कर वृद्धि निजी सेवाका लागि !

0
900

देशको समृद्धिका लागि सरकारले कर लगाउँछ । संसारका जुन कुनै देशमा पनि कर लगाउनु, उठाउनु नियमित प्रक्रिया हो, त्यही अनुसार हामी कहाँ पनि राज्यले आयात, निर्यातदेखि आम्दानीका हरेक स्रोतमा कर लगाएको छ । हुन पनि राज्यकोष जनताबाट संकलित करको समष्टिरुप हो । त्यसबाटै विकास, निर्माणका सम्पूर्ण कार्यक्रमहरु सञ्चालन गरिन्छन् । विभिन्न नाममा लिइने यस्ता करहरुको माध्यमबाट जनताका दैन्दिनी सहज हुने अपेक्षा गरिएको हुन्छ ।
राजनीतिक पद्दतिले नयाँ फड्को मारेको निकै भयो ।

केन्द्रको सिंहदरवार गाउँ–गाउँमा पु¥याउने वाचा अनुरुप स्थानीय सरकार गठन भएको छ । केन्द्रमा रहेका सबै मन्त्रालय र विभाग स्थानीय तहमै उपलब्ध छन् । यसले जनतालाई केही सहज भएको पनि छ तर यो पद्धतिले सहजताभन्दा असहजता धेरै, सुरक्षाभन्दा त्रास र असुरक्षा बढाएको अनुभूति पनि गरिँदैछ । यसो हुनुका पछिको मूल विषय स्थानीय तह अर्थात गाउँपालिका, नगरपालिका लगायतका स्थानीय सरकारले आफूखुशी बिना आधार लगाएको ‘कर’ नै कारक बनिएको छ ।

सामान्य काम लिएर जाने सेवाग्राहीले दस्तुर बुझाउनुपर्ने वर्तमानको व्यवहारले सर्वसाधारण हैरान छन् । एकीकृत सम्पत्ति करको नाममा उत्पादनशीलता, उत्पादकत्व र प्रतिफलको लेखाजोखा बिनै कर तोकिएको छ । यसले सर्वसाधारणको जीवनस्तर प्रत्येक वर्ष खस्किने क्रममा लगेको छ । अचल सम्पत्तिमाथि लगाएको कर विज्ञान असम्मत मात्र होइन निरंकुश पनि छ । दिनहुँ आइपर्ने कतिपय व्यवहारिक काममा समेत दस्तुर बुझाउनुपर्ने कारणले जनतामा परिवर्तन पद्धतिप्रति नै वितृष्णा उत्पन्न भएको छ ।

झापाको अर्जुनधारा नगरपालिकाले एकीकृत सम्पत्ति करका नाममा वृद्धि गरेको कर फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको अर्जुनधारा कांग्रेस नगर समितिले सबै वडाध्यक्ष मार्फत आइतबार ज्ञापन दिएका हुन् । यस्तो अग्रसरता, सचेतता ज्ञापनपत्रमा मात्र सिमित भयो भने स्थानीय र देशका लागि नै दुर्भाग्यपूर्ण हुनेछ ।

होइन भने निर्वाचित प्रतिनिधिले एकल निर्णयबाट होइन, प्रतिपक्ष मात्र होइन, अस्तित्वमा रहेका सबै दलका प्रतिनिधिहरुको सहमति समन्वय सहकार्य, सुझाव र छलफलबाट जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयको निर्णय गरिनु पर्दछ । अर्जुनधारा नगरपालिकाको यो विमार नौलो होइन सबै पालिकाहरु त्यस्तै स्वेच्छाचारी भएका छन् । जनताको ढाड भाँचेर आफ्नो सेवासुविधा बढाउन, लिन किञ्चित लाज नमान्ने प्रतिनिधि र पालिकाविरुद्ध सबैले संगठित प्रतिवाद गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here