साहित्य सन्ध्या सम्मान भण्डारीलाई

२५ श्रावण २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड।

नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी सहित पाँच जनालाई साहित्य सन्ध्या सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ ।

कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक समेत रहेका भण्डारी ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान २०७५’ बाट यस वर्ष पुरस्कृत हुने भएका हुन् । झापामा रहेर नेपाली साहित्यको सेवा गर्दै आएका भण्डारीलाई सो सम्मान प्रदान गर्ने निर्णय भएको जनाइएको छ । उक्त पुरस्कार तथा सम्मानको राशि १५ हजार रहेको छ ।

त्यसैगरी, यस वर्षको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’बाट वैचारिक नेतृत्वकर्ता एवम् शिक्षासेवी, फुटुङ मावि काठमाडौंका प्रधानाध्यापक विष्णुप्रसाद पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशि १० हजार रहेको छ ।

यस वर्षको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’बाट दाङमा रहेर मातृशिशु स्वास्थ्यका क्षेत्रमा विशिष्ट योगदान दिने वसन्ता शर्मा आचार्यलाई सम्मानित गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशि १० हजार रहेको छ ।

त्यस्तै, साहित्य सन्ध्याले वर्षभरिमा हरेक महिनाको पहिलो शनिबार सम्पन्न गरेका विशेष गोष्ठीमध्ये दशवटामा सहभागी हुने स्रष्टालाई सम्मानपत्रसहित पाँच हजार राशिको पुरस्कार दिने गरेको छ । त्यस अनुसार यस वर्ष लाजिम्पाट, काठमाडौंका मुकुन्द न्यौपानेलाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्ने निर्णय भएको छ ।

त्यसैगरी, यस वर्षको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मान’बाट साहित्यकार, नियात्राकार अच्युत घिमिरेलाई सम्मानित गर्ने निर्णय भएको बताइएको छ । उक्त पुरस्कार तथा सम्मानको राशि १० हजार रुपैयाँ रहेको छ ।

सबै पुरस्कार भदौ ७ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रवचन कक्षमा वरिष्ठ साहित्यकार एवम् संस्कृतिविद् डा. मोदनाथ प्रश्रितको प्रमुख आतिथ्य र प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको विशिष्ट आतिथ्यमा आयोजना हुने विशेष समारोहमा अर्पण गरिने साहित्य सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिए । साहित्य सन्ध्याले विगत ३३ वर्षदेखि नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्दै आएका विशिष्ट साधकलाई पुरस्कार तथा सम्मान गर्दै आएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here