चिन्तामणि दाहाल,
नेपाली समाजमा बर्षौं–बर्षदेखि चलेको उखान जिली न गाँठी अहिले पनि सान्दर्भिक छ भने चालामाला हेर्दा भविष्यमा पनि लामो समयसम्म सान्दर्भिक भइरहने छ । यसपटकको आलेखमा पंक्तिकारले यो चर्चित र बहुप्रयोगी उखानलाई किन शीर्षक बनायो भन्ने जिज्ञासा हुन सक्छ । यो स्वभाविक पनि हो । पाठकहरुको यो कौतुहल र जिज्ञासालाई क्रमशः शान्त गर्दै लानेछु । शुरुमा हेरौं यो जिली न गाँठी उखानको शाब्दिक अर्थ के हो ? यो कसरी उखानको रुपमा प्रयोग हुन थाल्यो र चर्चित भयो ।
प्राचीनकालदेखि सबै किसिमका मानवहरुले खानाको रुपमा कन्दमुल खाने गर्थे भने अहिले पनि जंगलछेउमा बस्नेहरुले कन्दमुलको प्रशस्तै प्रयोग गर्छन् भने विशेषगरी आदिवासी जनजातिहरुका लागि कन्दमुल पनि एउटा महत्वपूर्ण खाद्यपदार्थ हो । अहिले कन्दमुललाई अरु जातिहरुले पनि तरकारीको रुपमा प्रयोग गर्ने गर्छन् ।
कन्दमुलभित्र तरुल र भ्याकुरका विभिन्न जात पर्छन् । घर तरुल र वन तरुल भनी अहिले छुट्याए पनि सबै कन्दमुल वनकै उपज हुन् । जात मात्र फरक हो । वन तरुल आफैं उम्रिएर आफैं बाँचेर बढ्ने र फल्ने भएकाले उसमा बाँच्नका लागि गरेको संघर्षको शक्ति हुन्छ । त्यसैले वन तरुलमा औषधीय गुण पनि हुन्छ । यही कन्दमुल खन्दा वा तरुल खन्दा त्यसको फलसँगै हुने जराजुरी गाँठागुँठीयुक्त र जेलिएको हुन्छ ।
मूल फल निकालेपछि रहने गाँठागुँठी र जराहरुले भरिएको एउटा झुप्पोलाई जिली र गाँठी भनिन्छ । त्यो झुप्पोबाट फेद–टुप्पो भेट्टाउन मुश्किल हुन्छ । यस्तो अवस्थालाई कताको जिली कताको गाँठी भनिन्छ । जिली भनेको फलको शीर्ष भाग र त्यसमै रहेका गाँठाहरुलाई गाँठी भनिएको हो । जिलीलाई बीऊको रुपमा प्रयोग गरिन्छ । तर, त्यसबाट गाँठी फुस्कायो भने अर्को साल त्यस बीऊले राम्रो फल दिन्छ । जिलीलाई गाँठीसँग छुटाउन निक्कै कठिन भएकोले कता जिली कताको गाँठी भयो भने त्यो राम्रो बीऊ हुँदैन ।
उखानको मेल :
क) सत्ताधारीमा ः अहिलेको हाम्रो सत्ताधारी दल र प्रमुख विपक्षी दलको अवस्था भनेको जिली र न गाँठीको अवस्था हो । दुबै दलका शीर्ष नेता भनाउँदाहरुले जिली र गाँठी छुट्याउन सकिराख्या छैनन् । उनीहरुको संगठनका जरा र गाँठाहरु यति धेरै जेलिएका छन् कि कुन जिली हो र कुन गाँठी हो छुट्याउन नसकेर अहिले उनीहरुको सशक्त बन्नुपर्ने संगठन भताभुंग भएको अवस्था छ ।
सत्ताधारी दल नेकपाले औषधीय गुण हुन्छ भनेर वन तरुल खन्यो । मुश्किलले एकातिरको जिली भेट्टाएर संगठनको जिल्ला तहसम्मको जिली भेट्टाए पनि त्यसको गाँठी छुट्याउन सकेको छैन । विभाग गठन गर्न नसक्दा गाँठी भेट्टाउन सकेका छैनन् भन्ने प्रष्ट हुन्छ । किनकि यो पार्टी दुईवटा अलग धारको राजनीतिक कार्यदिशा लिएर जनताका घरदैलोमा पुगेका पार्टीहरुको संयुक्त रुप हो ।
त्यसैले जनताको जनवाद कि बहुदलीय जनवादको आन्तरिक बहसमा एक बर्षभन्दा बढी समय लगाएर जनताको जनवाद भनेको पनि बहुदली जनवाद नै हो भनेर काइते कुरामा सहमति गरेर राजनीतिक दस्तावेज छाप्न दिएको अवस्थामा छ । छापेर आउँदा प्रुफ मिस्टेक भएर बहुदलीय जनवाद मात्रै छापिएर आयो भने अचम्भ नमाने हुन्छ । एक बर्षभन्दा बढी समय लगाएर राजनीतिक दस्तावेज छापिन थाले पनि विभिन्न विभाग र भातृ संगठनका प्रमुखहरु तोक्न नसकेर जुन अलमल भइराखेको छ यसले पार्टी जनताबीच क्रियाशील हुन सकेको छैन ।
एकातिर यस्तो अवस्था छ भने यही दलको दुई तिहाइको सरकारले गरेको काम, लिएको आर्थिक, शैक्षिक, औद्योगिक, सामाजिक र वैदेशिक नीति पनि कताको जिली कताको गाँठी भएर अलमलमा परेको अवस्था छ । यसले देशको अर्थतन्त्र धराशायी हुन बेर छैन । अर्थतन्त्र धराशायी हुनु भनेको सरकारको सबैभन्दा ठूलो असफलता हो ।
ख) प्रमुख विपक्षीमा ः अर्कातिर आप्mनै व्यहोराले सत्ता बाहिर बसेको प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेस महाधिवेशन समयमै गर्ने कि पर सार्दै लाने भनेर विवाद गरेर समय खेर फालिरहेको छ । अब पनि टालटुले निर्णयबाटै अघि बढ्न खोजेर उसले पनि आगामी निर्वाचनमा कसरी विपक्षीसँग भनेर फेद टुप्पो भेट्टाउन सकेको छैन ।
उसले पनि वन तरुल त खन्यो औषधीय गुण हुन्छ भनेर । तर, आफैं अलमलिएर विधानले प्रष्ट गरेको महाधिवेशन, महासमिति बैठक र केन्द्रीय समिति बैठक पनि टार्ने अवस्थामा पुग्नु भनेको नेताहरु, कताको जिली र कताको गाँठीको अवस्थामा पुग्नु हो ।
यहाँसम्म कि आम निर्वाचनमा आफूले नेतृत्व गरेको पार्टीको लज्जाजनक हारमा पनि नैतिक जिम्मेवारी पनि लिन नचाहने मुढता बोकेका सभापति भएको नेपाली कांग्रेसले हार्नुको कारण आफैंभित्र छ भनेर स्वीकार्न नसक्नु नै विडम्वना हो । दुई पार्टी मिलेकाले चुनाव हारियो भनेर हलुका टिप्पणी गरेर सतही विश्लेषणमा रमाउने अनि आप्mना कमजोरी हटाएर पार्टीलाई नयाँ शिराबाट लिएर जान बरु अग्रिम महाधिवेशन गरौं भन्नुपर्नेमा एक बर्ष थपेर संगठनलाई ठेल्दै लाने प्रवृत्ति नै पार्टी सखाप पार्ने खेल हो भनेर राजनीतिक विश्लेषकले बुझेको पाइन्छ । यस्तै ताल हो भने अबको तीन बर्षमा हुने आम निर्वाचनमा कांग्रेस सखाप पनि हुन सक्छ । नेकपा पनि गतिलो छैन भनेर चित्त बुझाउने पार्टीका नेता कम छैनन् कांग्रेसमा । तर, यो पुरातन सोच हो । जनताले दुबै पार्टीको विकल्प खोज्न सक्छन् ।
यस्तो अवस्थामा जनताले लोकतन्त्रको विकल्प लोकतन्त्र नै छाने भने त ठिकै छ । यदि जनता भड्किए भने लोकतन्त्र खतरामा पर्न सक्छ । लोकतन्त्र खतरामा पर्नु भनेको संघीयता पनि खेर जान्छ । समावेशीको फेद टुप्पो पाउन अझ मुश्किल हुन्छ । यो अवस्था आउन दिनु हुँदैन ।


























