बिर्तामोड ।

झापाको बुद्धशान्ति गाँउपालिका भएर बहने टिमाई तथा कुरुङमा हुने तस्करी रोक्न जनप्रतिनिधि सहित स्थानीय एक जुट भएका छन् ।
खोलाहरु उत्खनन् हुदाँ खानेपानी तथा भौतिक पूर्वाधारमा क्षति पुगेको भन्दै जनप्रतिनिधि र स्थानीय समिति नै गठन गरेर तस्करी नियन्त्रणमा लागेका हुन् ।
टिमाई खोलामा नदीजन्य सामग्री दोहन हुने क्रम नरोकिएको भन्दै बुद्धशान्ति–६ का वडाध्यक्ष शम्भुप्रसाद पौडेलले टिमाई खोलाको प्राकृतिक स्रोतको संरक्षण गर्नका लागि स्थानीय अगुवासहित जनप्रतिनिधि एक भएर लागेको बताए । गत वर्षदेखि नै टिमाई खोलामा दोहन हुने जानकारी स्थानीयले गराउँदै आएको भन्दै वडाध्यक्ष पौडेलले स्थानीय अगुवाकै पहलमा यसलाई रोक्न एकजुट हुने निर्णय भएको जानकारी दिए ।
त्यस्तै वडा नं.–५ का अध्यक्ष बाशुदेव खतिवडाले तस्करी रोक्नका लागि रातको समयमा गस्ती शुरु गरेको बताए । उनले राति ११ बजेदेखि बिहान ३ बजेसम्म पालो मिलाएर टिमाई र कुरुङ खोलामा गस्ती थालेको जानकारी दिए । नदी दोहनका कारण खानेपानीको मुहान सुक्न थालेको भन्दै स्थानीयले पटक–पटक ध्यानाकर्षण गराएपछि जनप्रतिनिधिले समिति नै गठन गरेर गस्ती शुरु गरेको जनाइएको छ ।
सरकारले वर्षाको समयमा असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाए पनि टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको भन्दै स्थानीयले विरोध गरेपछि जनप्रतिनिधिहरुकै अगुवाईमा तस्करी रोक्न समिति गठन भएको हो ।
नदीबाट चरम रुपमा उत्खनन् भएका कारण पिउने पानीको मुहान सुक्दै गएको, नहर र पैनीका मुहान उठाउन समस्या भएको र बस्ती समेत जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । उनीहरुले नदीजन्य वस्तुको उत्खनन्मा प्रहरीकै संलग्नता रहेको दाबी गरेका छन् ।
वातावरणलाई विशेष ध्यान दिनुपर्ने, वस्तीको जोखिम, पिउने पानीको मुहान सुक्दै जानु, खेतीबालीमा लगाउने पानीको मुहान, वातावरणीय अस्वच्छता, व्यक्तिगत सम्पतिको हानी नोक्सानी आदि कुरामा ध्यान नदिँदा त्यस क्षेत्रमा बहने पानीको मुहान सुक्दै गएको छ । त्यस्तै चुरे क्षेत्रमा पहिरोको जोखिम समेत बढेकाले बस्तीहरु नै जोखिममा पर्न सक्ने भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन् ।
टिमाई खोलामा तस्करी हुने विषयमा बर्सेनि स्थानीयले आवाज उठाउने गरेपनि सशस्त्र प्रहरीको सेटिङमा तस्करी हुने गरेको आरोप लाग्ने गरेको छ । तर सशस्त्र टिमाई बेस क्याम्पका प्रमुख सुदर्शन रिजालले तस्करी रोक्न आफूहरुसँंग पर्याप्त स्रोत साधन नभएको उल्लेख गरे ।
उनले सवारी साधनको अभावका कारण तस्करी भएको स्थानमा तत्काल पुग्न नसकेको बताए । उनले स्थानीयको साथ र सहयोग पाए प्रभावकारी रुपमा अवैध नदीजन्य पदार्थको चोरी रोक्न सहयोग गर्ने बताए ।
प्रमुख रिजालले तस्करहरुसंँग आफूहरुको कुनै मिलेमतो नभएको भन्दै स्थानीयले समिति गठन गरेकाले अब स्थानीयसँंग मिलेर तस्करी रोक्ने प्रतिबद्धता जनाए । उनले साउन महिनामा मात्रै तस्करीका लागि प्रयोग गरिएका ६ वटा ट्याक्टर नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको जानकारी दिए ।
यसैबीच टिमाई खोलाको संरक्षणका लागि पुष्पमणि रिजालको अध्यक्षतामा टिमाई खोला नियन्त्रण तथा संरक्षण समिति गठन गरिएको छ । २७ सदस्यीय समितिमा धुलाबारी खानेपानी उपभोक्ता समिति, कप्तान जनसेवा पैनी, जनसेवा खानेपानी समिति, पौरखी स्प्रिङ कल सिंचाई समिति, रुद्रबहादुर पुलामी, गोपाल थापा, कल्पना राई, पहलमान आले मगर, दिलबहादुर थापा, देउकुमारी अधिकारी, दामोदर ढकाल, मनोज खेवा, प्रदीप गिरी, केदार लुइँटेल, मीना तामाङ, कृष्ण प्रधान, जीतबहादुर राई, जीतबहादुर लिम्बू, गजाधर पौडेल, डिल्लीराम चापागाँई, खड्ग पुलामी, डिल्लीराम मगर लगायत रहेका छन् ।
यसअघि टिमाई खोलाको दोहनको विषयमा गुनासो आएपछि गत वर्ष प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रदेश सांसद गोपाल बुढाथोकी लगायतको टोली स्थलगत अनुगमनमा गएको थियो । अनुगमनका क्रममा अवैध तरिकाले प्राकृतिक सम्पदाको दोहन गर्ने छुट कसैलाई नभएको भन्दै दोषीलाई कानूनको दायरामा ल्याउने प्रजिअ दाहालले प्रतिबद्धता जनाएका थिए ।




























