पार्थ मण्डल / भद्रपुर,
सम्पत्तिको नाममा एक जोर हल गोरु रहेका बिर्तामोड नगरपालिका –३ स्थित बिर्ताबजार बस्ने ५० वर्षीया मीनादेवी महतो अत्यधिक पेट दुखेपछि उपचार गराउन बिर्तामोडकै एक निजी क्लिनिक पुगिन् ।
क्लिनिकमा चिकित्सकको सल्लाह बमोजिम मीनादेवीले पेटको भिडियो एक्स–रे गरिन् । तर, भिडियो एक्स–रे रिपोर्टमा केही देखिएन । रिपोर्टमा केही नदेखिएपछि उनले केही दिन औषधि खाइन् ।
औषधि खाँदा पनि मीनादेवीको पेट दुखाइ कम भएन । आर्थिक अभावका कारण श्रीमान् नकुल महतोले श्रीमती मीनादेवीलाई लिएर थप उपचार गराउन सरकारी अस्पताल लगे । सरकारी अस्पतालका चिकित्सकले क्लिनिकले दिएको भिडियो रिपोर्ट हेरे । रिपोर्टमा केही नदेखिएको र पेट दुखाइ कम्ती नभएपछि मीनादेवीलाई सिटी स्क्यान गराउन निजी अस्पताल जान सल्लाह दिए । सोही सल्लाह बमोजिम श्रीमती मीनादेवीलाई लिएर उनका श्रीमान् नकुल भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटल पुगे ।
ओमसाईका सर्जन डा. शशी सिंहले मीनादेवीको पुरानो रिपोर्ट हेर्दै सिटी स्क्यान भन्दा एकपटक पुनः भिडियो एक्स–रे गराउन सल्लाह दिए ।
सिटी स्क्यानमा खर्च बढी लाग्ने भएकोले उनीहरूले पनि सर्जन डा. सिंहकै सल्लाह अनुसार भिडियो एक्स–रे गराए । अचम्म त के भयो भने ओम साईमा गराएको भिडियो एक्स–रेमा एपेन्डिक्स देखियो । शरीरमा आन्द्राको भागको दुखाइ र सुन्याई नै एपेन्डिक्स भएको सर्जन डा. सिंहले बिरामीका आफन्तलाई जानकारी गराए । शल्यक्रियामार्फत एपेन्डिक्स फ्याँक्नु पर्ने हुन्छ र यसको उपचारमा ५० हजारसम्म खर्च लाग्छ –अस्पतालले बिरामीका परिवारजनलाई भन्यो । त्यत्रो रकम आफूसँग नभएपछि बिरामीका श्रीमान् नकुलले अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम) लाई भेटेर आफ्नो आर्थिक अवस्थाको बारेमा सुनाए ।
नकुलको समस्या सुनेर निर्देशक पोखरेलले उपचारमा संलग्न डाक्टरसँग सल्लाह गरे । डाक्टरसँग गरेको सल्लाह पश्चात् पोखरेलले एपेन्डिक्सको शल्यक्रिया र बेड चार्ज निःशुल्क गरिदिने, औषधि, अक्सिजन, चेकचाँजको रकम चाहिँ जुटाउन बिरामीका श्रीमान् नकुललाई आग्रह गरे । नकुलले आग्रह अनुसार रकम जुटाउन थाले ।
अस्पतालका सर्जन डा. सिंहको टिमले उनकी श्रीमतीको एपेन्डिक्सको शल्यक्रिया सफलतापूर्वक गरिदिए । ‘एपेन्डिक्स लागेको व्यक्तिलाई समयमा उपचार गराउन नसकिए ज्यान जान सक्छ, त्यसैले मीनादेवीको उपचार हामीले चाँडै गरा¥यांै –डा. सिंहले भने–एपेन्डिक्सलाई शल्यक्रिया– गरी बाहिर निकाल्ने बित्तिकै फुट्यो, अरू केही दिन ढिलाइ भएको भए एपेन्डिक्स फुटेर उनको ज्यान जान सक्थ्यो ।’ हामीले पैसाको मुख हेरेनौं, एक महिलाको ज्यान बचायौं –उनले भने । निजी अस्पतालमा पैसा बिना उपचार हुँदैन भन्ने जनमानसमा भ्रम छ, तर अस्पतालका निर्देशक पोरखेलको आग्रहमा उपचारमा संलग्न टिमले एक रुपैयाँ नलिएर ती महिलाको ज्यान बचायो– उनले थपे ।
‘सम्पत्तिको नाममा एक जोर हल गोरु छ, त्यसैलाई बेचेर श्रीमतीको उपचार गराउँछु भनेर बिरामीका श्रीमान् नकुलले मलाई सुनाए –अस्पताल निर्देशक पोखरेलले भने । ‘नकुलको कुरा सुनेर मन छोयो, र अस्पतालले निःशुल्क शल्यक्रिया गरी उपचार गरायो – उनले भने । उनका अनुसार निजी अस्पतालको ध्येय पैसा कमाउने मात्र नभएर मानव धर्म पनि निर्वाह गर्नु पर्ने दायित्व हुनुपर्छ, त्यही धर्म र दायित्वमा सम्झेर एक परिवारलाई निःशुल्क उपचार गराइएको हो ।
यता अस्पतालले शल्यक्रिया र बेड चार्ज निःशुल्क गरी श्रीमतीको सफल उपचार गराई दिएकोमा बिरामीका श्रीमान् नकुलले अस्पताललाई विशेष धन्यवाद दिएका छन् । ‘अरूको खेतबारीमा काम गरी परिवार पाल्ने हामीसँग एक जोर हल गोरु मात्र छ, त्यसलाई बेचेर श्रीमतीको उपचार गराउन खोजेको थिएँ – उनले भने– ‘हाम्रो पीडा सुनेर अस्पतालले निःशुल्क उपचार गराई दियो ।’






























