पिकअपले जानीजानी ठक्कर दिएको भन्दै प्रदर्शन

0
791

बिर्तामोड।

नर्सरीको विरुवा बोकेको पिकअप गाडीले एक बालकलाई ठक्कर दिएको भन्दै विराटनगर –१८ मा स्थानीयवासीले सडक अवरुद्ध गरी विरोध प्रर्दशन गरेका छन् ।

विराटनगर –१८ का हर्सियाल साहका १३ वर्षीय छोरा अभिषेककुमार साहलाई लावाघाट स्थित आईपी जाने बाटोमा आइतबार बेलुकी पिकअप भ्यानले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।

स्थानीयवासीले बालकलाई ठक्कर दिने चालकलाई कडा कारवाहीको माग गर्दै सो सडक खण्ड टायर र ढुङ्गा राखेर अवरुद्ध पारेका थिए । ठक्कर दिने को २ च १९९७ नम्बरको पिकअप भ्यान र विराटनगर –१३ का ३४ वर्षीय चालक राजी अन्सारीलाई रानी प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने गाडीले बाटोमा हिँडिरहेका बालकलाई पटकपटक ब्याक गरेर घाइते बनाएको घाइते बालककी दिदी विनाकुमारी साहले बताइन् ।

बालक स्थानीय जनता बाल आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्दै आएका थिए । बालकलाई किच्याएको आरोप लगाउँदै पीडितका आफन्तले नियतबश मार्न खोज्ने चालकलाई कडा कारवाही गर्नु पर्ने माग राखेर सोमबार दिनभर प्रदर्शन गरे । उनीहरुले आइसिपी जाने बाटोबाट आधा किलोमिटर उत्तरतर्फ सोमबार बिहान ८ बजेदेखि सांँझ ४ बजेसम्म सडकमा टायर बालेर सडक अवरुद्ध गरेका थिए ।

सडक अवरुद्ध गरेपछि पुगेको प्रहरी टोली र पीडित पक्षबीच भएको वार्तापछि सांँझ ४ बजेपछि सो सडकबाट आवागमन खुलाइएको थियो । घाइते बालकको उपचारमा तत्कालका लागि सबैपक्षले सम्पूर्ण ध्यान केन्द्रीत गर्ने सहमति भएपछि सडकको अवरोध हटेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here