सुरुङ्गा।
कनकाई नगरपालिकाले नगरभित्रका सबै कार्यालयहरुमा कागजको प्रयोग कम गर्दै जाने नीति लिएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रमबाट नगरभित्रका सबै कार्यालयमा पेपरलेस डिजिटल सेवा विस्तार गर्दै जाने नीति लिएको हो । यसका लागि स्थानीय तहले सेवा प्रवाहलाई डिजिटलयुक्त बनाउँदै सूचना प्रविधिको प्रयोगलाई तिव्रता दिएको जनाएको छ ।
कागजको कम प्रयोगयुक्त संगठनको अवधारणालाई आत्मसात गर्दै नगरपालिका तथा वार्ड कार्यालयबाट हुने सेवालाई प्राथमिकताका आधारमा अनलाइनमा लैजाने र सम्पूर्ण वार्ड कार्यालयबाट अनिवार्य रुपमा अनलाइनमा आधारित घटना दर्ता प्रणालीलाई निरन्तरता दिने नीति अघि सारिएको छ । जन्म, मृत्यु, विवाह, बसाइँ सराइ साथै व्यवसाय र उद्योग दर्ताको काम अनलाइनबाटै गर्ने नगरपालिकाले नीति लिएको कनकाई नगरपालिकाका सूचना प्रविधि अधिकृत खगेन्द्र मिश्रले जानकारी दिए ।
नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई प्रविधिमैत्री बनाउने र अनिवार्य रुपमा इमेलको प्रयोग गर्ने नीतिलाई अगाडि बढाउने नीति लिएको छ । यसका लागि जनप्रतिनिधि तथा कर्मचारीलाई सूचना प्रविधि सम्बन्धी अभिमुखीकरण, गोष्ठी, तालिम तथा अवलोकन भ्रमणको प्रबन्ध गरिने बताइएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रमबाट नगरपालिका कार्यालय लगायत नगरका विभिन्न ठाउँमा फ्रि वाइफाई जोन स्थापना गर्ने र नगरपालिकाको कार्यालय तथा अन्य सरकारी कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था लगायत सबै संघ–संस्थाहरुलाई एक आपसमा जोड्नलाई इन्टरनेटको प्रयोगलाई अझ प्रभावकारी बनाउँदै सबै कार्यालयलाई सञ्जालमा आबद्ध गर्न इन्टरनेटको व्यवस्था गर्ने नीति लिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।
स्थानीय तहको चुनावमा मत माग्दा तयार पारिएको नेपाल कम्युनिष्ट पार्टीको स्थानीय घोषणापत्रमा वाचा गरिए अनुरुप नगरलाई सूचना प्रविधि मैत्री बनाउँदै आम नगरबासीलाई सहजरुपमा नगरपालिका र नगरपालिकाभित्रका कार्यालयहरुले सेवा दिने कामका लागि सूचना प्रविधि र डिजिटल प्रविधिलाई जनहितमा उपयोग गरिरहेको प्रमुख पोखरेलले बताए ।
नगरपालिकाले सूचनालाई आम जनमाानसमा पु¥याउनको लागि वडाहरुलाई प्रविधिमैत्री बनाउने, नगरपालिकाभित्र रहेका प्रत्येक सामुदायिक विद्यालयहरूमा द्रुत गतिको इन्टरनेट उपलब्ध गराई शिक्षकहरूको ई–हाजिरीलाई नेटवर्किङको मार्फत नगरपालिकामै हेर्न सकिने र शिक्षकहरूको तलब भुक्तानी पनि डिजिटल हाजिरी मार्फत गणना गर्न सकिने बताइएको छ । यसका साथै नगरपालिकाले डिजिटल प्रोफाइल निर्माण, कार्यालयका लागि सफ्टवेयरको विकास लगायतलाई पनि आफ्नो योजनामा समावेश गरेको छ ।
कार्यालयका दैनिक कार्यसम्पादनलाई थप पारदर्शी, जवाफदेही र समयसापेक्ष बनाउन कार्यालयले डिजिटल प्रविधिलाई जोड दिएको बताइएको छ । नगरवासीलाई छिटो–छरितो र मितव्ययीरुपमा सेवा उपलब्ध गराउन डिजिटल प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मेयर पोखरेलले भने– ‘हामीले केही वर्षभित्र नगरपालिकाका सबै कार्यालयलाई पेपरलेस बनाउने छौँ ।’



























