बच्चालाई जंकफुड : गलत आशिष

२७ श्रावण २०७६, सोमबार मा प्रकाशित

तीर्थराज खरेल,

जनस्वास्थ्य र मातृ तथा शिशुको स्वास्थ्य सम्बन्धी विषयमा निरन्तर खोज, अनुसन्धान गर्दै विभिन्न सञ्चार माध्यममार्फत आफ्ना विचार सम्प्रेषण गर्दै आएकी डा. अरुणा उप्रेती आफ्ना नानीबाबुलाई जंकफुडबाट टाढा राख्न सबै अभिभावकलाई सल्लाह दिन्छिन् । उनको विचारमा बाबुआमा, समाज र नाफा कमाउने होडमा जनस्वास्थ्यलाई ख्याल नगर्ने द्रव्यपिचाशी मानसिकताका कारण बालबच्चाहरु जंकफुडको डरलाग्दो दलदलमा फँसिरहेका छन् । किशोर तथा युवा (टिनएजर्स)लाई सोध्नै पर्दैन, के खान मनपर्छ भनेर । किनभने उनीहरुको रेडिमेड जवाफ हुन्छ, ‘पिज्जा, बर्गर ।’

उनीहरुको दैनिक खान्कीमा दालभात होइन, मःमः, चाउमिन लगायत फास्टफुड हुन्छ । त्यसबाहेक कुरकुरे, लेज, आलुचिप्स, कोल्ड डिूंकमा उनीहरुको जिब्रो लोभिएको छ । त्यही कारण त टिनएजर्स आफ्नो भान्साभन्दा बढी रेष्टुरेन्ट चाहरिरहेका हुन्छन् । जंकफुड भन्नाले आम रुपमा विश्वमै चिप्स, मिठाइ जस्ता अल्पाहारलाई बुझिन्छ । बर्गर, पिज्जा जस्ता फास्टफुडलाई पनि जंकफुडकै रुपमा मानिन्छ । उच्च वर्गका लागि जंकफुडको सूची लामो हुन सक्छ भने मध्यम वर्गका लागि यही कुरा भिन्न हुन सक्छ ।

गएको दुई दशकमा नेपालमा जंकफुडका कारण रोगीहरुको संख्या बढ्दै गएको पाइएको छ । जंकफुड खाँदा त मीठै लाग्छ, तर यसले शरीरलाई अपेक्षित फाइदा पु¥याउँदैन । यस्ता खाद्यपदार्थको सेवनपछि शरीरमा तुरुन्त बोसो जम्मा हुन्छ । यस्तो बोसो शरीरको कम्मर, नितम्ब र खुट्टामा जम्मा हुन्छ । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले यो दाबी नयाँ अनुसन्धानपछि गरेका हुन् । त्यसमा बताइए अनुसार, जंकफुड सेवनको केही घन्टापछि शरीरमा बोसो एकत्रित हुन थाल्छ, जुन निरन्तर बढ्दै जान्छ । खाना खाएपछि बोसो रगतको माध्यमले शरीरभरि फैलिन थाल्छ । यसको उपयोग मांसपेसीले आवश्यकता अनुसार गर्छ । तर, बाँकी रहेको चिल्लो बोसोयुक्त तन्तुको रूपमा कम्मर, नितम्ब र खुट्टामा जम्मा हुन्छ ।

अनुसन्धान अन्तर्गत यो प्रयोग केही व्यक्तिमा गरिएको थियो । उनीहरूलाई बोसोले भरिपूर्ण खाद्यपदार्थ खान दिइयो । खाएको एक घन्टाभित्र त्यस्तो बोसो सम्पूर्ण शरीरमा रगतमा स–साना थोपाको रूपमा उपस्थित भएको पाइयो । अनि पछि शरीरका अन्य भागमा एकत्रित भएको देखियो । फास्टफुड र जंकफुडमा बालबच्चा मात्र होइन युवा वर्ग पनि सामेल भइरहेका छन् र जंकफुडले अत्यधिक रुपमा समस्या बढ्दै गएकाले पोषण विशेषज्ञ र चिकित्सकहरु जंकफुडको उपयोग घटाउन र सन्तुलित आहार बढाउन आवश्यक रहेकोमा जोड दिइरहेका छन् । जंकफुडले खाद्यान्न तथा खाद्यपदार्थमा परनिर्भरता बढाउँछ । विज्ञापनले यसलाई बढाउने काम गरिरहेको छ । सजिलो र आफ्नो सहजताका लागि बच्चालाई जंकफुड दिनु भनेको उनीहरुलाई कमजोर बनाउनु हो । हामी जसरी आफ्ना बालबच्चालाई धूमपान गर्न, रक्सी सेवन गर्न, गाँजाभाङ सेवन गर्न अभिप्रेरित गर्न सक्दैनौं, त्यसरी नै जंकफुडबाट बचाउन पनि त्यतिकै मेहनत गर्नुपर्छ ।

घरमा बनाइएका ताजा खाना र खाजालाई नमिठो मान्ने, त्यस्तो खाना खाँदा अरु साथीको सामु अपमान महशुस गर्ने बालबालिकाका लागि जंकफुडमुक्त वातावरण निर्माण गर्न कार्ययोजनासहित अभिभावक र विद्यालय परिवार समर्पणभावका साथ लागीपर्ने हो भने जंकफुडको महामारीलाई रोक्न सम्भव छ । नर्सरीदेखि कक्षा १२ सम्म निरन्तर १४÷१५ वर्षसम्म हामीले नानीहरुलाई शिक्षा दिने नाममा विद्यालयमा पठाएर खाजाका रुपमा प्याकिङ खाना र स्वास्थ्यलाई असर पु¥याउने खाजा खुवाउने काम गर्ने हो भने राम्रो शिक्षा दिनुको के अर्थ हुन्छ, जबकि उनीहरुको स्वास्थ्य चाहिँ बिग्रिसकेको हुन्छ । स्वास्थ्य बिग्रिसकेको बच्चाले के गर्न सक्छन् ? जंकफुडमा उच्च प्रोटिन तथा कार्बोहाइड्रेडको मात्रा हुने गर्छ । विविध प्रकारका शरीरलाई हानी पु¥याउने वस्तुको समेत प्रयोग गरिएका जंकफुडहरु बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । प्लाष्टिकमा प्याकिङ गरिएका खानामा हाम्रा नानीहरु आश्रित हुँदै गएको आजको वास्तविकता हो र घरमै बनाएका ताजा खानेकुरालाई नानीहरुले खाजा भनेर स्वीकार नगर्ने परिस्थिति हामीकहाँ विकास हुँदै गएको छ ।

यथार्थ के हो भने चिनी र सोडाको मात्रा बढी भएका बजारिया खानाहरु बालमैत्री छैनन् । यिनीहरुले अल्कोहल र धुम्रपानले जस्तै असर पु¥याउने चिकित्सकहरुको भनाइ छ । पचास प्रतिशतभन्दा बढी हाम्रा पसलहरु जंकफुडले भरिएका छन् र लाग्छ हामी जंकफुडको भयावह चक्रव्यूहबाट कहिल्यै मुक्त हुन सक्दैनौं । द्रुतवेगमा बढ्दै गएको जंकफुडको प्रयोगबाट पोषणविज्ञ र शिक्षाविद् पनि चिन्तित बन्दै गएको आजको स्थिति हो । बढी क्यालोरीयुक्त तर असन्तुलित खानाले स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँछ भन्ने बुझाउन ज्यादै कठिन छ किनभने सारा सञ्चारमाध्यमहरु तिनै जंकफुडको प्रचारमा छन् र हामी सबैको दिमाग भुटिएको छ । जंकफुडबाट सबैभन्दा पीडित भएको देश अमेरिका हो । आधुनिक जीवनशैली र व्यस्तताले अमेरिकीहरु तयारी खाना प्रयोग गर्न बाध्य छन् । मोटोपनबाट पीडित हुनेहरुको संख्या पनि अमेरिकामा बढिरहेको छ । अहिले अमेरिकी मात्र होइन युरापेली तथा चिनियाँहरु समेत स्वस्थ खानपिन र बानीव्यहोरामा परिवर्तन गर्न र तौल घटाउन के–के गर्न सकिन्छ भनेर चिन्तनशील छन् । तर, हामी नेपालीहरुको दिमाग यसरी भुटिएको छ कि विज्ञापन र बजारको भाषा मात्र हामीलाई सत्य लाग्छ ।

अमेरिकीहरु जंकफुडबाट मुक्तिको उपाय खोजिरहेछन् भने हामी नेपालीहरु जंकफुड प्रयोग गर्नुलाई सभ्यताको सूचक सम्झिरहेछौं । हामीसामु यस्तो माहौल खडा भएको छ कि अस्वस्थ खाना किन्न र खान हामी उत्प्रेरित भइरहेछौं । बिस्कुट बनाउने बेकरी, मिठाइ बनाउने कन्फेक्सनरी तथा कोल्डड्रिंक्स बनाउने बिभिरेज कम्पनीहरु नाफाको ध्याउन्नमा छन् । पोषणतत्व कम हुनु वा असन्तुलित हुनुसँग उत्पादनकर्तालाई कुनै सरोकार छैन । फलफूल खानु र सागसब्जीको बढी प्रयोग गर्नु अब त बिरानो लाग्न थालेको छ । स्वस्थ खाना जंकफुडभन्दा पनि सस्तो हुनसक्छ भन्ने मान्यता र सोच हामीमा छैन । बालबालिकाहरुका लागि शिक्षा पाउनु जसरी महत्वपूर्ण हामी ठान्छौं, भयरहित वातावरणमा बस्न पाउनुपर्ने उनीहरुको अधिकारको कुरा जसरी हामी ठान्छौं, त्यसरी नै हामीले उनीहरुले स्वस्थ खाना खान पाउनुपर्छ भन्ने कुरालाई उनीहरुको अधिकारको रुपमा बुझेर सोही अनुरुप हामीले स्वस्थ खाना दिलाउने वातावरण तयार पार्न पनि आवश्यक छ । मोटोपनका कारणमध्ये जंकफुडको प्रयोग महत्वपूर्ण कारण हो । चिप्स, क्यान्डी र नुडल्सहरु किनेर खान जति सजिला छन्, तिनीहरु स्वास्थ्यका लागि त्यत्ति नै हानिकारक पनि छन् ।

जंकफुडलाई प्रश्रय दिने विज्ञापनको उत्पादन, प्रकाशन र प्रशारणलाई रोक नलगाउने हो भने यसको प्रयोगको गतिलाई रोक्न मुश्किल छ । घरमा तयार गरिएका खानाहरु जंकफुडका तुलनामा ज्यादै स्वस्थ हुन्छन् भन्ने मान्यतालाई पुनः स्थापित गर्न आवश्यक छ । हरेक गाउँ र बस्ती, विद्यालय र महाविद्यालयका चमेनागृहहरु जंकफुडका चाङले भरिएका छन् । विद्यालयको निश्चित क्षेत्रभित्र यस प्रकारका प्याकेजिङ गरिएका खाना बिक्रीबितरणमा प्रतिबन्ध लगाउने हो भने र विद्यालयका चमेनागृह बालमैत्री बनाउने हो भने बालबालिकाको स्वास्थ्यमा सुधार हुन्छ । परिणामस्वरुप गुणात्मक शिक्षा दिने नारा पूरा गर्न सहयोग पनि पु¥याउँछ ।

बाल्यावस्थादेखि नै शुरु भएको जंकफुडको बानीले १४ वर्षसम्मको विद्यालयीय जीवनमा र त्यसपछि पनि निरन्तरता पाउने हो भने जीवनमा यो कुराले धेरै ठूलो जटिलता ल्याउने निश्चित छ । यो कमजोरी जंकफुड बेच्नेको कमजोरी होइन, खाने बच्चाको कमजोरी होइन, विद्यालयका प्रधानाध्यापक र शिक्षकको पनि कमजोरी होइन, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरु र सांसदको पनि कमजोरी होइन, अभिभावकहरु यस सम्बन्धमा अनविज्ञ छन् । जिम्मेवारी कसको हो ? यो सम्पूर्ण सभ्यतालाई सक्ने मन्द रुपमा नानीहरुको जीवन सम्पूर्णरुपमा ध्वंश गर्ने जंकफुडको प्रयोगमा कमी कसले ल्याउने ? घरायशी खानाप्रति नाक खुम्च्याउने र स्वादबिनाको खाना सम्झिने हाम्रा नानीहरुको बानी कसरी बदल्ने ? नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा विभागले जंकफुड विद्यालय परिसरमा नबेच्न मातहतका निकायहरुलाई दुई वर्षअघि नै निर्देशन गरे पनि कसैले त्यसको चर्चासम्म पनि गरेन । सरकारी विद्यालयका शिक्षक र प्रशासकहरु सरकारी तलबको आशामा छन्, उनीहरुको ध्यान त्यसैमा छ ।

शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिहरु आफ्नो शान र मानका खातिर त्यहाँ गएका हुन् र धेरैजसोको त राजनीतिबाट अभिप्रेरित भएर आफ्नो दलको राजनीतिलाई स्थापित गर्ने ध्याउन्न हुन्छन् । निजी विद्यालयका सञ्चालकहरु नाफाका पछि छन् । उनीहरुलाई पैसासँग मतलब छ, बच्चाको स्वास्थ्यसँग होइन । हामी अभिभावकहरु पनि बच्चाबच्चीको मागलाई प्रमुख मान्छौं र उनीहरुको स्वास्थ्य हाम्रो लागि दोस्रो महत्वको हुन्छ, कतिपय अवस्थामा यी सबै कुरा चेतनाको कमजोरीका कारणले भइरहेका छन् । उच्च प्रशोधित खाना हेर्नमा र खानमा आकर्षण रहे पनि साँचो अर्थमा तिनीहरु स्वास्थ्यमैत्री छैनन् भन्ने कुरा बुझाउने कसरी ? जंकफुडको माखेसांग्लोबाट फुत्किन अत्यन्तै कठिन छ, तर असम्भव छैन । यो साझा चुनौति हो यो र यसको समाधान पनि सामुहिक प्रयत्नबाट मात्र सम्भव छ । व्यवहारिक सल्लाहसुझावबाट यसको न्यूनीकरणको प्रक्रिया शुरु हुन्छ । यसको हल दीर्घकालीन अभियानबाट मात्र सम्भव छ ।

यो समस्या एकदुई वर्षमा शुरु भएको होइन र यसको समाधान पनि धेरै लामो समय लगाएर हुन्छ । तसर्थ, यो अभियान चुनौतिपूर्ण छ । स्वस्थ खाना, स्वस्थ सन्तति, उज्ज्वल भविष्यको मूलमन्त्रलाई सबैले आत्मसात गर्न आवश्यक छ । जंकफुडका जंकीहरुलाई स्वस्थ खाना नै जीवन हो र धेरैजसो रोगको औषधि पनि स्वस्थ खाना नै हो भनी आधुनिक औषधिविज्ञानका जनक हिप्पोक्रेटसले भनेको कुराको शिक्षा दिन आवश्यक छ । जंकफुड सम्बन्धी कानूनको आवश्यकता छ हाम्रो देशमा र दोस्रो महत्वपूर्ण घरको रुपमा रहेको विद्यालय नै यस्तो ठाउँ हो, जहाँबाट यसको दीर्घकालीन समाधानका लागि काम गर्न सकिन्छ ।

अभिभावक, विद्यालय, सञ्चारमाध्यमहरु, महिला स्वास्थ्य स्वयम्सेविकाहरु, स्थानीय स्वास्थ्य कार्यकर्ताहरुले जंकफुडका बेफाइदा र साधारण स्वस्थ खानाको फाइदाको बारेमा नानीहरुलाई प्रष्ट पार्नुपर्छ । स्वस्थ खाना खाने बानीको विकास गर्न सबै पक्षको सकारात्मक सोच हुन जरुरी छ । कलिला नानीहरु र उदाउँदा युवाको स्वास्थ्य रक्षाका लागि सबै सजग बन्न आवश्यक छ । बच्चालाई जंकफुड दिनु भनेको स्वास्थ्य बिगार्न, शरीर कमजोर बनाउन, पूरा उमेर नबाँची अल्पायुमै मर्न र दुःख–मेहनतले कमाएको सम्पत्ति पनि अस्पताल र चिकित्सकलाई बुझाउन शुभाशिष दिएको ठहर्छ । अब जंकफुडमुक्त समाज निर्माण गर्न ढिला गर्न हुँदैन र यसका लागि मुख्यतः घरपरिवार, समाज र विद्यालय सजग, सतर्क र क्रियाशिल हुनुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here