जंकफुड र लागूऔषधको लतमा फस्दै विद्यार्थी

0
830

दमक।

झापाको दमक नगरपालिकाले विद्यालयमा जंकफुडको प्रयोगलाई निरुत्साहित गर्नका लागि ‘घरमा जे पकाइन्छ स्कूलमा त्यहि खाइन्छ’ भन्ने अभियान चलाउने भएको छ ।

बालबालिकाहरुलाई घरबाट नै खाजा पठाउन प्रोत्साहित गर्नका लागि सचेतना अभियानसहित विद्यालय पोषणयुक्त र हाइजेनिक खाजा कार्यक्रम सञ्चालन गरिन लागेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आधारभूत तहमा अध्ययनरत् बिद्यार्थीहरुलाई घरबाट नै खाजा लैजानका लागि ‘टिपिन बक्स’ उपलब्ध गराउने नगरपालिकाकाको शिक्षा प्रमुख एवम् नगरपालिकाका उपप्रमुख गीता अधिकारीले बताइन् । ‘यो प्रभावकारी हुन्छ भन्ने लागेर नयाँ कार्यक्रम ल्याइएको हो’ –उनले भनिन् । ‘अभिभावकले नै विद्यार्थीहरुलाई जंकफुडको लतमा फसाइरहेको पाएका छांै र यस विषयमा अभिभावकलाई नै सचेतना आवश्यक ठानेका छौं’ –अधिकारी भन्छिन् ।

अभिभावकलाई जंकफुडले पर्ने असरको बारेमा शिक्षा प्रदान गरेर टिपिनबक्स उपलब्ध गराउने तयारी भइरहेको पनि अधिकारीले बताइन् । सामुदायिक विद्यालयमा राम्रो अवस्थाका र गुणस्तरीय खाजा पकाउने किसिमका क्यान्टिन समेत नहुँदा विद्यार्थीहरुले बाहिर गएर जे पनि खाने भएकाले यसलाई निरुत्साहित गर्नु जरुरी देखिएको उनले बताइन् ।

दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेका अनुसार यो नयाँ कार्यक्रम भएकाले नमूनाको रुपमा शुरुवातमा केही विद्यालयमा सञ्चालन गरिने र प्रभावकारिताका आधारमा यसलाई थप गरिँदै लैजाने सोच रहेको छ । ‘क्यान्टिन नभएका र अति विपन्नहरुलाई प्राथमिकतामा राखेर वितरण गर्नेछौं’ – उनले भने । अन्य सामाजिक संघ–संस्थाहरुसँग मिलेर पनि यो कार्यक्रमलाई प्रभावकारी बनाउने सोच रहेको उनको भनाइ छ ।

विद्यार्थीहरु लागूऔषधमा

यसैबीच दमकमा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले चुरोट, खैनी, गुटखा लगायत लागूऔषधको रुपमा प्रयोग हुने औषधिको प्रयोग गरिरहेको सूचना पाएको नगरपालिका उपप्रमुख अधिकारीले बताइन् ।

‘६० प्रतिशत बालबालिकाहरु कुनै न कुनै कुलतमा फसेको भन्ने सूचना पाएका छांै र यसलाई हामी पनि अनुगमन गरिरहेका छौं’ –अधिकारीले भनिन् । विद्यालय परिसरका पसल, होटल र कतिपय अवस्थामा क्यान्टिनमा समेत चुरोट, खैनी, गुटखा बेच्ने गरेको बारम्बार गुनासो आएकाले यसलाई रोक्नका लागि प्रशासनको सहयोग माग्ने अधिकारीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here