खानेपानी उपभोक्तालाई दुई करोड ऋण

0
759

काभ्रेपलाञ्चोक ।

पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई रु दुई करोडको ऋणी बनाइएको छ । आर्थिक अवस्था कमजोर भएका पाँचखालका करीब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो ।

पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । कूल उपभोक्ता परिवार सङ्ख्यामध्ये करीब एक हजार ४०० परिवारले उक्त रकम जम्मा गर्न नसक्ने भएपछि नपाले गत जेठ महीनामा नगरसभाबाटै पास गरी उपभोक्तालाई ऋणी बनाउने विधि अपनाएको थियो । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानी व्यवस्थापन गर्न लागिएका हो ।

स्थानीय सहकारीले भने चलनचल्तीभन्दा न्यूनतम ब्याजदरमा खानेपानी उपभोक्तालाई ऋण प्रवाह गरेका थिए । आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण दिलाएरै भए पनि योजनामा सहभागी गराउन नपा कार्यालय जमानी बसेर उपभोक्तालाई स्थानीय सहकारीमार्फत ऋण दिलाइएको नगरप्रमुख महेश खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “न्यूनतम ब्याजदरमा एक वर्षका लागि किस्ताबन्दीमा सहकारीमार्फत ऋण दिलाइयो ।” उक्त ऋण रकम उपभोक्ताले एक वर्षभित्र तिर्न नसके नपाले तिरिदिने उहाँले बताउँदै आउनुभएको छ ।

आयोजनाका लागि हाल रु दुई करोड उपभोक्ताले सहकारीबाट लिएको ऋण तथा आठ करोड अन्य उपभोक्तामार्फत बैंक खातामा जम्मा भएको छ । परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक ९एडिबी० र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ ।

सम्झौतामा कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गर्नुपर्ने शर्त छ । “बाँकी एक करोड सम्झौतापछि पनि जम्मा गर्न सकिनेछ, खानेपानी अभावले आक्रान्त पाँचखालमा जसरी पनि आयोजना सम्पन्न गर्न हरेक तरिका अपनाइयो”, लामिछानेले भन्नुभयो । उहाँका अनुसार सहकारीमा सदस्य भएकालाई सोही सहकारीबाट र नभएकालाई सदस्य बनाएर ऋण दिलाइएको हो ।

परियोजनाबाट करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् । दातासँग आयोजनाको सम्झौता यही महीनाको अन्त्यसम्ममा हुने लामिछानले जानकारी दिनुभयो । सम्झौताअनुसार समितिले निर्धारित समयमा रकम जम्मा गर्न नसके परियोजना कार्यान्वयन गर्न नसकिने भएकाले तीन महीनादेखि माइकिङ तथा वडाका गाउँ–गाउँमा जागरण अभियान सञ्चालन गरिएको अध्यक्ष लामिछानेले बताउनुभयो ।

आयोजनाका लागि रु १८ हजार जम्मा गर्न नसक्दा सहकारीबाट ऋण लिएर बुझाइएको एक स्थानीयवासीले बताउनुभयो । उहाँले भन्नुभयो, “एक वर्षका लागि ऋण लिएँ, अब विस्तारै तिर्दै जान्छु ।” पाँचखालका व्यवसायीद्वय राजकुमार श्रेष्ठ र प्रभाकर अधिकारीले भने जनही रु दुई लाख सहयोग गर्नुभएको छ ।

स्थानीय सहकारी खानेपानी उपभोक्तालाई ऋण दिलाउन प्रतिस्पर्धामा उत्रिएका थिए । पाँचखालस्थित बिन्धवासिनी सहकारी ऋण समितिका कुमार दङ्गालले भन्नुभयो, “हामीले खानेपानी उपभोक्तालाई सेवाभावले एक प्रतिशत सेवा शुल्क लिएर अधिकतम सहुलियत दर पाँच प्रतिशतमामा ऋण प्रवाह ग¥यौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here