गुरुयोजनाका लागि सुझाव संकलन

२५ श्रावण २०७६, शनिबार मा प्रकाशित

टंक विकल्प / बुधवारे।

नमूना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७५ अनुसार झापामा नमूना विद्यालयका लागि छनोट भएको बुद्धशान्ति गाउँपालिका अन्तर्गतको बुद्ध आदर्श मावि बुधबारेका लागि गुरुयोजना निर्माणार्थ सुझाव सङ्कलन कार्य सम्पन्न भएको छ ।

रामजानकी मन्दिर बुधबारेको सभाहलमा बुद्धशान्ति गाउँपालिका स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ, पूर्व प्रधानाध्यापक तथा पूर्व शिक्षकहरू, छिमेकी विद्यालयका अध्यक्ष तथा प्रअ, शैक्षिक तथा सामाजिक संघसंस्था, शिक्षासेवी, बुद्धिजीवी, समाज सेवी, राजनीतिक दल प्रतिनिधि एवम् अभिभावकहरूको एक भेलाले गुरुयोजना बारे सुझाव संकलन कार्य सम्पन्न गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षता र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक मुनाराज सेर्माले गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रधानाध्यापक कृष्णराज भण्डारीले प्रकाश पारेका थिए ।

कार्यक्रममा पूर्व शिक्षक बेनुप्रसाद पनेरूले नमूना विद्यालय अवलोकनका अनुभव, पूर्व प्रअ गणेश निरौलाले विद्यालयले लेखन गर्दै रहेको स्मारिकाको विषयमा, आदर्श युवा क्लबका अध्यक्ष मनेष दाहालले खेलकुद र बुद्ध शान्ति रङ्गशालाको निर्माण विषयमा, भीम निरौलाले अक्षयकोष विनियम निर्माण विषयमा आफ्ना धारणाहरू राखेका थिए ।

कार्यक्रममा छिमेकी विद्यालयहरू त्रिभुवन माविका अध्यक्ष खड्ग तिम्सिना, राष्ट्रिय विजय माविका अध्यक्ष कर्ण अर्याल, बर्ने माविका अध्यक्ष रुद्र भण्डारी, शान्ति आदर्श माविका अध्यक्ष शिवकुमार पौड्याल , नमूना आधारभूत विद्यालयका अध्यक्ष आस्मितकला लिम्बू, शिशु सुधार आधारभूत विद्यालयका अध्यक्ष नेत्रप्रसाद रिजाल, राजनीतिक दलका प्रतिनिधिहरू नेकपाका अध्यक्ष टीकाप्रसाद पाठक, राप्रपा नेपालका अध्यक्ष नारायण न्यौपाने, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू पदम पोखरेल, हरिप्रसाद पौड्याल लगायतको विशेष आतिथ्यमा शिक्षक तथा शिक्षाप्रेमी सहभागीहरुले गुरुयोजनाका लागि लिखित तथा मौखिक सुझावहरू प्रस्तुत गरेका थिए ।

शिक्षक लक्ष्मीदेवी न्यौपाने, राजु पौड्याल र सुमित्रा बाँस्कोटाले सङ्कलन गरी अभिलेखन गरेका सहभागीका सुझावहरूका आधारमा नमूना विद्यालयलाई व्यवस्थित गर्दै सञ्चालन गर्ने प्रतिबद्धता अध्यक्ष तिवारीले व्यक्त गरेका थिए । कार्यक्रम शिक्षक माधव बरालले सञ्चालन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here