्रयोग गर्दै आइरहेका छन् । गाउँपालिकाले गत दुई बर्षको अन्तरालमा करिब एक करोड मूल्य बराबरको सवारीसाधन खरिद गरेको वडा अध्यक्ष कार्कीले बताए ।
‘गत आर्थिक बर्षमा वडा अध्यक्ष र कर्मचारीका लागि गाउँपालिकाको परिषद् बैठकले करिब ३५ लाख मूल्य बराबरको सवारीसाधन खरिदका लागि बजेट छुट्याएको थियो’– वडा अध्यक्ष कार्कीले भने– ‘गाउँपालिकाले त्यो भन्दा बढी बजेट खर्चिएर सवारीसाधन खरिद गरेको छ, खरिद गरिएका सवारीसाधन सबै वडा अध्यक्ष र कर्मचारीले लिए, तर मैले परित्याग गरेँ ।’
गाउँपालिकाको आम्दानी बार्षिक रुपमा ३० देखि ३५ लाख हुन्छ, अनि सवारीसाधनमै त्यत्रो रकम खर्चिएर जनप्रतिनिधिहरु सुविधाभोगी हुनु उचित नलागेर सरकारी साधन नचढेको उनले बताए । आफ्नो मोटरसाइकलमा लाग्ने तेल तथा मर्मत खर्च समेत गाउँपालिकाबाट अहिलेसम्म नलिएको उनको भनाइ छ ।
गाउँबाट सदरमुकाम जादाँ–आउँदा र अन्यत्र जानु परेमा वडा अध्यक्ष कार्की आफ्नो मोटरसाइकल वा सार्वजनिक यातायातका सवारीसाधनमै यात्रा गर्छन् ।
वडाध्यक्ष कार्की स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेबाट कचनकवल –६ (बनियानी) बाट निर्वाचित भएका थिए । अध्यक्ष र उपाध्यक्ष भने राप्रपाले जितेको यो गाउँपालिका भौगोलिक हिसाबले जिल्लाकै सबैभन्दा विकट मानिन्छ ।






























