महेन्द्रनगर बसपार्क ओझेलमा, बजेटले आशा जगायो

0
567

आत्माराम राजवंशी / गौरीगञ्ज।

गौरीगञ्ज गाउँपालिका वार्ड नं.–६ मा रहेको ऐतिहासिक एवम् पुरानो बसपार्कको रुपमा चिनिने महेन्द्रनगर बसपार्क ओझेलमा परेको छ । वर्षांैदेखि महेन्द्रनगर बसपार्कको नामबाट चिनिएको यो ऐतिहासिक बसपार्क सञ्चालनमा ल्याउन कहीँ कतैबाट कसैले चासो नदेखाएपछि यसको पुरानो विशेषता नै मेटिने आशंका छ ।

करिब १७ कठ्ठा जग्गामा फैलिएको उक्त बसपार्कको व्यवस्थापन नहुँदा हाल माछा बजार र गौचरनमा परिणत भएको छ । यसले गर्दा बसपार्कको जग्गा नै अतिक्रमणको चपेटामा पर्न सक्ने देखिएको छ । वर्षांैदेखि बसपार्कको जग्गाको व्यवस्थापन भई सक्दा पनि सञ्चालनमा नआउँदा बाटो छेउमा बस रोक्नु पर्ने बाध्यता छ भने सडक किनारामा पार्किङ गर्दै आइरहेका छन् ।

बसपार्कलाई व्यवस्थित बनाउन साविक खजुरगाछी गाविसबाट पटक–पटक वजेट छुट्याई उपभोक्ता समितिबाट प्रयास गरेपनि समस्या ज्यूँ का त्यूँ रहेको खजुरगाछी माविका प्रधानाध्यापक तथा आठमौजा सहकारी संस्थाका अध्यक्ष अर्जुन दंगाल बताउँछन् ।

पुरानो व्यवसायिक केन्द्र गौरीगञ्जको मुटुमा रहेको यो वस पार्क हरेक दृष्टिकोणबाट उपयुक्त भएकोले यसलाई सञ्चालन गर्न स्थानीय सरकार लागीपर्नु पर्ने उनको सुझाव छ । उनले भने –यो गौरीगञ्जको ऐतिहासिक बसपार्क हो, तत्कालीन राजा महेन्द्रले यही बसपार्कमा हेलिकोप्टर ल्याण्ड गराएका थिए ।

त्यसैले यसको विरासतलाई कहीँ कतैबाट आँच पुग्यो भने त्यो गलत हुनेछ ।’ बस पार्कको लागि जग्गा कम र साँघुरो भएको भन्ने विषय उठाउनु बसपार्कलाई नै अन्तै सार्ने षडयन्त्र हुनसक्ने उनले बताए ।

गौरीगञ्जमा नेपाल बैंक, इलाका प्रहरी कार्यालय, त्रिभूवन आर्दश पुस्तकालय स्थापना संगै महेन्द्र नगर बस पार्कको जग्गा व्यवस्थापन गरिएको यहाँका पुराना बासिन्दाहरु बताउँछन् । हुलाकी राजमार्गसँंग जोडिएसंँगै चारैतिरबाट बाटोले छोएको यो बस पार्कको संरक्षणमा पछिल्लो समयमा तत्कालीन जिविस र गाविसबाट बजेट छुट्याएको थियो । तर संरक्षण गर्ने नाममा स्थानीय सरकार गठन हुनु पूर्व यो बसपार्कको जग्गा अतिक्रमित भएको स्थानीयहरु बताउँछन् । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ वडा नम्बर –६ मा करिब १७ कठ्ठा जग्गा बसपार्कका लागि रहेको बताउँछन् ।

‘यो जग्गा अहिलेको होइन, म बिगतमा जनप्रतिनिधि रहँदा नै हामीले जोगाएर राखेको हौं’– उनले भने – ‘बेलाबेलामा जमिन सम्याउने, पुर्ने लगायतका काममा केही खर्च पनि भएको छ । तर सबै संरचना बनाउन भने सकिएको छैन ।’ ‘बजेट कम छ , सबैतिर बजेट छुट्याउनु पर्ने छ तर केही काम थालौं भनेर यो वर्ष २८ लाख रुपैयाँ छुट्याएका छौं’– अध्यक्ष श्रेष्ठले भने – ‘यसले केही काम हुने विश्वास दिलाउँछु ।’ ठूलो बसपार्कका लागि कम्तीमा तीन बिगाह जग्गा चाहिन्छ र त्यसपछि मात्र आयोजनामार्फत् रकम खर्च हुने भएकाले तत्काल सो परिमाणको जग्गा व्यवस्थापन नहुने भएपछि गाउँपालिकाले साविकको बसपार्क बनाउने प्रकृया अघि बढाएको हो –अध्यक्ष श्रेष्ठले भने ।

अहिले दुवैतर्फ जमिन रहेको ठाउँ गौरीगञ्जको मुख्य बजार क्षेत्र भएको र बजार क्षेत्रमा ठूलो बसपार्क बनाउँदा प्रदुषण, कोलाहल बढ्ने र शहरीकरण झनै अस्तव्यस्त हुने भएकाले दीर्घकालीन रुपमा बसपार्कका लागि अन्यत्रै जग्गा खोजी गरिने उनले बताए ।

गौरीगञ्ज गाउँपालिकाको आर्थिक वर्ष २०७६ ÷०७७ मा गाउँपालिकास्तरीय बजेटमा २० लाख र वडास्तरीय बजेटमा ८ लाख रुपैयाँ छुट्याउनुले बसपार्क सञ्चालनमा केही आशा जगाएको वडा नं. –६ का वडा सदस्य उदिमकुमार राईले बताए । उनले भने –‘यसलाई संरक्षण गर्नुको साथसाथै सञ्चालनमा ल्याउनु नै ऐतिहासिक कार्यको थालनी ठहरिने छ । त्यसैले जसरी भएपनि यसलाई बनाउनु पर्छ ।’

गौरीगञ्ज गाउँपालिका वार्ड नं. ३ मा पनि ८ वर्षअघि बसपार्क निर्माणको प्रकृया थालिएको थियो । त्यहाँ पनि समस्या उस्तै छ । अस्थायी बसपार्क बनाएर ‘बस स्टेण्ड’को रुपमा भने उपयोग गर्न थालिएको छ । तर यहाँ बसपार्कका लागि चाहिने पूर्वाधारहरु भने निर्माण हुन सकेका छैनन् । यहाँ पनि बाटो छेउमा पार्किङ गरी यात्रुलाई बोक्दै आइएको छ । वडा नम्बर –३ मा मुख्यचोक नजिकै ८ कठ्ठा १० धुर जग्गामा बसपार्क निर्माण आठ वर्षअघि नै शुरु गरिए पनि पूरा हुन नसकेर अहिले बसपार्क निर्माणस्थल अतिक्रमणमा परेको छ ।

उक्त जग्गामै स्थानीयका केही घर टहराहरु रहेका छन् । गौरीगञ्ज गाउँपालिकाका वटा नं. –३ का अध्यक्ष मखना महतोले ती घर टहराहरु हटाउन प्रक्रियाअघि बढिसकेको बताए । अतिक्रमित क्षेत्र खाली नगराई निर्माण प्रकृया थाल्न व्यवहारिक नहुने भएकाले पहिले जग्गा खाली गराउने त्यसपछि निर्माण कार्य थालिने उनको भनाइ छ । गौरीगञ्ज बजार व्यवस्थापनका लागि भनेर ३० लाख रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष महतोले जानकारी दिए । उक्त रकम बजार व्यवस्थापन, साना पूर्वाधार निर्माण लगायतका कार्यमा खर्चिने योजना छ ।

बसपार्क नहँदा पैदलयात्रीका साथै सवारीका साधनहरु गुड्ने सडकमा नै बस, ट्रक, अटो रिक्सा, सिटी सफारी र मारुती भ्यानलगायतका सवारीसाधनहरु जथाभावी पार्किङ गर्दा आवतजावतमा समस्या हुनुका साथै सवारी दुर्घटना हुन सक्ने प्रवल सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here