बिर्तामोडमा सिनेमा डिकेड अवार्डको तयारी

२३ श्रावण २०७६, बिहीबार मा प्रकाशित

बिर्तामोड।

झापाको बिर्तामोडमा प्रदेश नं. १ स्तरीय ‘प्रोभिन्स १ सिनेमा डिकेड अवार्ड २०७६’ को तयारी गरिएको छ ।

प्रदेश नं. १ को आयोजकका रुपमा रहेको पूर्वेली युवा क्लवले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिएको हो । नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि प्रदेश नं. १ को भूमिका महत्वपूर्ण रहेकाले प्रदेश नं. १ मा जन्म भई देशको जुनसुकै स्थानमा रहेर पनि चलचित्र क्षेत्रमा योगदान पुर्याउने चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न प्रदेश नं. १ स्तरीय ‘प्रोभिन्स १ सिनेमा डिकेड अवार्ड २०७६’ को तयारी गरिएको कार्यक्रममा जानकारी दिइयो ।

बिर्तामोडस्थित हवी स्वीमिङ पुलमा आगामी मंसीरमा हुने उक्त कार्यक्रममा प्रदेश नं. १ का चलचित्र क्षेत्रमा योगदान पुर्याउने तीनजना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्डसहित सम्मान गरिने पूर्वेली युवा क्लवका पूर्व अध्यक्ष तथा प्रदेश नं. १ स्तरीय ‘प्रोभिन्स १ सिनेमा डिकेड अवार्ड २०७६’ का संयोजक रमेश चौधरीले जानकारी दिए ।

त्यस्तै सोही कार्यक्रममा चलचित्र, नायक, नायिका, खलनायक, सह नायक, नायिका, नवनायक, नायिका, निर्देशक, जुरी, सिनेम्याटोग्राफी, म्युजिक, स्क्रिप्ट राइटर, गायक, गायिका, चरित्रअभिनेता, अभिनेत्री, हास्य अभिनेता, चलचित्र हल, प्रोड्युसर, सुटिङ लोकेशन लगायतका विभिन्न ४५ बिधामा पपुलर अवार्ड प्रदान गरिने उनले बताए ।

कार्यक्रममा प्रोभिन्स १ सिनेमा डिकेड अवार्ड २०७६ का को–अर्डिनेटर मनोज केसीले चलचित्र क्षेत्रमा १० बर्षदेखि निरन्तर क्रियाशिल रहेका प्रदेश नं. १ का चलचित्रकर्मीलाई मात्र अवार्ड कार्यक्रममा समावेश गराइने जानकारी दिए । उनले प्रदेश नं. १ का जुनसकै भाषा, धर्म, संस्कृतिमा निर्माण भएका चलचित्र र कलाकारहरुलाई समेत समावेश गराइने बताए ।
उक्त कार्यक्रमका लागि ५० लाख अनुमानित खर्च हुने र खर्च व्यवस्थापनका लागि प्रायोजक, स्थानीयतह, स्थानीय संघ–संस्था, समाजसेवीको सहयोग लिइने उनले बताए ।

कार्यक्रममा कलाकार सुनिल थापाले नेपालमै पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनले प्रदेश नं. १ को बिर्तामोडमा आयोजना गरिएको यस्तो कार्यक्रमले नेपाली चलचित्र उद्योगलाई अझ अगाडि वढाउन सहयोग गर्ने बताए ।

कार्यक्रमका प्रोडक्शन मेनेजर कुमार सिलवाल, बक्सअफिस गु्रपका प्रवन्ध निर्देशक यज्ञराज सेढाई लगायतले कार्यक्रमबारे जानकारी दिएका थिए । पूर्वेली युवा क्लवका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सभापति सजेश शिवाकोटी, कलाकार भुपेन्द्र लिङ्देन ‘मन्त्री’, युवा व्यवसायी कमल खरेललगायतले बिर्तामोडमा यस्तो कार्यक्रम आयोजना हुनु झापाबासीका लागि गौरवका विषय भएको बताए । कार्यक्रमको सञ्चालन पूर्वेली युवा क्लवका सचिव प्रकाश सुवेदीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here