चन्दा सङ्कलनबाट मदरसा सञ्चालन

0
930

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका–१० बेलघारीका मुस्तफा मियाँ विसं २०६३ देखि मदरसा मदिना माध्यमिक विद्यालयमा पढाउँदै आउनुभएको छ । मदरसामा शिक्षण गर्नुका साथै उहाँलाई आफ्नो पारिश्रमिक आफँै जुटाउनुपर्ने बाध्यता छ ।

सोही मदरसाका अर्का शिक्षक केमाल्ड हास्नीले पनि योग्यताअनुसार तलब नपाएको गुनासो पोख्नुभयो । उहाँले रमजानका अवसरमा एक महीना मदरसा बन्द गरेर मुस्लिम बाहुल्य जिल्लामा चन्दा सङ्कलन गर्न जाने गरेको बताउनुभयो ।

पूर्वको नारायणगढदेखि पश्चिमको डडेल्धुरा र सीमावर्ती भारतीय शहर रुपैडिहासम्म पुगेर मदरसालाई सहयोग जुटाउने गरेको केमान्ड बताउनुहुन्छ । माध्यमिक तहसम्म सञ्चालित यस मदरसामा नौ शिक्षक÷कर्मचारी छन् । तीमध्ये अधिकांश शिक्षक÷कर्मचारीलाई निजी स्रोतबाट चन्दा सङ्कलन गरेर पारिश्रमिकको व्यवस्थापन गर्ने गरिएको छ ।

मदरसाका प्रधानाध्यापक सुशीला शर्माले तलब खुवाउन सक्ने स्रोत नभएपछि गर्नुपरेको बताउनुभयो । “मुस्लिमलाई अल्पसङ्ख्यक समुदाय भनेर हेलाँको दृष्टिले हेर्ने गरिएको छ”, उहाँले भन्नुभयो, न शिक्षक दरबन्दी छ, अन्य भौतिक विकासका लागि बजेट छुट्याइन्छ ।” मदरसा मदिनाका २६४ विद्यार्थीमध्ये ९८ प्रतिशत मुस्लिम समुदायका विद्यार्थी अध्ययनरत छन् । कक्षा ८ सम्मको पाठ्यक्रम मुस्लिम समुदायसँग सम्बन्धित छ । माथिल्लो कक्षा पढ्न मुस्लिम समुदायका विद्यार्थीलाई छिमेकी जिल्ला बाँकेको नेपालगञ्ज जानुपर्ने बाध्यता छ ।

वीरेन्द्रनगरकै फैजुल उलुम मदरसाको हालत पनि दयनीय छ । व्यवस्थापन समितिका अध्यक्ष सफिउल्ला मियाँले मुस्लिम समुदायको मुठ्ठीदानबाट शिक्षकको तलब जुटाउने गरेको बताउनुभयो । “महीनामा पाँच दिन शिक्षकलाई तलब खुवाउनका लागि हाम्रो समुदायका घर–घर र मस्जिदमा पुग्छौँ”, अध्यक्ष सफिउल्लाले भन्नुभयो ।

विसं २०६४ मा स्थापित यस मदरसामा आठ शिक्षक छन् । तीमध्ये एक स्थायी तीन राहत दरबन्दीका र एक कार्यालय सहयोगी छन् । व्यवस्थापन समितिलाई बाल विकास र मुस्लिम धर्म–संस्कृति पढाउने तीन शिक्षकलाई तलब खुवाउन हम्मेहम्मे पर्ने गरेको छ । यहाँ उर्दू भाषा पढाउन बाँकेबाट शिक्षक बोलाइएको छ । मदरसाको ढाँचामा सञ्चालित आधारभूत विद्यालय भएकाले फैजुल उलुममा अन्य समुदायका बालबालिका पनि भर्ना हुने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here