नयाँ दिल्ली ।

भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । उहाँ ६७ बर्षको हुनुहुन्थ्यो । स्वराजको स्वास्थ्यमा समस्या देखिएपछि अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस ९एम्स० मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पु¥याउनुभएको थियो ।
स्वराजको निधनको खबवरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुग्नुभएको थियो ।
भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले आज दिउसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै उक्त कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको थियो ।
“प्रधानमन्त्रीलाई धन्यवाद । धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिए ,” स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गर्नुभएको छ ।
स्वराजले सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री नियुक्त हुनुभएको थियो । उहाँले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोक सभाका लागि प्र्रतिस्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरे अनुसार उहाँलाई भाजपाले उम्मेदवार बनाएको थिएन ।
विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँको वाकपटुता र स्पष्ट भाषण कलाले भारतीय राजनीतिमा भाजपाको प्रसिद्धिमा थप ख्याती मिलेको थियो ।
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतलेश्रद्धान्जली दिएका छन् ।
स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतिय मिडियाले जनाएका छन् ।


























