गाउँपालिकाको निर्णय बिरुद्ध उत्रिए विद्यार्थी

२२ श्रावण २०७६, बुधबार मा प्रकाशित

पार्थ मण्डल/ भद्रपुर।

कचनकवल गाउँपालिकाले चालू आर्थिक वर्ष ०७६।०७७ को नीति तथा कार्यक्रममा कक्षा १२ सम्म सबै विद्यार्थी र छात्राहरूलाई क्याम्पस तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ

शिक्षा क्षेत्रतर्फ गाउँपालिकाले ल्याएको यस्तो कार्यक्रमबाट त्यहाँका विद्यार्थीहरू हर्षित भएका छन् । तर, यस्तो कार्यक्रमसँगै गाउँपालिकाले विद्यार्थीमाथि विभेद गर्दै शिक्षालाई खुम्च्याउन लागेको भन्दै केही विद्यार्थी अहिले विरोधमा उत्रिएका छन् ।

गाउँपालिकामा रहेका माध्यमिक तहका तीन वटा विद्यालयलाई छुट्टाछुट्टै सङ्कायमा पठनपाठन गराउने भनी गरेको निर्णयको विरोधमा त्यहाँका विद्यार्थीहरू आन्दोलित बनेका हुन् । आन्दोलित विद्यार्थी सङ्गठनहरूले सो निर्णयको विरोध जनाउँदै मङ्गलवार दिउँसो गाउँपालिका घेराउसहित ज्ञापनपत्र बुझाएका छन् ।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य भक्तबहादुर विक, अनेरास्ववियु जिल्ला सचिव रोशन लामा, नेविसंघ जिल्ला सदस्य निर्मल दाहाल, नेविसंघ कचनकवल सभापति सागर राजवंशी, अनेरास्ववियु कचनकवल इन्चार्ज उमेश मिश्र, नेविसंघ कचनकवल सचिव विकास घिमिरे र सह–सचिव युवराज आचार्यको हस्ताक्षरसहितको ज्ञापनपत्र गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशीलाई बुझाएको बताइएको छ ।

गत साउन १४ गते गाउँपालिकाको निर्णय अनुसार लक्ष्मी मावि बनियानीमा नेपाली माध्यममा व्यवस्थापन सङ्काय, पथरिया माविमा व्यवस्थापन सङ्काय, लक्ष्मीप्रसाद देवकोटा माविमा व्यवस्थापन सङ्काय अङ्ग्रेजी माध्यममा मात्र पढाउनु पर्ने रहेको छ ।

यस्तो बाध्यकारी निर्णयले गाउँपालिकाका आम विद्यार्थीवर्गमा मार पर्न गएको हुनाले विद्यार्थीलाई सर्वसुलभ र पायक हुने गरी सबै विद्यालयमा शिक्षा र व्यवस्थापन सङ्काय दुवै माध्यममा अध्ययन गर्न पाउनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ । आफ्ना माग सम्बोधन तीन दिनभित्र नभए चरणबद्ध आन्दोलनमा उत्रिने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष राजवंशीले यस विषयमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यपालिकाको बैठकमा छलफल गरिने बताइन् । नेविसंघ कचनकवलका सभापति राजवंशीले अहिले विद्यार्थीहरूले आफूलाई पायक पर्ने विद्यालयमा शिक्षा लिन पाइरहेको बताए ।

गाउँपालिकाले हस्तक्षेप गरी शिक्षामै विभेद ल्याउन खोजेकोले विरोधमा उत्रिएको उनले बताए । गाउँपालिकामा रहेका तीन वटा मावि तहका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा करिब सात सय विद्यार्थी अध्ययनरत् रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here