शैक्षिक कार्यमूलक अनुुसन्धान कागजमै सीमित

0
1458

पूर्णबहादुर कटुवाल,

एकजना विद्वान कार्ल ग्लिकम्यानले शैक्षिक कार्यमूलक अनुसन्धानलाई साथीहरुसँग मिलेर विद्यालयमा गरिने अनुसन्धान हो, जसबाट प्राप्त नतिजालाई सिकाइ क्रियाकलापमा सुधार ल्याउनमा प्रयोग गरिन्छ भनेर परिभाषित गरेका छन् । केही वर्ष अघिसम्म शिक्षा विभाग अन्तर्गतको शैक्षिक तालिम केन्द्र मार्फत सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरुका लागि आयोजना गरेको तालिममा समेत कार्यमूलक अनुसन्धान सम्बन्धी शिक्षकहरुलाई अनिवार्यरुपमा यस विषय सम्बन्धी टीपीडी तालिम दिइयो र पछि शिक्षकको वृत्ति विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यसम्पादन मूल्यांकन फाराममा समेत वर्षभरि कुनै पनि शिक्षकले शैक्षणिक क्रियाकलापलाई प्रभावकारी बनाउन उसले गरेको कार्यमूलक अनुसन्धानको प्रतिवेदन संलग्न गर्नुपर्ने व्यवस्था गरियो र यो व्यवस्था अहिले पनि कायम नै छ । यसरी अनुसन्धान गरी प्रस्तुत गरिएपछि सामुदायिक विद्यालयको स्थायी शिक्षकले बढुवाका लािग एक अंक प्राप्त गर्ने प्रावधान समेत रहेको छ ।

तर, व्यवहारिकरुपमा यस्ता अनुसन्धान औपचारिकता पूरा गर्ने साधनका रुपमा मात्र प्रयोग गरिएको पाइन्छ । उसले न त अनुसन्धान नै गरेको छ, न त अनुसन्धान गरिएको छ कि छैन भनेर मापन गर्ने कुनै भरपर्दो इकाइ नै छ । यो पद्धति कागजमै मात्र सीमित रहेको छ भन्दा फरक पर्दैन । विभन्न अध्ययन र प्रयोगले शैक्षिक कार्यमूलक अनुसन्धानले शैक्षणिक गतिविधि र सिकाइ क्रियाकलापमा सुधार ल्याउन सक्ने देखाएका छन् ।

अनुसन्धान अंग्रेजी शब्द च्भकभबचअज को नेपाली अनुवाद हो । च्भकभबचअज शब्द च्भ +कभबचअज बाट बनेको हो । च्भ को अर्थ पटक–पटक भन्ने हुन्छ भने क्भबचअज को अर्थ पत्ता लगाउनु भन्ने हुन्छ । तसर्थ अनुसन्धानको वास्तविक अर्थ कुनै कुरा कुरोको वास्तविकता पत्ता लगाउन लगातार गरिने अध्ययन नै हो । यस अध्ययनलाई शिक्षण सिकाईसँग जोड्न शैक्षिक कार्यमूलक अनुसन्धान गर्न शुरु गरिएको हो भन्दा अत्युक्ति हुँदैन । यसले कुनै समस्या वा विषयका बारेका वैज्ञानिक पद्धति अपनाई पटक–पटक खोज अध्ययन गरी सत्य पत्ता लगाइन्छ । त्यसैले अनुसन्धान नयाँ–नयाँ सत्य तथ्य प्राप्तिका लागि गरिने व्यवस्थित र वैज्ञानिक पद्धतिसँग सम्बन्ध रहेको विषयवस्तु हो । कार्यगत अनुसन्धान शिक्षक, सुपरिवेक्षक, विद्यालयका प्रशासकहरुले उनीहरुकै कक्षा वा विद्यालयमा देखिएका समस्यामा आधारित भइए कक्षाकोठाको शिक्षण सिकाइ सुधार गर्न सञ्चालन गरिने विशेष प्रकारको प्रायोगिक अनुसन्धान भएकोले शिक्षा क्षेत्रमा यसलाई सामान्य कार्य मान्न सकिँदैन ।

एकजना कुशल अध्ययनकर्ताले गरेको अनुसन्धानले वास्तविक समस्याको पहिचान गरी निराकरणको उपाय समेत पत्ता लगाउने हुनाले यसलाई शैक्षिक क्षेत्रमा सर्वमान्य सेतुको रुपमा समेत लिइएको छ । शिक्षण कार्यमा संलग्न व्यक्तिद्वारा सञ्चालन गरिने, कार्यमा देखिएका समस्यामा केन्द्रित हुने र अनुसन्धानबाट प्राप्त नतिजालाई कार्यान्वयनमा ल्याउने प्रक्रियाका रुपमा लिइने भएकोले पनि यसको महत्व अझ बढेको हो । यसमा सम्बन्धित कार्यमा संलग्न व्यक्तिको सहभागिता अनिवार्य शर्त हो भने एकभन्दा बढी व्यक्तिहरुको सहयोगात्मक कार्य बढी प्रभावकारी मानिन्छ । कार्यमूलक अनुसन्धान समस्या केन्द्रीत हने भए पनि भएको उद्देश्य सुझाव दिनु मात्र नभई समस्या समाधानका वैकल्पिक समाधान निकाल्नु र तत्काल सुधार गर्न त्यसको प्रयोग गर्नु हो । समस्या समाधानका उपायहरु देखाउनु मात्र कार्यमूलक अनुसन्धानको लक्ष्य होइन, प्राप्त नतिजाहरुको प्रयोग गरि वैकल्पिक समाधान निकालेर सुधार गर्न सहयोग पुर्याउनु हो ।

समस्या पत्ता लगाएर समाधानका लागि सुझाव दिएर सम्पन्न हुनेखालको अनुसन्धान होइन बरु यसले कार्य क्षेत्रमा सुधार गर्ने तरिका सिकाउँछ साथै यो कुनै एउटा प्रश्नको उत्तर प्राप्त गर्न सूचनाहरु संकलन गर्ने प्रक्रिया मात्र पनि होइन, यो कार्यमा अभ्यासरत व्यक्तिको सीप, दक्षता र रणनीति सुधार्ने प्रक्रियासँग सम्बन्धित छ । यसले शिक्षण सिकाई क्रियाकलापलाई सुधार गर्ने, आफ्नो समस्याको बारेमा आफैं अध्ययन गर्ने वैज्ञानिक प्रकृतिको विकास गर्ने, शिक्षकको पेशागत क्षमतामा उत्कृष्टता ल्याउने, विद्यालयको कार्यसम्पादन स्तरमा गुणस्तरीयता र प्रभावकारिता ल्याउने जस्ता कार्यमा मद्दत पुर्याउँछ । साथै कार्यमूलक अनुसन्धान नियमित रुपमा सञ्चालन गर्दा कार्यक्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न नयाँ ज्ञान, सीप र पद्धतिको विकास गर्न र आफूले भोगेका वा अनुभव गरेका समस्या पहिचान गरी तीनको निराकरणका उपाय लागू गर्न सहयोग पुग्दछ ।

कार्यमूलक अनुसन्धानमा कार्यरत व्यक्तिले कुनै सिद्धान्त प्रतिपादन गर्दैछु भन्ने सोच्ने कुरा होइन यसले समस्या समाधानउन्मुख व्यवहारमुखी उत्प्रेरणा अभिवृद्धि गर्न मद्दत पुर्याउँछ । खासगरी अनुसन्धान कार्यले सहभागीलाई तत्कालीन समस्या पहिचान गरी त्यसको समाधानका उपाय पत्ता लगाई प्राप्त नतिजालाई कक्षा कोठामा उपयोग गर्न सहयोग पुर्याउने हुनाले आधुनिक शिक्षण सिकाई क्रियाकलापमा उपयोगी सिद्ध समेत भएको छ । समस्याको खोजी, योजना, कार्य र प्रत्यावर्तन कार्यमूलक अनुसन्धानका मौलिक विशेषता भएकोले पनि यसलाई प्रायोगिक रुपमा सञ्चालन गर्न सकिए शैक्षिक गुणस्तर अभिवृद्धिमा निश्चितरुपमा सहयोग पुग्न सक्छ ।

कार्यमूलक अनुसन्धानलाई कठिन यात्रा र भारीको रुपमा लिने प्रवृत्ति सम्बन्धित पक्षमा रहेको पाइन्छ । यसो हुनुको वास्तविकता अध्ययन र अनुसन्धानको विषय नै हुन सक्छ । शैक्षिक अनुसन्धान पद्धतिलाई शिक्षणमा सहज रुपमा लिने र प्रयोग गर्ने बानीकोरुपममा विकास गर्न यसको औचित्यलाई राम्ररी बुझ्न बुझाउन र प्रयोगकर्ताको जिम्मेवारीको रुपमा लिन सक्नुपर्छ । यसले पाठ्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन गर्न र आफ्नो विकास गर्न आफैै तत्पर रहनुपर्छ भन्ने बानीको विकास गर्न सक्नुपर्छ । पेशागत दक्षताको अभिवृद्धिका लािग निरन्तर सिकाइ गर्न र प्रभावकारी व्यवस्थापन एवम् शिक्षण सिकाइ क्रियाकलापको नमूना प्रयोगमा ल्याउन यसले निकै ठूूलो सहयोग गर्छ ।

शिक्षा क्षेत्रमा विभिन्न तहमा धेरै समस्या विद्यमान छन् । गुणात्मक शैक्षिक सेवा प्रदान गर्न, ज्ञानको विस्तार गर्न र प्रवद्र्धनात्मक कार्य गर्न अनुसन्धानले सहयोग पुर्याउँछ । शैक्षिक क्षेत्रमा खासगरी एउटा कुशल शिक्षकको जीवनमा पठनपाठन क्रियकलापमा सुधार ल्याउन, नयाँ नयाँ प्रकृतिको प्रविधिको विकास र प्रयोग गर्दै बालबालिकाको चौतर्फी विकासका लागि यस्ता अनुसन्धान बढी क्रियात्मक हुने देखिन्छ । कक्षाकोठाका समस्या, विद्यालयको समस्या, विद्यार्थीको सिक्ने क्षमता र तरिका, उमेरगत शिक्षणशैलीको तरिका जस्ता कुरामा समेत यसले मद्यत पुर्याउँछ । कक्षामा देखिएका सिकाइ समस्या समाधान गर्न, तिनको कारण पत्ता लगाई शिक्षकद्वारा गरिने अनुसन्धान नै कार्यगत अनुसन्धान भएकोले आफ्नो विषयसँग सम्बन्धित विभिन्न प्रकारका शिक्षण सिकाइसँग सम्बन्धित समस्याका कारण पत्ता लगाई तिनको निराकरण गर्न एउटा सफल शिक्षकको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

अनुसन्धान बिना शिक्षण सफल हुँदैन । यो शिक्षणमा अनिवार्य शर्त हो । विद्यालयका शिक्षकबाट कार्यमूलक अनुसन्धान भई त्यसलाई तुरन्त कार्यान्वयन गर्ने हो भने तत्कालीन र दीर्घ समस्या समाधान गर्नमा मद्दत पुग्न सक्छ । कक्षाकोठाको शिक्षण सिकाइ प्रक्रियालाई उद्देश्यमूलक, व्यवहारिक र विद्यार्थीकेन्द्रीत बनाउन शिक्षकबाट हुने कार्यमूलक अनुसन्धानका उपलब्धिलाई कक्षाकोठामा प्रयोग गरिनुपर्छ । यसो भए मात्र शिक्षण सफल बन्न सक्छ । कार्यमूलक अनुसन्धानलाई अर्को पाटो र विद्यमान शैक्षिक गतिविधिको आधारबाट हेर्दा त्यति सहजरुपममा पनि लिन सकिने अवस्था छैन । यसमा धेरै व्यवहारिक अन्यौल र समस्याहरु पनि रहेका छन् । कार्यमूलक अनुसन्धान भनेकै के हो ? यो कसरी प्रयोगमा ल्याउने भन्ने विषयमा शिक्षकलाई सामान्य तालिम दिइए पनि सबै किसिमका शिक्षकसम्म पुग्न सकेको छैन ।

यसको वास्तविक ज्ञान, सीप र व्यवहारमा लागू हुनेगरी शिक्षकसम्म पुग्न नसक्नु पनि मूल समस्याका रुपमा रहेको यथार्थ छ । यसलाई विद्यालय र शिक्षकसम्म पुर्याउने वातावरण बनाउन सम्बन्धित पक्षले सोच्न सक्नुपर्छ । औपचारिकता मात्र सोच्ने प्रवृत्तिले न त शिक्षकको शिक्षणशैलीमा नै परिवर्तन आउन सक्यो न त शैक्षिक गुणस्तर अभिवृद्धिमा नयाँपन आउन सक्यो । झन् अहिलेको शैक्षिक क्षेत्रको असरल्ल परिवेशलाई हेर्ने हो भने त शिक्षा क्षेत्रमा छिटै नयाँपन आउने कुनै संकेत देखिँदैन । राज्यले यस विषयमा गम्भीर नहुने हो भने शैक्षिक अन्यौल, विकृति र विसंगति अझै बढेर जाँदैनन् भन्न सकिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here