भद्रपुर।
भद्रपुरस्थित मेची अञ्चल अस्पताल परिसर क्षेत्रबाट सवारीसाधनको चोरीका बढेसँगै स्थानीयले एक साइकल चोरलाई रंगेहात पक्राउ गरेका छन् । पक्राउ परेका साइकल चोर भारतीय नागरिक रहेको खुलेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरका अनुसार मङ्गलवार बिहान अस्पतालको गेट अगाडि पार्किङ गरी राखिएको साइकल चोरी गर्दागर्दै भारत पश्चिम बङ्गाल चुर्ली बस्ने अन्दाजी ३० वर्षीय प्रदीप सिंह (राय) लाई स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको वडाका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार अस्पतालकै गेटमा अधिकारी प्याथोलोजीका सञ्चालक प्रमोदकुमार साहको साइकल सिंहले चोरी गर्न खोजेका थिए । साइकल चोरी गर्दागर्दै स्थानीयले रंगेहात फेला पारेपछि उनलाई कुटपिट समेत गरेका थिए ।
सिंहलाई दुईवटा साइकलसहित आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा पठाइसकेको जनाइएको छ । स्थानीयका अनुसार अस्पताल परिसरभित्रबाटै सेवाग्राहीको साइकल तथा मोटरसाइकल चोरी हुने गरेको घटना रोकिएको छैन । हालसम्म अस्पतालबाट तीन वटा मोटरसाइकल र एक दर्जनभन्दा बढी साइकल चोरी भइसकेको स्थानीयको भनाई छ ।






























