वातावरणीय क्षतिसँगै पिउने पानीको मुहान तथा खेतबालीमा लगाउने पानी सुक्दै गएपछि बुद्धशान्ति गाउँपालिकाका बासिन्दा एकीकृत अभियानमा जुटेका छन् । गाउँपालिकाको वडा नं. ५ का वडाध्यक्ष वासुदेव खतिवडाले नदीजन्य सामग्रीको चरमदोहनका कारण यस्तो प्रतिकूलता जन्मिएको भन्दै त्यस्ता वस्तुको तस्करी रोक्न गस्ती गर्न थालेको बताएका छन् । त्यसैगरी वडा नं. ६ का अध्यक्ष शम्भुप्रसाद पौडेलले खोलाहरुको उत्खनन्का कारण भौतिक पूर्वाधारमा क्षति पुगेको र मानवबस्ती नै जोखिममा परेको भन्दै त्यसविरुद्ध स्थानीयबासीसँगै जनप्रतिनिधिहरु समेत एकजुट भएको बताए ।
अहिले भौतिक विकासको प्रतिष्पर्धामा देखिएको सबैभन्दा ठूलो समस्या भनेकै प्राकृतिक स्रोतको विनाश हो । ‘एउटाको जरो उखेलेपछि अर्काको उपचार हुन्छ’ भन्ने भनाइ पुरानो हो जसले विकासका लागि प्रकृतिको विनाश गर्नैपर्छ भन्ने संकेत गरेको हुनसक्छ । तर, त्यसभित्र प्रकृतिको संरक्षण गर्दै दिगो विकासको अवधारणा पनि सुरक्षित रहनु पर्दछ भन्ने आशय छ यसलाई बिर्सनु हुँदैन । ग्रामीण क्षेत्रमा भौतिक सेवा र विकासको पहुँच कम वा हुँदै नभएका कारण मनोवृत्ति र मानसिकता बजार र शहर केन्द्रीत बन्दैछ । त्यहीकारण रित्तिएका गाउँ र जनसंख्यालाई बजारमा अटाउन जरुरी भयो । त्यही आवश्यकता पूरा गर्न मानिसले प्रकृति र प्राकृतिक स्रोतको अनुचित प्रयोग गर्न थाल्यो ।
प्राकृतिक सम्पदाभित्र पर्ने वनजंगल खोलानाला र भूमिको अनियन्त्रित प्रयोगले बर्षेनि विपद् निम्त्याउँदैछ । बाढी, पहिरो लगायतका विपद्मा परी सयौंले मृत्युवरण गर्नु परेको छ भने हजारौं विस्थापित भइरहनु परेको छ । त्यसबाहेक नदीको चरमदोहनले एकातिर पानीका स्रोत सुक्दैछ भने अर्कोतिर पृथ्वीको तापक्रम वृद्धि हुने कारक बनिँदैछ । देशको चुरे क्षेत्र अझ ठूलो संकटमा पर्दै गएको छ, वन फँडानी र नदीजन्य सामग्रीको दोहनले पहिरोको चपेटामा पर्दैछ । यस्तो राष्ट्रिय समस्याका बीच बुद्धशान्तिका स्थानीयबासी जनप्रतिनिधिसहित भएर टिमाई र कुरुङ खोलामा हुने नदीजन्य सामग्रीको चोरी तस्करी रोक्न संगठित भएका छन् । यसले अरु सबै क्षेत्रका बासिन्दालाई प्रकृति र प्राकृतिक स्रोतको संरक्षण गर्न प्रेरित गर्न सक्छ ।
भौतिक विकास संरचनाहरुको निर्माणका आधारमा मापन गरिन्छ । सडक, भवन लगायतका संरचना बनाउन ढुंगा, गिटी, बालुवा चाहिन्छ । त्यसको स्रोत भनेकै नदीनाला हुन् । त्यसले सुख, सुविधा समेत दिने कारणले हाम्रा परम्परागत घरहरु कंक्रिटको संरचनामा बदलिएका छन् । यसका लागि खोला मै भरपर्नु पर्ने कारणले बाह्रै महिना उत्खनन् भइरहेको छ । यसले पु¥याएको र पु¥याउन सक्ने क्षतिको आंकलन गरेर सरकारले असारदेखि भदौ मसान्तसम्म नदी उत्खनन् गर्न रोक लगाएको छ । अनि पनि व्यक्ति लाभका लागि त्यस्ता वस्तुको उत्खनन् भइरहेको सन्दर्भमा बुद्धशान्तिबासीको अग्रसरताले क्षति कम गर्न सघाउ पुग्ने निश्चित छ । वातावरणीय विनाशले त्यस आसपास बस्नेलाई मात्र होइन, सबैलाई असर पुग्छ भन्ने चेतनाको विकास स्वयम्मा नहुञ्जेलसम्म अगुवाहरुले अघि सर्नै पर्छ । कानून विपरीत नदी दोहन गर्नेहरुलाई दण्डित गर्नैपर्छ । अनि मात्र त्यसले उत्पन्न गरेको पीडाबाट मुक्त भइनेछ र वातावरण संरक्षणमा समेत योगदान दिनेछ ।




























