जनप्रतिनिधि सुविधाभोगी हुँदैन

२२ श्रावण २०७६, बुधबार मा प्रकाशित

झापा कचनकबल–६ का वडाध्यक्ष कुलबहादुर कार्कीले राज्यले प्रदान गरेको सवारीसुविधा नलिने घोषणा गरेको समाचार सार्वजनिक भएको छ । जनताका सेवक हुन्छौं, सेवा गर्ने अवसर दिनोस् भनेर रोइकराइ गरेर निर्वाचित जनप्रतिनिधिले सुविधाका लागि लम्पसार पर्ने, प्रतिनिधि चयन गर्नेहरुकै दुर्भाग्य होला । होइन भने प्रतिबद्धता एकथोक र व्यवहार अर्कोथोक गर्न सुविधाभोगीहरुको नक्कली चरित्रलाई समयमै चिन्नु पथ्र्यो । जनप्रतिनिधि हुन चाहिने योग्यता र राष्ट्रसेवक कर्मचारी हुनलाई चाहिने योग्यता र क्षमता फरक–फरक हुन्छन् । त्यसैले अपाmूलाई जनप्रतिनिधि भन्नेहरुले जनता नामका मालिकको निस्वार्थ सेवा गर्नुपर्छ ।

जनप्रतिनिधि राज्यकोषको दोहन गर्न कम्मर कसेर लागेका छन्– यो आरोप मात्र होइन यथार्थ पनि हो । अनेक नाम, शीर्षक र बहानामा जनताको पसिना र खुनबाट आर्जित राज्यकोषको दोहन हुनुहुँदैन । कचनकवल–६ का वडाध्यक्ष कार्कीले एक्लै भए पनि आफ्नो क्षेत्रमा उदारता देखाएका छन् । थोरै भए पनि इमान्दारिता मरेको छैन सिद्ध गरेका छन् । जुनसुकै दल, विचार वा वादको भए पनि आर्थिक लाभका लागि एकाकार हुने चरित्रले जनता र देशको होइन, व्यक्ति र सम्बद्ध परिवारलाई समृद्ध बनाउँछ । त्यसकारण पनि प्रत्येक पालिका, ती स्थानीय, प्रदेश वा संघीय नै किन नहोस् ‘तैँ चुप–मैँ चुप’ हुन्छन् ।

मुलुक गणतन्त्रमा छ । गणले शासन गर्ने भएकाले गणतन्त्र हो शायद । गण भनेकै व्यक्ति–व्यक्तिको समूह हो । तसर्थ, अहिले समूहले आर्थिक अपचलन गरेका छन्, प्रयोगका नाममा दुरुपयोग र स्वेच्छाको निर्णयले अधोगतिको यात्रा शुरु गरेका छन् । यस्तो रोगले केन्द्रदेखि गाउँसम्म पीडित छ । परिवारको एउटा सदस्यको पदमा परिवारका सबै सदस्यले सुविधा भोगेका छन् । इन्धनदेखि ठूला–साना सबैखाले सवारीहरु दुरुपयोग भएका छन् । उनीहरुलाई नियमन, अनुगमन र नियन्त्रण गर्ने कुनै अङ्ग निकाय वा संस्था नै छैन ।

जनप्रतिनिधिले लोकसेवा उत्तीर्ण गरेको होइन, तसर्थ पदासीन भएकै कारण राज्यकोषबाट सेवासुविधा प्राप्त गर्न ‘मरिहत्ते’ गर्नु हुँदैन । प्रत्येक पालिका र त्यहाँका पदाधिकार प्राप्त व्यक्तिले त्यस्ता फिजुल खर्च घटाएर जनताको सेवा–सुविधा विस्तारमा लगाउनु पर्दछ । त्यसो गर्न सकिए व्यक्ति, संस्था र व्यवस्थाप्रति जनविश्वास पलाउने छ । त्यही विश्वासले जनताले मन जित्न र समृद्ध समाज निर्माण गर्न बल पुग्नेछ । सवारीमा हाल भइरहेको इन्धन सवारी तथा मर्मत सम्भारमाथिको खर्च राज्यको दोहन हो । त्यसैले यस्तो प्रवृत्ति र पद्धतिलाई अन्त्य गर्न सबै जिम्मेवार व्यक्तिले लोभ त्याग गर्नैपर्छ । अनि मात्र कचनकवलका कार्की जस्ता देशभरका अरु दुई–चार प्रतिनिधिहरुको सेवाभावको कदर हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here